लक्ष्मीमार्ग/ कोरोनाको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिइरहेको हुनाले नेपालमा पनि सङ्क्रमण फैलिए उपचारमा सहज होस् भनी मोरङको सुन्दरहरैंचाको गोठगाउँमा आइसोलेसन वार्ड तयार गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा १८ बेडको आइसोलेसन वार्ड तयार भएको हो । सो आइसोलेसन वार्डमा ४५ जना जनशक्ति परिचालन हुने अस्पतालका निर्देशक डा विपेश आचार्यले बताए ।

अस्पतालले निर्माण गरेको नवनिर्मित ओपिडी भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न लागिएको हो । सो भवनमा एक जना बिरामीका लागि एउटामात्रै कोठा प्रयोग हुने गरी आइसोलेसन वार्ड बनाउन लागिएको डा. आचार्यले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शैलेषमणि पोखरेलले अस्पतालमा आउने बिरामीको यात्राको अवस्थाको बारेमा जानकारी लिएर आइसोलेसनमा राखिने बताए । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसपाद ढकालले भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति थप्न नगरपालिकाले सहयोग गर्ने बताए ।

‘भौतिक संरचना निर्माण, आवश्यक उपकरण खरीद तथा जनशक्तिको परिचालनमा नगरले सक्दो सहयोग गर्नेछ,’ मेयर ढकालले भने, ‘नगरपालिका र विश्वविद्यालयको आपसी समन्वयमा आइसोलेसन सेवा सञ्चालन हुनेछ ।’