भद्रपुर / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको अनुगमन गरेका छन् उले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरुलाई निर्देशन दिए। मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गरे ।
दैनिक नौदेखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको बताइएको छ । त्यहाँ थप स्वास्थ्यकर्मी राख्न माग समेत गरिएकाे छ ।