बिर्तामोड/ कोरोना भाइरस नेपाल भित्रिन नदिन सरकारले खुल्ला गरेको नाकामध्ये झापाको काँकडभिट्टा नाकामा उच्च निगरानी बढाएको छ ।

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक तेस्रो मुलुकका नागरिक सबैभन्दा धेरै काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने गरेका छन् । सो नाकामा भारतीयसहित अन्य मुलुकबाट आवत–जावत गर्नेलाई पूर्ण जाँच गरेपछि मात्र प्रवेश दिन थालिएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि नेपाली नाकामा उच्च सतर्कता अपनाइएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख राजेन्द्र पोखरेलले आवत–जावतमा सावधानी अपनाएको बताए । नाकामा स्वास्थ्यकर्मीको टोलीले साबुन पानीले हात धुन लगाउने, इन्फ्रारेड थर्माेमिटरले ज्वरो नाप्ने तथा स्वस्थ भएको प्रमाणित भएपछि मात्र प्रवेश गर्न दिने गरिएको छ । तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकलाई दिँदै आएको अनअराइभल भिषासमेत बन्द गरिएको पोखरेलले बताए ।

प्रहरीले भारतबाट व्यक्तिगत रूपमा सामान ल्याउन पूर्ण रूपमा बन्देज लगाएको छ । तर, वैधानिक रूपमा सामान ल्याउनुपर्ने भए क्वारेन्टाइनमा चेकजाँच गराएर मात्र आयात गरिरहेको पोखरेलले जानकारी दिए । यसअघि झापाका हजारौं स्थानीयले दैनिक उपभोग्य सामान भारतको पानीट्याङ्कीबाट खरिद गर्दै आएका थिए । सीमामा प्रशासनको उच्च सतर्कतासँगै काडमाडौं–सिलिगुडी बससेवा समेत अनिश्चितकालका लागि बन्द भएको उनले बताए ।

अहिले मेची पुलबाट रिक्सा, टेम्पोलाई समेत यात्रु बोक्न निषेध गरिएको छ । हालसँम्म शङ्कास्पद दुई युक्रेनीसहित २० जनाभन्दा बढी विदेशी नागरिकलाई भारततिरै फर्काइएको छ भने बुधबार मात्र एकजना ज्वरो आएको नेपाली नागरिकलाई भारत जानबाट रोकिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताइन् । नेपालले यसरी कडाइ गरेसँगै भारतले पनि मुख्य नाकाबाहेकका स्थानमा पूरै सिल गरेको छ ।

अध्यागमन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख माधव पौडेलले चारदिनदेखि तेस्रो मुलुकबाट कुनै पनि पर्यटक नेपाल नआएको बताए । उनले भारतलगायत तेस्रो मुलुकमा अध्ययन गर्न गएका धेरै नेपाली विद्यार्थी फर्कन थालेको जानकारी दिए । बङ्गलादेशमा अध्ययनरत सुनसरीको इनरुवाका दीपक खेरवालका अनुसार बुधबार नै तीन सय बढी विद्यार्थी नेपाल फर्किएका छन् ।

भन्सार राजश्व बढ्यो
कोरोना सङ्क्रमणले मुलुक ‘लक डाउन’ हुने भयका कारण अत्यावश्यक वस्तुको सञ्चिती गर्ने क्रम बढेपछि भन्सार राजश्व पनि बढेको पाइएको छ । मेची भन्सार कार्यालय प्रमुख युवराज विश्वकर्माले चाइनिज सामानको आयात घटे पनि इन्धन आयात गर्ने क्रम बढेकाले भन्सार राजश्व बढेको बताए । माघ महिनामा ९४ करोड रुपैयाँ सङ्कलन भएको भन्सारमा फागुन महिनामा ९५ करोड पुगेको उनले बताए । फागुनमा १ अर्ब ५ करोड राजश्व सङ्कलन हुनुपर्ने लक्ष्य रहेकोमा त्यसको ९० प्रतिशत सङ्कलन भएको उनले बताए ।

इन्धन पर्याप्त छः निगम
नेपाल आयल निगमको चारआली डिपोले नियमितको २० प्रतिशत इन्धन थप आयात भइरहेको जनाएको छ । आयल निगम चारआलीका लेखा अधिकृत दिलिप चौधरीले अवस्था क्रिटिकल आउन सक्छ भनेर बढी इन्धन सञ्चित गरेको बताए । ‘अहिले दिनमा ४ वटा एलपिजी ग्याँसको बुलेट आउँछ’ चौधरीले भने, ‘एक बुलेट बराबर १ हजार २ सय ६० सिलिण्डर भरिन्छ, यो डिपोमार्फत् मासिकरूपमा १ लाख ३२ हजार ३ सय सिलिण्डर ग्याँस वितरण हुँदा पुग्ने गरेको थियो, मङ्गलबार १५ बुलेट आएको छ ।’ अघिल्लो वर्षको फागुन महिनामा ११ लाख ६० हजार लिटर पेट्रोलियम पदार्थ सो नाकाबाट भित्रिएको भन्दै उनले यो वर्षको फागुनमा १९ लाख लिटर इन्धन आयात भएको बताए । जुन गतवर्षभन्दा झण्डै दोब्बर परिमाण हो ।

मेची अस्पतालमा आइसोलेसन निर्माण
सङ्क्रमणलाई मध्यनजर गरी झापा भद्रपुरको मेची अस्पतालमा आइसोलेसन सहितको उपचार कक्ष निर्माण भएको छ । अस्पतालभित्र नै रहेको सर्जिकल वार्डलाई विशेष उपचार कक्षका रूपमा विकास गरिएको छ । ‘बुधबार आइसोलेसन वार्ड निर्माणको काम सकेका छौं’ जिल्ला समन्वय समिति झापाका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, ‘आइसोलेसन वार्ड ७ वटा तयार भएको छ ।’ मेची अस्पतालले जनस्वास्थ्य कार्यालयको तालिम केन्द्रमा २ वटा भेण्टिलेटरसहितको वार्डसहित १५ वटा आइसोलेसन वार्डको तयारी गरिरहेको अध्यक्ष पोर्तेलले जानकारी दिए । प्रदेश सरकारको १ करोड रुपैयाँ सहयोगमा आइसोलेसन र भण्टिलेटर वार्ड बनाइएको हो ।