भण्टाबारी/ नेपाल–भारत दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ बर्सेनि आउने बाढीमा हराउने गरेका छन् ।
सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा रहेका सीमास्तम्भहरू बर्सेनि आउने बाढीको समयमा हराउने गरेका हुन् । कोशी गाउँपालिका–८ भण्टाबारीको तीनकुनेस्थित नेपाल– भारत दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ रुग्ण बनेका छन् । प्रत्येक वर्ष पानीको सतह बढ्दा हराउने र हिउँदमा देखापर्ने खोलाको बीच भागमा रहेका मुख्य र सहायक सीमास्तम्भको मर्मतसम्भार भएको पाइँदैन ।
सीमास्तम्भ जोगाउन दुवै देशका अधिकारीहरूले तदारुकता देखाएको पाइँदैन । कहिलेकाहीँ सीमास्तम्भको अवस्थाका बारेमा अधिकारीहरूले अनुगमन गरे पनि मर्मतसम्भार गर्न चासो देखाएको पाइँदैन । खोलाको बीच भागमा सीमास्तम्भहरू छन्, बर्सेनि आउने बाढीले जीर्ण बनेका छन्’ –स्थानीय सफिक अलीले भने । बाढी पहिरोमा सीमास्तम्भ हराउँदा छिमेकीले अतिक्रमण गर्नसक्ने जोखिम रहेकोले नयाँ सीमास्तम्भ निर्माण वा मर्मतसम्भार गर्नुपर्ने स्थानीयको माग छ ।
छिमेकी देशले सीमास्तम्भ निगरानी गर्नका लागि सीमा सुरक्षा बल एसएसबीलाई प्रत्येक एक किलोमिटरको दूरीमा खटाएको छ । तर, नेपालमा भने १० देखि १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी तैनाथ गरिएको छ । सशस्त्र प्रहरीलाई सरकारले सीमास्तम्भ सुरक्षाका लागि खटाए पनि उनीहरू धेरै स्थानमा दसगजा क्षेत्रभन्दा टाढा बस्दै आएका छन् ।
सुनसरीमा मुख्य र सहायक गरी २ सय ९० वटा सीमास्तम्भको निगरानी गर्न नौ वटा बिओपी स्थापना गरिएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार जिल्लामा रहेका २ सय ९० सीमास्तम्भमध्ये २३ वटा हराइरहेका छन् । यता सीमा सुरक्षा बल सुनसरीका एसपी कृष्ण ढकालले बर्सेनि आउने बाढीपहिरो कारण सीमा स्तम्भ हराएको स्वीकार गरे । आवश्यकता बमोजिम जनशक्ति अपुग रहे तापनि सशस्त्र प्रहरी २४ सै घण्टा सीमा सुरक्षामा खटिएको बताए । ‘नयाँ बनाउने वा पुरानोलाई मर्मतसम्भार गर्ने अधिकार नापी विभागसँग छ’–एसपी ढकालले भने ।