पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमित भेटिएका छन् । यही प्रदेश १ र २ सँग जोडिएको विहारको राजधनी पटनामा समेत एक जनाको ज्यान गइसकेको छ । विहारमै कोरोनाबाट मृत्यु भएको सामाचार बाहिरिँदा नेपालतर्फ त्रास नबढ्ने कुरै भएन । आइतबार पटनामा एक जनाको ज्यान गएको खबरसँगै नेपालमा उच्च सतर्कता भन्दा पनि बढी त्रास चाहिँ बढेको छ । भारतका विभिन्न प्रान्तमा यो कोरोना फैलिरहँदा दुई देशका नाका अझै खुला राखिएका छन् । पूर्व काँकरभिट्टादेखि पश्चिम कैलालीसम्म हिसाब गर्ने हो भने दैनिक एक लाख मानिस निर्वाध रूपमा भारतबाट नेपाल भित्रिरहेका छन् । दैनिक लाखौं मानिसको निष्फिक्री ओहोरदोहोरले नेपाली नागरिक कोरोना भाइरसबाट सुरक्षित मान्न सकिदैंन ।

काँकरभिट्टा नाकाबाट दैनिक ६ देखि १३ हजार मासिन हुल बाँधेर भारतबाट भित्रिरहेका छन् । सङ्क्रमित परीक्षण गर्ने तीन जना स्वास्थ्यकर्मी खटाइएको छ । त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । विराटनगरको जोगमनी नाकाको पनि हालत उस्तै छ । २५ जनाभन्दा बढी भीड नलाग्न आह्वान गरेको सरकारको निर्णय सरकारका अधिकारीहरूले नै व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । यस्तो अवस्थामा निर्वाध रूपमा सङ्क्रमित नेपाल भित्रने कुरालाई राज्यले नजरअन्दाज नगर्नु विडम्बना हो । यसलाई सरकारले समयमा प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन सकेन भने चीन र इटालीको भन्दा बढी नेपालले क्षति व्यहोर्नु पर्नेछ ।

सरकारले कोरोना भाइरस नेपाल आउन दिन गरेको तयारी सकरात्मक कुरा हो । सबै संयन्त्र प्रयोग गरेर सरकारले गरेको तयारीसँगै दक्षिणतिरका नाकाबाट आवतजावत बन्द गर्न सरकारले ढिलाइ गर्नु हँुदैन । भारतलाई नेपालबाट असुरक्षा छैन । त्यस्तै भुटानबाट पनि असुरक्षा छैन । त्यही भएर नेपाल र भुटानको सीमा नाका भारतले खुल्ला गरेको छ । आइतबारसम्म ६ जना भारतीयको ज्यान गुमाइसकेको भारतले अन्य देशसँगको सीमा नाका भने एक साता अघि नै सिल गरिसकेको छ । यस कारण नेपालमा कोरोना भित्रिँदा भारतबाट नै भित्रिने प्रबल सम्भावना छ । विहार आइसकेको कोराना नेपालको तराई प्रवेश टाढा छैन । नेपालमा आउन नदिन तत्काल नेपालले दक्षिण नाका सिल गर्नुपर्छ । एक महिना नागरिकलाई जो जहाँ छन् त्यही होम क्यारेन्टाइनमा बस्ने वातावरण तयार गर्नुपर्दछ ।विदेशबाट आउने नागरिकलाई तत्काल नेपाल प्रवेश गर्न नदिने हो भने नेपाल सुरक्षित रहेनेछ ।विदेशमा भएका नेपाली नागरिकलाई जो जहाँ छन् त्यहीँ सुरक्षित हुन आह्वान गर्दै भारत हँुदै नेपाल प्रवेश गर्ने मार्ग बन्द गर्न ढिलाइ नगरौं ।