इटहरी/ कोरोना भाइरसको त्राससँगै इटहरीलगायतका शहरमा मास्कको हाहाकार भएको छ । बजारमा मास्क सकिएको भन्दै व्यापारीले उपभोक्तासँग साधारण मूल्यभन्दा ८ देखि १० गुणा बढी मूल्य लिन थालेका छन् । औषधि पसलहरूमा माक्स नपाए पनि अन्य ठाउँबाट थोरै सङ्ख्यामा भए पनि माक्सको कारोबार भइरहेको औषधि व्यवसायीहरू नै बताउँछन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि अहिले त्यसैको बहानामा नेपाली बजारमा समेत बजारमा मास्कको चरम अभाव भएको हो । स्वस्थ्य संस्थाहरूमा माक्स पाइन छाडेको छ । क्लिनिकहरूमा समेत अभाव हुन थालेको छ । इटहरीमा लामो समयदेखि माता मनकामना आरोग्य सेन्टरका सञ्चालक हिरा श्रेष्ठले मास्क अभाव भएको जनाए । ‘अहिले मास्को चरम अभाव छ’ श्रेष्ठले भने ।
बजारमा मास्क अभावका कारण समस्या भएको भन्दै उपमहानगरपालिकाले बजेट समेत छुट्याएको छ । खोकी लागेका र बिरामीहरूको लागि मास्क खरिद गर्न भन्दै एक लाख बजेट छुट्याएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । मास्क किन्न पाए किन्ने नत्र आफै उत्पादनसम्म गर्ने तयारी गरेको उपमेयर गौतमको भनाइ थियो । ‘अहिले बजारमा माक्सको हाहाकार रहेछ, अस्पतालमा आउने बिरामीको लागि जोहो गर्दै छांै,’ उनले भनिन् ।
औषधि व्यवसायीहरूका अनुसार बजारमा पाइने विभिन्न थरीका मास्कमध्ये सबैजसो मास्कको अभाव छ । नेपालमै बन्ने कपडाको साधारण मास्कदेखि पेपर मास्क र विदेशबाट आयात हुने प्रोटेक्टिभ एवं मेडिकल मास्कसम्म सबैखाले माक्सको अभाव देखिएको छ । बुधबार बजार अनुगमनको क्रममा मास्कमा चरम अभाव देखियो इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भनिन् ।
नेपाल औषधि व्यवसायी सङ्घ सुनसरी महासचिव सुवास पौडेल मास्कको चरम अभाव भएको बताए । एक महिना अघिदेखि नै मास्कको अभाव भएको बताए । नेपालमा कोरोनाको त्रास अगावै यहाँ भएको स्टक मास्कहरू चाइना गएका कारण अहिले बजारमा अभाव भएको स्वीकार गरे ।
फुटपाथमा बेचिने कपडाको मास्क पनि हत्तपत्त भेटिन छाडेको छ । होलसेलबाटै महँगोमा आएको दाबी साना व्यापारीले गरिरहेका छन् भने होलसेलरहरूले मास्क नै मौज्दातमा नरहेको दाबी गरिरहेका छन् ।
इटहरीमा बजार अनुगमन
कोरोना भाइसरको सङ्क्रमणको त्राससँगै बजारमा उपभोग्य वस्तुहरूको अभाव भएको भन्दै इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ । इटहरीका औषधि पसल तथा ग्यासका डिलरहरूमा उपमहानगरपालिकाले बजार अनुगमन गरेको हो ।
कोरोना भाइरसको हल्ला सँगै बजारमा दैनिक उपभोग्य सामाग्रीको मूल्य बढेको भन्दै इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ । बुधबार इटहरीको विभिन्न ठाउँमा गएर इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम सहितको टोलीले बजार अनुगमन गरेको हो । बजारमा ग्यासभित्र राखेर बेचेको भन्दै उपमेयर गौतमले बाहिर राखेर बेच्न ग्यास डिलरहरूलाई निर्देशन समेत दिइन् ।
सातवटा ग्याँस डिलरको अनुगमन गर्दा २ वटामा ग्यास सकिएको, एउटामा पसल बाहिर खाली तर भित्र भरिएका सिलिण्डर राखेको र अज्ञ चारवटामा बेचबिखन भइरहेको पाइएको छ । ग्यास डिलरहरूले माग अनुसार उद्योगले नै ग्यास नपठाउने गरेको गुनासो गरेका थिए । उपभोक्ताहरूले सञ्चित गरेर राख्न बढी ग्यास खरिद गरेको भन्दै एक परिवारलाई एउटा भन्दा बढी नदिन उपमेयरको आग्रह थियो । इटहरी उपमहानगरले बजार अनुगमनलाई निरन्तरता दिने जनाइन् ।