पथरीशनिश्चरे । कोरोना भाइरसको त्रासको मौका छोपेर मोरङको पथरी शनिश्चरे–१ पथरी बजारको यक्ष खरिद बिक्री केन्द्रले खाद्यवस्तुमा कालोबजारी गरेको पाइएको छ । सो पसल शिलबन्दी गरिएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको अनुगमन समितिको अगुवाइमा पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार गरेको छड्के अनुगमन गर्दा कालोबजारी गरेको पाइएको हो ।

दिलिप जैनले सञ्चालन गरेको सो पसलमा चैत २ गते ५० किलोग्राम मन्सुली चामल १ हजार ९ सयमा बिक्री गरेकोमा मंगलबार २ हजार ४ सयमा विक्री गरेको पाइएको नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाले बताइन् ।

साथै त्यहाँबाट गाईवस्तुलाई खुवाउने चोकरको मूल्य २ हजारदेखि २ हजार १ सयसम्म पर्नेमा २ हजार ४ सय रुपैयाँ प्रति बोरा बिक्री गरी कालोबजारी गरेको पाइएको बास्तोलाले बताइन् । कालोबजारी गरिएको सो पसललाई तत्काल शिलबन्दी गरिएको छ ।

बजारमा कालाबजारी र कृत्रिम अभाव रोक्नका लागि यो बेला अझ सचेतता अपनाउँदै बेला बेला छड्के अनुगमन गरिने जनाइन् । नगरपालिका कार्यालयको अगुवाइमा यसअघि स्वास्थ्य संस्था तथा औषधि पसलहरुको पनि अनुगमन गरिएको थियो ।