धरान / कोरोना भाइरस कोभिड–१९) परीक्षण र पहिचान गर्न विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भाइरल सेफ्टी क्याविन जडान भएको छ । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा आइतबार क्याविन जडान गरिएको हो ।
अति तिव्ररुपमा संक्रमण हुने कोरोना परीक्षण गर्न सरकारले भाइरल सेफ्टी क्याविन उपलव्ध गराएपछि अव शुक्रराज सुरुवा रोग केन्द्र टेकुमा स्वाव पठाइरहन नपर्ने भएको छ । प्रतिष्ठानबाट टेकुमा पठाउदा जोखिम संगै समय पनि लाग्ने भएको थियो ।
प्रतिष्ठानका अस्पताल निर्देशक तथा कोरोना भाइरस ¥यापिड रेम्पोन्स कमिटिका संयोजक प्रा डा गौरीशंकर साहले भने, ‘कोरोना परीक्षण गर्न हामी पुर्णरुपमा सक्षम र तयार छौं । अव सरकारले परीक्षणकालागि चाहिने अत्याबस्यक सामाग्री (रिएजेन्ट, किट, रसायन, भाइरल ट्रान्सपोर्ट मेडियम व्यक्तिगत सुरक्षा सामाग्री (पिपिपि) तत्काल उपलव्ध गराए तत्कालै कोरोना परीक्षण गर्न सक्छौं ।’
अति जोखिमपुर्ण भाइरस परिक्षणकालागि प्रतिष्ठानसंग एउटामात्र भाइरल सेफ्टी क्याविन रहेको थियो । प्रतिष्ठानसंग भौतिक पुर्वाधार र दक्ष जनशक्ति भएकाले थप नया भाइरल सेफ्टी क्याविन जडान भएसंगै पुर्वका सर्वसाधारणको रिपोर्ट तत्कालै पाउन सकिने भएको छ । कुनै पनि बेला नेपालमा पनि कोरोनाको संक्रमण फैलन सक्ने भएकाले जोखीम सामना गर्न प्रतिष्ठानले भेन्टिलेटसहितको २० आइसियु वेड पनि थप्ने भएको छ । अस्पताल निर्देशक डा साहले आइसियु वेड दुइसाता भित्र जडान गर्ने बताए । प्रतिष्ठानको पेइङ वार्डमा १० बेडको आइसोलेशन वार्ड मात्र रहेको छ । उनले उक्त वार्डमा पनि थप दुइ वेडको आइसियु पनि राख्ने तयारी भएको छ ।
कोरोना संक्रमण फैलनबाट रोक्न प्रतिष्ठानले आइतबार सुचना जारी गर्दै तत्काल उपचार नगर्दा थप जोखिम नहुने विस्तारित स्वास्थ्य सेवालाई आगामी दुइसातासम्मकालागि स्थगन गरेको जनाएको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सरकराले गरेको निर्णय अनुसार प्रतिष्ठानले केही सेवाहरु दुइसाता सम्मकालागि स्थगित गरेको निर्देशक साहले बताए । उनले भने, ‘अस्पतालमा दैनिक भिडभाड हुन्छ । तत्काल उपचार नगरेपनि हुने सामान्य विरामीहरु पनि आउछन् । यस्तो अवस्थामा कोरोना संक्रमण नहोस भनेर दुइसातालाई सवै प्रकारका उपचार सेवा र पेइङसहितका इन्स्टीच्युसनल प्राक्टिस, स्वास्थ्य विमा, भारतीय भूपु सैनिकलाई दिइने सेवा स्थगित गरिएको छ ।’ प्रतिष्ठानले आवश्यक जानकारी लिनकालागि हेल्पलाइन मोबाइल मार्फत चिकित्सकले सर्वसाधारलाई कोरोना र अन्य स्वास्थ्य समस्याबारे जानकारी दिने व्यबस्था गरेको छ ।