विराटनगर । १ नम्बर प्रदेश सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको हो । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाकार धुव्र सुवेदीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना डेक्स स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयहरूमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना ‘फोकल पर्सन’ को रूपमा तोकी प्रत्येक दिन सूचना डेक्समा कोरोनासम्बन्धी सूचनाहरू उपलब्ध गराउने छन् ।