दमक/ झापा दमकका भोला बरालको ९ वर्षे छोरा आरिक बराल समुदायका अन्य बालबालिका भन्दा फरक क्षमता भएका हुन् । उनी अरू बालबालिका जस्तो समूहमा उती खेल्दैनन् र बस्दैनन् पनि । उनी एक्लै खेल्छन् । एक्लै एक्लै रमाउँछन् ।

उनको यो फरक बानी भन्दा पनि एक प्रकारको रोग हो । पटक पटक डाक्टरलाई देखाउँदा यो डाक्टरले अटिजम भएको हो भनेपछि यसको तत्काल उपचार हुने सम्भावना नदेखेर बराल परिवार आफ्नो छोराको आनीबानीमा रमाउन थालेका छन् । अहिले भोला बराल आफ्ना छोरा जस्तै समुदायका अरू कसैलाई पनि अटिजम नहोस् र भै हालेमा यस्ता बालबालिका पढाउने विद्यालयको स्थापना हुनुपर्ने भन्दै अभियानमा लागि परेका छन् ।

शुक्रबार दमक–९ स्थित सरस्वती माविमा शुरु भएको अटिजम सिकाइ केन्द्रमा अटिजमका बारेमा बताउँदा बताउँदै उनी भावुक भए । आफ्ना छोराछोरीमा अटिजम हुँदा त्यसको हेरचाह र स्याहार सुसारमा कतिसम्मको चुनौती र समस्या छ भन्ने कुरा उनले मञ्चमा उभिएर बोल्दा आँसु झारेकोले पनि प्रष्ट छ । अझ यस्ता बालबालिकाको आनीबानी परिवर्तन गर्न मद्य तगर्ने खालको सिकाई केन्द्र सबै ठाउँमा नहुँदा त्यसको असर कतिसम्म समस्या परिरहेको छ भन्ने कुराको उदाहरण पनि उनको त्यो भावुकताले प्रष्टै झल्कन्थ्यो ।

धेरै लामो प्रयास र पहल पछि दमक नगरपालिकाले अटिजम भएका बालबालिकालाई पनि पढाउने सिकाइ केन्द्रको स्थापना गरेको भन्दै उनले गहभरि खुशीका आँसु पार्दै नगरपालिका प्रति आभारी बने । उनी जस्तै दमकका १० परिवार जसका अटिजम भएका छोराछोरी छन् उनीहरूलाई यहाँ स्थित सरस्वती माध्यमिक विद्यालयमा पढाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि दमक नगरपालिकाले यो वर्ष ५ लाख रुपैँया खर्च गरेर आवश्यक पूर्वाधार तयार गरिदिएको छ । विद्यालयको एउटा कक्षा कोठामा ४ खण्ड बनाएर फरक फरक कुर्सी टेबल राखिएका छन् । २ जना स्वयंंसेविका अभिभावक आफैले व्यवस्थापन गरेका छन् । बालबालिकालाई आवश्यक खेल सामग्री पनि अभिभावकले नगरपालिकासँगको साझेदारीमा खरिद गरेका छन् ।

स्वयंसेविका शिक्ष्ीिका पूजा श्रेष्ठले यसभन्दा पहिला पनि अटिजम भएका बालबालिकालाई अध्यापन गराएकी छिन् । विभिन्न स्थानमा तालिम समेत लिएर आउनु भएकी श्रेष्ठले दमकमा पनि पढाउन थालेकी छन् । उनीसँगै अर्की एक जना पनि स्वयंसेविकाको रूपमा नै यहाँ कार्यरत छिन् । अटिजम भएका बालबालिकालाई नियन्त्रणमा लिएर बानी परिवर्तन गराउन निकै चुनौती र समस्या हुने श्रेष्ठले बताइन् । कतिपय त आफै माथि आइलाग्न समेत सक्ने भन्दै निकै तालिम र अभ्यासपछि मात्र अटिजम भएका बालबाबालिकालाई सिकाउन सकिने उनको अनुभव छ ।

आगामी वर्ष दमक नगरपालिकाले अटिजम भएका बालबालिकाको अध्ययन अध्यापनमा सहज होस् भनेर वार्षिक बजेट नै विनियोजन गर्ने नगरपालिकाकी उप प्रमुख तथा शिक्षा समिति संयोजक गीता अधिकारीले बताइन् । दमकमा अटिजम भएका बालबालिकालाई अन्यन्त्र लगेर महँगो शुल्कमा सिकाई केन्द्रमा राख्नुपर्नु अवस्था देखेर नगरपालिका आफैले नगरमै यस प्रकारको सिकाइ केन्द्र स्थापना गरेको उपप्रमुख अधिकारीको भनाइ छ ।

हेर्दा जति सामान्य जस्तो लाग्छ अटिजम सिकाइ केन्द्र सञ्चालनलाई निरन्तरता दिन उति नै चुनौती रहेको दमक अपाङ्ग सहयोग समितिका संयोजक मदन बोहोराले भने । उनले राज्यले अपाङ्गता भएका नागरिकहरूका लागि फरक प्रकारको कार्यक्रम ल्याउनु भन्दा पनि भएका नीति नियम र कानूनको सहज रूपमा कार्यान्वयन मात्र गरिदिए पनि पुग्ने बताए । दमकमा अपाङ्गता भएकाहरूका लागि पूःनस्र्थाना केन्द्र स्थापना हुँदै गरेको सम्झाउँदै उनले भने त्यहाँ पनि अटिजम भएकाहरूलाई बेग्लै व्यवस्था गर्नेछौं । उनीहरूको आनीबानी परिवर्तनमा हामीले फरक व्यवस्था गर्ने योजना बनाएका छौं ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश नं १ का प्रदेश सभा सदस्य अर्जुन राईले अटिजम सिकाइ केन्द्रका पूर्ण सञ्चालनका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने बेलामा प्रदेश स्तरको अटिजम सिकाइ केन्द्र स्थापनाका लागि बेग्लै बजेटको व्यवस्था गर्न आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा अटिजम केयर नेपाल झापा डिस्ट्रिकका अध्यक्ष कुमार चुडाल, नगरपालिकाका प्रमुख रोमनाथ ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिन रिजाल लगायतले अटिजम सिकाइ केन्द्रलाई थप परिस्कृत गर्दै लाजैनेमा आ – आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

संसारमा अटिजम र एटेन्सन डिफिसिट हाइपर एक्टिभ सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बालबच्चाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको देखिन्छ । बालबालिकामा अटिजम र एडिएचएस जस्ता विकृति के कारणबाट हुन्छन् ? भन्ने कुरा विज्ञानले आजसम्म पनि पत्ता लगाउन सकेको छैन । यसका कारण झापामा मात्र १२ जना भन्दा बढी बालबालिकामा अटिजम भएको तथ्याङ्क छ । तर, अटिजम भएका बालबालिकालाई पढाउने न कुनै विद्यालय छ न कुनै प्रभावकारी सिकाइ केन्द्र नै । त्यसैले अहिलेका स्थानीयतहले यस्ता समस्या भएका बालबालिकाका लागि वा रोगीका लागि भने छुट्टै योजना बनाउनु पर्ने अटिजम बिरामी भएका बालबालिकाका अभिभावकहरूले माग गरेका छन् ।

2 1 altimajam 15