विराटनगर/ साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा वादी र प्रतिवादीतर्फको १ सय ९ जना साक्षी रहेका छन् ।
वादीको भन्दा प्रतिवादीतर्फको साक्षी बढी रहेको पाइएको छ । वादीतर्फको ३६ र प्रतिवादीको ७३ जना साक्षी रहेको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । वादी र प्रतिवादी गरी दवै पक्षका साक्षीले अदालतमा नामावली पेश गरेपछि मङ्गलबारदेखि साक्षीको बकपत्र शुरू भएको अदालतका सूचना अधिकारी पौडेलले बताए ।
‘वादी र प्रतिवादी दुवैतर्फका साक्षीको नामावली अदालतमा आएको छ । साक्षीको नाम धेरै भएकोले मिति तय गरेर बकपत्रको लागि समय दिएका छौं’ –अदालतका सूचना अधिकारी पौडेलले भने । दैनिक २ जना साक्षीको बकपत्र हुने अदालतले जनाएको छ । वादी र प्रतिवादीका साक्षीको सङ्ख्या धेरै भएकोले बकपत्र हुन केहीदिन लाग्नेछ । सुन मुद्दाका वादी र प्रतिवादीका साक्षीको बकपत्र जिल्ला अदालत मोरङका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजलासमा भएको छ ।
गतवर्षको फागुन १८ गते सुन तस्करीको सञ्जाल चलाइरहेका चूणामणि उप्रेती ‘गोरे’सहितको समूहले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको सुन तस्करी मुद्दाको छानबिनका लागि गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
पौडेल नेतृत्वको समितिले सुन तस्करी प्रकरणमा ६३ जना विरूद्ध गत वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो । सुन तस्करी र हत्या प्रकरणमा खुल्दै गएका प्रतिवादीलाई पूरक अभियोग लगाएर ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी– निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएको छ ।
अदालतले साक्षीको बकपत्र, प्रमाण र सबै विषयको अध्ययन गरेपछि फैसला गर्दछ । अभियोगमा प्रतिवादीहरूले सन् २०१५ देखि पछिल्लो पटक भिœयाएको सम्म गरी ३ हजार ८ सय किलोग्राम सुन तस्करी गरेको भन्दै १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रूपैयाँ बिगो माग दाबी गरिएको छ । अभियोग पत्रमा ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम सुन चोरी–निकासी गरेको उल्लेख गरिएको छ ।