भद्रपुर । झापा कारागार प्रशासनले आइतबारबाट कारागार ‘लक डाउन’ गरेको छ । कोरोना सङ्क्रमित रोक्न उच्च सतर्कता अपनाएर यो व्यवस्था गरेको हो । कारागारभित्र रहेका कैदबन्दीलाई भेटघाट गर्न नपाइने भएको छ । उनीहरुलाइ चाहिने कुनै पनि वस्तु क्वारेन्टाइनमा नराखी प्रवेश गर्न दिएको छैन । कैदीका आफन्तले ल्याएको नगद पैसासमेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नुपर्ने व्यवस्था मिलाइएको छ ।

क्वारेन्टाइनमा पाँच दिनसम्म राखेपछि मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए । आफन्त र बाहिरबाट आएको कुनै पनि खानेकुरा, आवश्यक सामग्री कारागारभित्र लान नदिएको उनको भनाइ छ । कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको उनले जनाए । उच्च ज्वरो र रुघाखोकी लाग्ने कैदीलाई उपचारका लागि अस्पताल पठाइने उनको भनाइ छ ।

सामान्य विरामीलाइ कारागार भित्र नै उपचारको व्यवस्था मिलाइएको उनले बताए । आइतबारबाट कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरिएको उनले जानकारी दिए । पत्र–पत्रिका समेत पाँच दिन क्वारेनटाइनमा राख्ने व्यवस्था रहेको उनको भनाइ छ ।

बन्दीलाई भेट्न जाने आफन्त र वकिललाई कारागारको गेटमै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्न दिइरहेको भएपनि आइतबारबाट भेटघाट बन्द गरिएको कारागारका प्रहरी प्रमुख उदय शमशेर रानाले जानकारी दिए । कुनै पनि सामान बोकेर भित्र लान नदिइरहेकोे उनको भनाइ छ । खाद्यन्य ,दुध जस्ता वस्तु क्वारेनटाइनमा राख्नु पर्यो भने भित्र हाहाकार हुने भएकोले कसरी व्यवस्था मिलाउन भन्ने बारे अन्यौलता भइरहेको उनको भनाइ छ ।

कारागारमा हाल ७५ जना महिला, पाँच जना आश्रित र १ हजार ७३ जना पुरुष गरी ११ सय ५३ जना कैदी रहेको जनाइएको छ ।