बिर्तामोड / प्रहरीले देशभरका १ सय बढी किराना व्यवसायीलाई ठगि गर्ने नक्कली आर्मीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ठगिमा सक्रिय मेचीनगर –१४ झापाका प्रदिप भन्ने राजकुमार राउतलाई प्रहरीले सार्वजनिक गरेको हो ।

राउतलाई प्रहरीले चैत ६ गते काँकरभिट्टाबाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए । विभिन्न स्थानमा रहेका किराना व्यवसायीलाई आफु आर्मी हुँ भन्दै छुटमा सामान ल्याइदिने आश्वासन दिलाएर लाखौं रुपैयाँ ठगि गर्दै आएको प्रहरीको भनाई छ । प्रहरी उपरीक्षक कोइरालाले भने, अहिलेसम्मको सूचनाका आधारमा लगभग ८० जनाबाट लाखौं ठगि गरिसकेको पाएका छौं ।’

माघ १० गते झापाको चारआलीस्थित सुम्निमा पारुहाङ किराना पसल पुगेका राउतले आफु चारआलीको आर्मी भएको बताउँदै छुटमा रासनका लागि आएको दाल, चिनी, तेल र मटर, नुन लगायतका किराना सामग्री ल्याइदिने भन्दै सञ्चालक डाकबहादुर राईसँग १ लाख २ हजार रुपैंयाँ लिएका थिए । ठगि गर्ने राउतले १ नम्बर गेटमा गाडि पठाइदिनु भनेपछि सञ्चालक राईले आफ्नो चालकलाई पठाउँदा फोन अफ् भएपछि चारआली प्रहरीमा उजुरी दिएका थिए ।

सो घटनापछि जिल्ला प्रहरीले राउतको खोजी शुरु गरेको थियो । यसरी ठगिने सबै किराना व्यवसायीलाई सोहि प्रकारका सामान छुटमा ल्याइदिने भन्दै पैसा उठाएको पीडितहरुले बताएका छन् । व्यवसायीको लोभका कारण राउतले निरन्तर ठगि गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ग्रामथान –५ तेतरिया मोरङका रोहन भेट्वाललाई पनि त्यसैगरी ठगि गरिएको छ । उनलाई शसस्त्र बाहिनी बेश क्याम्पका कार्यारत रहेको भन्दै १ लाख १० हजार लिएर गायव भएका थिए । ३५ बोरा चिनी, २ बोरा जिरा, २० काटुन तेल लगायतका सामान ल्याएदिने भन्दै पैसा लगेको भेट्वालले जानकारी दिए । नक्कली आर्मी राउतले धरानका ब्यापारी संजय अग्रवालसँग १ लाख ५९ हजार ५ सय ५० , धनकुटाका ग्याल्जेन शेर्पासँग १ लाख ४० हजार र इलामका रतन अग्रवालसँग २ लाख ८० हजार ठगि गरेको प्रहरीले जानकारी दिएको छ ।

सबै क्षेत्रमा कतै आर्मी, कतै शसस्त्र प्रहरी भन्दै ठगि गर्दै आएका राउतले व्यापारीको लोभ लालचमाथि फाइदा उठाएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ । ठगिएका अरु नागरिकलाई पनि सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । राउतले झापा, इलाम, धरान, मोरङ, धनकुटा, दैलेख लगायत देशैभरका किराना पसलमा ठगि गरेको पाइएको प्रहरी प्रमुख कृष्ण कोइरालाले बताए । उनले ठगिएका मानिसको संख्या अझ बढ्न सक्ने दावी पनि गरेका छन् ।