विराटनगर/ विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अनिवार्य प्रयोग गरिने सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर सर्जिकल सामान तथा औषधिको थोक बिक्रेताले कालोबजारी गर्ने गरेको पाइएको छ ।

विराटनगर–९ सिद्धार्थ चौकमा सर्जिकल र औषधिको थोक बिक्रेता रहेका राजेशकुमार अग्रवालले सञ्चालनमा ल्याएको ‘श्री सर्जी इम्पेक्सले’ अनुचित लाभ लिने उद्देश्यले कालोबजारी गर्ने गरेको पाइएको हो । विराटनगरस्थित श्री हस्पिटलका सञ्चालकसमेत रहेका अग्रवालले सञ्चालन गरेको इम्पेक्सबाट आइतबार गरिएको अनुगमनको क्रममा कालोबजारी गर्न गोदाममा लुकाएर राखिएको ठूलो परिमाणमा मास्क र सेनिटाइजर बरामद भएको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली, औषधि व्यवस्थापन विभाग विराटनगर, वाणिज्य कार्यालय र मोरङ प्रहरीले संयुक्तरूपमा गरेको अनुगमनको क्रममा श्री सर्जी इम्पेक्सबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । ‘अहिले करोेना भाइसको सङ्क्रमणले गर्दा यसबाट बच्न मास्कको अभाव देखिएको छ ।

सर्जिकलको थोक बिक्रेताले स्टक गरी मास्क लुकाएको जानकारी आएपछि हामीले अनुगमन गरेका हौं’ उनले भने, ‘कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा मास्क र सेनिटाइजर बरामद भएको छ ।’ उनका अनुसार कोरोना भाइरस सङ्क्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तुसरह लिइएको छ ।

तर, कतिपय औषधि बिक्रेताहरूले भने प्रकोपको बेला कालोबजारी गर्दै आएको जानकारी आएपछि अनुगमन गरिएको उनले बताए । कालोबजारी गर्ने सञ्चालक अग्रवाललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रूपैयाँ जरिबाना र आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए ।

‘प्रकोपको बेला सर्जिकल मास्कको कालोबजारी गरी अनुचित लाभ लिने मनसाय देखिएको पाइयो’ वाणिज्य कार्यालयका प्रमुख बरालले भने, ‘कालोबजारी गर्ने सर्जी इम्पेक्सलाई ऐनमा भएको व्यवस्थाअनुरूप हदैसम्मको वित्तीय कारबाही गरिएको हो ।’ उनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार अनुचित क्रियाकलाप गरेको हँुदा दफा ४९ को १ (ख) बमोजिम हदैसम्मको कारबाही गरिएको बताए ।

‘हाम्रो तर्फबाट वित्तीय जरिबाना भएको छ’ उनले भने, ‘यसमा अरू ऐन पनि आकर्षित हुने भएकोले थप अनुसन्धान गरी कारबाहीको प्रक्रियाअगाडि बढाउन मोरङ प्रहरीमा पठाएका छौं ।’ आइतबार श्री सर्जी इम्पेक्ससहित औषधिको थोक बिक्रेता विराटनगरको ग्रीनक्रस हस्पिटलपछाडि रहेको ड्रग इम्पोरियममा पनि अनुगमन गरेको थियो । उक्त इम्पोरियममा अनुगमन टोलीले केही भेटेको थिएन ।

max