विराटनगर / विराटनगरस्थित रत्ना होटल सञ्चालनमा रहेको ‘सीएमजी क्यासिनो’ जुवाघर बन्द भएको छ । मोरङ प्रहरीले उक्त क्यासिनो शुक्रबार दिउँसो बन्द गराएको हो ।
क्यासिनोमा भारतीय खेलाडी मात्र आउने भएकाले कोरोनाको सङ्क्रमण उच्च हुने भन्दै मोरङ प्रहरीले होटल रत्नामा सञ्चालनमा आएको सीएमजी क्लब क्यासिनो बन्द गराएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । विराटनगरमा सञ्चालनमा आएको उक्त क्यासिनो एक मात्र वैधानिक क्यासिनो हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर ऋषिराज ढकालको नेतृत्वमा पुगेको प्रहरी टोलीले जूवा खेलिरहेका ग्राहकलाई निकालेर क्यासिनो बन्द गराएको थियो । क्यासिनोमा जूवा खेलिरहेका भारतीय नागरिकलाई बाहिर निकालेर सञ्चालकलाई ताल्चा लगाउन लगाएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीका अनुसार क्यासिनो र गीतगजल रेस्टुरेन्टहरूमा धेरैजसो भारतीय ग्राहक आएको पाइएको हुँदा बन्द गराउनु परेको बताए । कोरोना भाइरसको विश्वव्यापी प्रकोपलाई हेर्दै सरकारले गत बिहीबार राति अबेर विभिन्न १९ वटा निर्णयहरू गरेको थियो । उक्त निर्णयहरूमा धेरै जमघट हुने क्यासिनो, जिम क्बल, सिनेमा हल तथा महोत्सवमा सहभागी नहुन आममानिसहरूलाई आह्वान गरिएको थियो । होटल रत्नासित घर बहालमा लिएर काठमाडौंका नरेन्द्र शाहले २०६५ पुसदेखि क्यासिनो सञ्चालन गर्दै आएका छन् । होटल रत्ना २०७१ असोजमा नयाँ भवनमा सरेपछि पनि क्यासिनो निरन्तर चल्दै आएको छ ।
चौबीसै घण्टा चल्ने उक्त क्यासिनोमा प्रति दिन २ सय बढीले जूवा खेल्दै आएका थिए । यस क्यासिनोमा एक पटकमा ६० जना खेल्न सक्छन् । क्यासिनो बन्द गर्न आफैँले प्रहरीसमक्ष अनुरोध गरेको रत्ना होटलका सञ्चालक रेवतबहादुर थापाले बताए । विराटनगरमा सञ्चालिन एक दर्जन भन्दा बढी गीतगजल तथा रेस्टुरेटन्टहरू पनि शुक्रबार साँझदेखि बन्द भएका छन् । भारतीय ग्राहक आउने गीत गजल रेष्टुरेन्टहरू बन्द गराएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
विराट होटल व्यवसायी सङ्घका अध्यक्ष एवम् होटल मूनका सञ्चालक विजय प्रसाईंले विराटनगरका गीतगजल बन्द गर्नुपर्ने कुनै कारण नभएको बताए । सरकारले डान्स बार मात्र बन्द गर्ने भनेको भनिए पनि विराटनगरभरिमा डान्सबार नभएको उनको भनाइ छ । गीतगजल बन्द गर्नुको औचित्य नभएको उनले बताए ।