इनरुवा/ इनरुवा क्षेत्रमा हुने सानातिना समस्यामा उपचारका लागि पुगिने इनरुवा अस्पतालमा प्राथमिक उपचार पाए पनि औषधि नपाइने गरेको छ ।
उपचार पाए पनि औषधि नै नपाउने भएपछि सेवाग्राही अन्यत्र भौंतारिने गरेका छन् । जसको प्रत्यक्ष उदाहरण बनेका छन्, देवानगञ्जमा भेटिएका राम (नाम परिवर्तन) । देवानगञ्जको स्वास्थ्य संस्थामा औषधि लिन आएको बताउने रामले इनरुवा अस्पतालमा जाँदा खाली हात फर्किनु पर्ने भएकाले देवानगञ्ज पुगेको बताए ।
क्लिनिकमा गई औषधि किन्ने सामथ्र्य नभएको बताउने राम आफूजस्तै अन्य बिरामीले समेत औषधि चाहिएमा दक्षिणी गाउँपालिका चहार्ने गरेको बताउँछन् । रामसँगै भेटिएका उनका साथीले समेत अन्यत्रको दाँजोमा देवानगञ्ज गाउँपालिकामा औषधि सहज उपलब्ध हुने गरेकोले आवश्यकता परेको खण्डमा कामचलाउने गरेको बताए ।
स्थानीय सरकारका रूपमा रहेका पालिकाहरूले बजेट सिलिङसँगै आवश्यकताअनुसारको क्षेत्रमा रकम विनियोजन गर्दा सेवाको चुस्ततासँगै त्यसको प्रभावकारितामा समेत सकारात्मक प्रभाव देखापर्न थालेको उदाहरणसमेत हो यो । जसको ज्वलन्त उदाहरण इनरुवाका स्थानीय औषधि खोज्दै देवानगञ्ज पुग्नु पनि हो ।
इनरुवा अस्पतालप्रति आम सर्वसाधारणको गुनासो र सधैँजसो हुने गरेको औषधि अभावको विषयमा स्वयम् कार्यालयसँग समेत ठोस जवाफ भने छैन । स्वास्थ्य कार्यालयका मेसु डा.सन्तोष राईका अनुसार विगतदेखिका आन्तरिक तथा राजनीतिक कलह नै इनरुवा अस्पतालको गुणस्तरीयताको प्रमुख बाधक हो ।
यसअघि खरिद गरिएका औषधिको बिलसमेतको भुक्तानी गर्न नसकिएको बताउने मेसु राईले अस्पतालभित्र देखिएका समस्या समाधानको पहलमा जुटिसकेको बताउँछन् । राईको भनाइमा औषधि अभावका कारण सेवाग्राही आफूपायकको स्थान वा स्वास्थ्य संस्थामा जानु स्वभाविक हो ।
राईले स्वास्थ्य सूचकाङ्कको पुछारमा रहेको इनरुवा अस्पतालको सुधारका लागि सरोकारवालासँग मिलेर अघि बढ्ने सवालमा पहल भइरहेकाले स्थानीयका गुनासा र औषधि अभावलगायतका विषय समाधान भएर जाने बताउँछन् । स्थानीय तहमा बजेट बढी हुने र सम्बन्धित शीर्षकमा छुट्याइने भएकाले समेत सेवा दुरुस्त रहने स्वास्थ्य कार्यालयको बुझाइ छ ।
उता देवानगञ्जमा औषधि लिन पुगेका स्थानीयको वास्तविकता केलाउँदा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधिको जोहो रहेको भने भेटियो । सदरमुकाममा रहेको अस्पतालमा औषधिका ¥याक र दराज खाली भेटिँदा सीमावर्ती गाउँपालिका देवानगञ्जका सबै स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि भण्डारणमा रहेको पाइयो ।
औषधि लिन अन्यत्रबाट समेत पुग्ने गरेको विषयलाई गाउँपालिकाका स्वास्थ्य संयोजक उमेशप्रसाद मेहतासमेत स्वीकार्छन् । गाउँपालिकाका विभिन्न वडाका साथै स्थानीयवासी मात्र नभएर भारतीय नागरिक र गाउँपालिका बाहिरका पालिकाहरूबाट समेत औषधि चाहिए गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा पुग्ने गरेको मेहताले बताए । मेहताले स्वास्थ्य सेवाप्रति सबैको चासो र भरोसा समेत बढ्दै गएको बताए ।
देवानगञ्ज गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी र २ आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुन नदिन गाउँपालिकाबाटै निर्णय गरी पर्याप्त बन्दोबस्तसहितको व्यवस्था मिलाइएकाले सर्वसाधारणले सहज र सुलभ ढङ्गबाट सेवा पाइरहेको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेको भनाइ छ ।
न्यौपाने अन्यत्रबाट समेत औषधि लिन गाउँपालिकामा आउने गरेको पाइएकाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउने आफूहरूको उद्देश्यले सार्थकता पाएको बताउँछन् । ४५ हजार बढी जनसङ्ख्या रहेको गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको सहजताका कारण स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुग्ने सर्वसाधारणको सङ्ख्यामा समेत वृद्धि हुन थालेको उनले बताए । न्यौपानेले देवानगञ्ज स्वास्थ्य चौकी १५ शøयाको अस्पतालमा परिणत हुन लागेकाले समेत स्वास्थ्य सेवा र प्रभावकारिताको विषय थप मजबुत भएर जाने विश्वास व्यक्त गरे ।