मोरङ,झापा,भण्टाबारी/ भारतसँग जोडिएका झापा, मोरङ र सुनसरीका नाकाहरूमध्ये कतिपय महŒवपूर्ण नाकामा हेल्थ डेस्क छैन भने कतिपयमा काम चलाउ हेल्थ डेस्कमात्र रहेका छन् । ती हेल्थ डेस्कमा भएका जनशक्तिले भारतबाट भित्रिएका नेपाली र भारतीय नागरिकलाई भ्याएसम्म थर्मल गनले ज्वरो नाप्ने कामबाहेक अरू पहिचान गर्न सकेका छैनन् ।

कतिपय अवस्थामा कोरोना भाइरस सङ्क्रमण हुनासाथ ज्वरो, रुघाखोकी नआउने भएकाले नाममात्रको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरिए पनि पहिचान गर्न नसक्ने अवस्था देखिएको छ । भारतको विहार प्रान्तमा समेत कोरोनाको सङ्क्रमण बढ्दो देखिएको छ ।

मोरङसँग जोडिएका सीमा नाकामध्ये आधा दर्जन बढी नाकाहरूमा अझै हेल्थ डेस्क नराखेको पाइएको छ । सुनवर्षी नगरपालिका–८ सिक्टी, ढोरियालगायतको भारतसँग सीमा छोडिएको छोटी नाकामा हेल्थ डेस्क नराख्दा सयौंको सङ्ख्यामा मानिस निष्फिक्री ओहोर–दोहार गर्दै आएका हुन् ।

पश्चिम नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । पारिपट्टि सङ्क्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । सुनवर्षी नगरपालिका– ८ का स्थानीयले भारतसँग सीमा जोडिएको सिक्टी नाकामा हेल्थ डेस्क राख्न स्थानीय सरकारलाई माग राख्दा पनि अहिलेसम्म कुनै चासो नदेखाएको बताए ।

सुनवर्षी नगरपालिका–८ का वडा सदस्य कन्हा मियाँकाअनुसार सिक्टी नाकाबाट दैनिक ७ सयदेखि ८ सयको सङ्ख्यामा नेपाली र भारतीय नागरिक आहोर–दोहोर गर्ने गरेको बताए । सिक्टी नाका हुँदै दैनिक सयौँ नेपाली भारतको बजारमा किनमेल गर्न पुग्छन् । उनीहरू जाँदा भारततर्फ हेल्थ डेस्कमा चेकजाँच हुन्छ तर फर्किने बेला नेपालतर्फ जाँच नभएको वडासदस्य मियाँले बताए ।

सुनवर्षीसँगै सीमा जोडिएको रङ्गेली नगरपालिकाले भारतसँग सीमा जोडिएका तीनवटा नाकामा हेल्थ डेस्क राखेको बताएको छ । रङ्गेली नगरपालिकाको आँपगाछी, चोपरालगायतको सानो नाकामा हेल्थ डेस्क राखेर भारतबाट आउनेको स्वास्थ्य जाँच गर्दै आएको १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाको सिनियर अहेव एपोलोकुमार भगतले जानकारी दिए ।

मोरङको भारतसँग सीमा जोडिएको ८ वटा सीमा नाकामध्ये अहिले पाँचवटा हेल्थ डेस्क राखी स्वास्थ्य जाँच गर्दै आएको उनले बताए । बाँकी रहेको सीमा नाकामा पनि स्थानीय पालिकासँग समन्वय गरी हेल्थ डेस्क राख्ने तयारी गरिएको उनले बताए । भगतका अनुसार प्रदेश १ को ३७ वटा सीमा नाकामा हेल्थ डेस्क सञ्चालकमा आएको जानकारी दिए । गत फागुन २७ गतेदेखि सीमा नाकामा हेल्थ डेस्क राखी स्वास्थ्य जाँच गरिएको बताए ।

शुक्रबार साँझसम्म १ लाख ५ हजारको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । ‘सबैभन्दा बढी काँकडभिट्टा र विराटनगर नाकाबाट ओहोर–दोहोर गर्ने मानिसको स्वास्थ्य परीक्षण बढी गरिएको छ’ उनले भने, ‘राखिएको हेल्थ डेस्कमा २ सिफ्ट गरी स्वास्थ्य जाँच हुने गरेको छ ।’ बिहान ६ देखि १२ बजे र १२ देखि साँझ ६ बजेसम्म गरी दुईवटा टोली बनाएर हेल्थ डेस्कमा स्वास्थ्य जाँच हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सीमा नाकामा हेल्थ डेस्क राखिए पनि भरपर्दो भने देखिएको छैन । दक्षिणी भेगका विभिन्न नाकामा राखिएका डेस्कका कर्मचारीले सामान्य ग्लोब्स र मास्क लगाएर भारतबाट प्रवेश गर्नेलाई थर्मल स्क्यानरले ज्वरो जाँच गर्दै आएका छन् । ‘ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर पर्याप्त नहुँदा थप स्थानमा हेल्थ डेस्क विस्तार गर्न सकिएको छैन’ मन्त्रालयको स्वास्थ्य महाशाखाका सिनियर अहेव भगतले भने, ‘सङ्घीय सरकारसँग स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सामग्री माग गरिएको छ ।’

इन्फ्रारेड थर्मामिटरसहित अन्य आवश्यक सामग्री आएपछि थप हेल्थ डेस्क विस्तार गरेर स्वास्थ्य जाँच हुने उनले जनाए । मोरङको सीमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा कोरोना भाइरसको आशङ्का भएका व्यक्तिलाई विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिन्छ । यहाँ ३ वटा कोठामा ६ शøयाको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको छ ।

काँकडभिट्टामा थर्मल गन अभाव
नोभल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न सरकारले कडा निर्देशन जारी गरेपनि झापाको सीमा नाकाहरूमा कोरोनाविरुद्ध त्यस्तो सजगता अपनाएको देखिएको छैन । नेपाल प्रवेश गर्ने पूर्वको मुख्य नाका झापाको काँकडभिट्टामा मन लागेको बेलामा मात्र चेकजाँच गरेको पाइएको छ । पैदल यात्रुलाई हात धुन लगाएर थर्मल गन (तापक्रम नाप्ने यन्त्र)मा पठाइए पनि सवारी साधनमा आउने यात्रुलाई बेला बखतमा तापक्रम मात्र नाप्ने गरेको पाइएको छ । चार स्थानमा चेकजाँच भए पनि दुई सेट मात्र सुरक्षित पोसाक लगाएको देखियो । शुरुमा विभिन्न सङ्घ–संस्थाका कयौं स्वयम्सेवक देखिए पनि हाल उनीहरूको चहल–पहल घट्दै गएको सुरक्षाकर्मीको भनाइ छ ।

भारतबाट आउने पैदलयात्री, सवारी साधन प्रयोग गरेर आउने र मालवाहक ट्रकका चालकलाई चेकजाँच गर्ने गरी तीन क्षेत्र छुट्याइएको छ । बिहीबारबाट भारततर्फ जाने नागरिकलाई पनि व्यक्तिगत विवरण भरेर जाने व्यवस्था मिलाइएको छ । भारत जानलाई विभिन्न तह पार गर्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण जानेको सङ्ख्या कम गर्नलाई यो व्यवस्था अपनाइएको स्वयम्सेवक कर्मचारीले बताए । चारवटा थर्मल गन सञ्चालनमा रहेपनि पर्याप्त नभएको व्यवसायी रविचन्द्र नेपालले बताए । अर्डर गर्दासमेत नआएको उनको भनाइ छ । भन्सारमा आउने मालवाहक ट्रकका चालकलाई स्वास्थ्य परीक्षण गरेर स्वास्थ्यकर्मीले प्रमाणित फारम दिएपछि मात्र भन्सारबाट सवारी पास हुने स्वास्थ्यकर्मी सविता सापकोटाले बताइन् ।

बिहान ६ बजेदेखि राति अबेरसम्म चेकजाँच गर्ने गरेको उनले जनाइन् । दिनभर आवत–जावत गरेपनि रातिको समयमा नाका बन्द गरेमा जोखिम न्यूनीकरण हुने उनको धारणा थियो । सो नाका भएर बिहीबार ८ हजार नेपाली र ५ हजार ८ सय २४ जना बाहिरी देशका नेपाल आएको हेल्थ डेस्कको रेकर्डमा उल्लेख छ । हाल स्पेन, लाइबेरियालगायतका देशहरूबाट मानिस नआएको डेस्कले जनाएको छ । नगरपालिका, जिल्ला प्रशासन र प्रदेश १ का कानून मन्त्री हिक्मत कार्कीसहितको टोलीले अनुगमन गरेको थियो ।

उता भारतको पानीट्याङ्की जाने मेची पुलको पूर्वपट्टि भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेको पाइएको छ । तापक्रम नाप्ने यन्त्र एउटा भए पनि कुनै व्यक्ति बिना परीक्षण भारत प्रवेश हुन पाएको देखिएनन् । सवारी साधनमा होस् या पैदल सबैलाई लाइनमा राखेर थर्मल गनले परीक्षण गरी औँलामा मसी लगाएपछि मात्र जानयोग्य हुने चेकजाँचमा खटिएका कर्मचारीले बताए । चेकजाँचमा कडाइ गरिएका कारण मेचीपुलको आधा भागसम्म मानिस र सवारी साधनको लाइन लागेको थियो ।

सुनसरी कोरोनाको उच्च जोखिममा
भारतीय भूमिसँग जोडिएका सुनसरीका सिमानामा हेल्थ डेस्क राखिए पनि भारतबाट नेपाल प्रवेश गर्ने सर्वसाधारण स्वास्थ्य परीक्षण नगरी सहजै भित्रिने गरेका छन् । डेस्कमा रहेका सीमित जनशक्तिले नभ्याएपछि अधिकांश व्यक्ति स्वास्थ्य परीक्षण नै नगरी नेपाल भित्रिने गरेका छन् ।

कोरोना भाइरस भारतबाट भित्रिन नदिन सीमावर्ती क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा ११ हजारबढीले स्वास्थ्य परीक्षण गराएका छन् । सीमा सुरक्षा बल सुनसरीको तथ्याङ्कअनुसार जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा १३ स्थानमा गरिएका हेल्थ डेस्कमा ११ हजार १ सय ४६ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् । स्थापना भएदेखि शनिबारसम्म सबैभन्दा बढी सुनसरीको भण्टाबारी नाकाबाट ३ हजार ५ सय ७० जनाले स्वास्थ्य परीक्षण गराएर नेपाल भित्रिएका छन् । यद्यपि भारतसँग खुला सीमा भएका कारण सबै स्थानमा हेल्थ डेस्क स्थापना गर्न नसकिएको हुँँदा धेरैजसो व्यक्ति स्वास्थ्य परीक्षण नै नगरी भित्रिँदै आएका छन् ।

कोरोना भाइरस सुनसरीको सीमा नाकाबाट भित्रिन नदिन भण्टाबारीसहित १३ स्थानमा उच्च निगरानी थालिएको बताइए पनि त्योअनुसार काम भएको पाइएको छैन । सुनसरी जिल्लासँग भारतको विहार प्रान्तको अररिया जिल्लासँग खुला सीमा नाका रहेका छन् । सीमा नाकाहरू भण्टाबारी, श्रीपुर, लौकही, लाही, घुस्की, अमडुवा, साहेवगञ्ज, कप्तानगञ्ज, वसन्तपुरसहित १२ स्थानबाट दुवै देशका नागरिक आवत–जावत गर्दै आएका छन् ।

सुनसरीको भण्टाबारी नाकामा कोशी गाउँपालिकाले यशोदा घिमिरे सहित दुईजनालाई खटाएको छ । नाममात्रको हेल्थ डेस्क राखिएकाले कुनै पनि बेला नेपालमा कोरोनाको महामारी फैलने त्रास बढेको छ । सरकारले भारतबाट कोरोना सङ्क्रमित व्यक्ति नेपाल प्रवेश गर्नबाट रोक्न अरू उपाय अवलम्बन नगर्दा कोरोनाको त्रास फैलिएको स्थानीय फिरोज आलमले बताए । उनले भने, ‘दुईजना स्वास्थ्यकर्मीको टोली मात्र डेस्कमा राखेर आवश्यक उपकरण अभावमा सीमामा सङ्क्रमित व्यक्ति पहिचान गर्न गाह्रो देखिएको छ ।’

भण्टाबारीका तजमुल मन्सुरीले नेपालमा कोरोना भाइरस भित्रिन नदिन सीमावर्ती क्षेत्रमा निगरानी बढाइरहेको व्यापक प्रचार गरिए पनि प्रचार गरेजस्तो व्यवहारमा नदेखिएको बताए । उनले भने, ‘चीन र अमेरिका जस्ता साधन स्रोत सम्पन्न ठूला देशमा कोरोना भाइरसका कारण सर्वसाधारण मर्ने क्रम रोकिएको छैन । हाम्रो जस्तो गरिब मुलुकमा सङ्क्रमण फैलियो भने अवस्था के होला ? अनुमान नै गर्न सकिन्न ।’