डा. सूचना मरहठ्ठा- नौ वर्षअघि एमबिबिएस गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै एमडी सकेर डर्माटोलोजिस्ट बनेकी एसोसिएट प्रोफेसर डा.सूचना मरहठ्ठा नया“पुस्ताकी विशेषज्ञ चिकित्सक हुन् । भविष्यमा छाला तथा यौन रोगमाथि थप नयाँ–नयाँ अनुसन्धान गर्ने, कस्मेटिकको क्षेत्रमा थप तालिम लिने र अध्ययन गरेर सर्वसाधारणको उपचार गर्ने योजना बनाउने सूचनाले भारतीय दूतावासबाट एमबिबिएस अध्ययन गर्दाताका इण्डियन एम्बेसी गोल्डेन जुब्ली अवार्ड पाएकी छन् ।
गोर्खाको गोर्खा नगरपालिका–२ छिपिटोलमा जन्मेकी सूचनाले छाला तथा यौनरोग विषयमा एमडी गरे पनि उनी भन्छिन्, ‘मानिसको शरीरमा हुने रोगको उपचार गर्न जहिलै सङ्घर्ष र चुनौतीको रूपमा लिएकी छु ।’ उनले नयाँ र आधुनिक शहरीपुस्ता शारीरिक सौन्दर्यप्रति सचेत हुन थालेकाले चर्म (छाला) को उपचारमा दक्ष चिकित्सक बन्ने र चिकित्सकीय पेशा बनाउने ध्येयले एमडी तहमा छाला तथा यौनरोगको क्षेत्र छनौट गरेको बताइन् ।

प्रतिष्ठानकै एनेस्थिेसियोलोजी एण्ड क्रिटिकल केयर विभागमा कार्यरत एडिसनल प्रोफेसर श्रीमान् आशिष घिमिरेसँग लभएरेञ्ज विवाह गरेकी डा.मरहठ्ठाको टिनएज मावि र उमाविमा पढ्दै बित्यो । युवाउमेर चिकित्सा विज्ञान पढ्दै बित्यो । अहिले बिरामीको उपचार गर्ने र विद्यार्थी पढाउनमै उनको दैनिकी बित्दै छ ।

डा. सूचना नयाँपुस्ताले चिकित्सकको पेशालाई सुधार्न धेरै मेहनत गरिरहेको बताउँछिन् । समाज र चिकित्सकको सम्बन्ध सरल हँुदै जानुपर्नेमा झन् जटिल बन्दै गएकाले कतिपयले चिकित्सकलाई ‘असामाजिक तŒव’ समेत भन्ने गरेकोप्रति उनी प्रतिवाद गर्छिन् । उनी भन्छिन्, ‘चिकित्सक असामाजिक तŒव हुने भए उसले बिरामीको उपचार गर्नै सक्दैन । समाजप्रति जिम्मेवार भएकैले बिरामीको उपचार गर्न एउटा चिकित्सक सधैँ दत्तचित्त भएर तम्तयार हुन्छ ।’ मानिसको बाहिरी सौन्दर्य र छालाबीच सम्बन्ध हुने र छाला राम्रो भएमा सौन्दर्य आफै खुल्ने उनको कथन छ ।

डा. सूचनालाई चिकित्सा पेशाबाट धन सम्पत्ति आर्जन गर्ने लोभ मनमा कहिल्यै नजागेको बताइन् । बिरामीको उपचार र विद्यार्थी पढाएबापत बीपी प्रतिष्ठानले दिएको तलबमा उनलाई कुनै गुनासो छैन । उनले भनिन्, ‘चिकित्सा क्षेत्रमा नयाँ–नयाँ काम काम गर्ने उमेर अझै छ । बीपी प्रतिष्ठान शिक्षण संस्था भएकाले यहाँ काम गर्ने र मेहनत गर्नेका लागि धेरै अवसरहरू छन् । यसर्थ पनि यसैमा रमाइरहेको छु ।’

डा. ज्योति अग्रवाल- पेडियाट्रिक्समा एमडी गरेपछि डा.ज्योति अग्रवाल बीपी प्रतिष्ठानको बालरोग विभागमा सह–प्राध्यापकको रूपमा कार्यरत छिन् । ३४ वर्षीया बालरोग विशेषज्ञ डा.ज्योतिको धोको छ, बालबालिकाको उपचारमा आफ्नो जीवन त्यसैमा समर्पित गर्ने ।

बालरोगसम्बन्धी रेडियो डाइग्नोसिसको अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ट पुरस्कारसमेत पाएकी उनको दैनिकी आजकल बिरामी बालबालिकाको उपचार गर्न, चिकित्साशास्त्रका विद्यार्थीहरूलाई पढाउन र अध्ययन अनुसन्धान गर्नमै बित्छ । बालरोगसम्बन्धी चिकित्सक भएर बालबालिकालाई आफ्नै बालिबालिका सम्झेर उपचार सेवा गर्न पाउँदा गर्व लागेको बताउँछिन् । डा.ज्योतिले बालबालिकाको उपचारमा नयाँ–नयाँ प्रविधि ल्याउने र बढावा दिने उद्देश्य राखेकी छन् । उनका श्रीमान् डा.अजय अग्रवाल पनि चिकित्सक नै भएकाले उनलाई आफ्नो पेशामा अगाडि बढ्न सजिलो भएको छ । उनले भनिन्, ‘पति र परिवारले पनि मेरो चिकित्साशास्त्रको अध्ययन अगाडि बढाउन पूरा पूरा ध्यान दिए ।’

उनी पिडियाट्रिक इण्डोक्राइनोलोजी एण्ड डाइबिटिजमा फेलो पनि हुन् भने लाइफ फर अ चाइल्ड प्रोजेक्टकी सञ्चालक पनि हुन् । नेपाली समाज शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडि परेकाले विभिन्न रोगले सङ्क्रमित भइरहने भएकाले आफ्नो बल बुद्धिले भ्याएसम्म उनीहरूको उपचार सेवामा लागेर जीवन बिताउने ध्याउन्नमा रहेको डा.ज्योतिले बताइन् । उनले भनिन्, ‘मेरो आफ्नै उद्देश्य र योजना छ । बालबालिकाको उपचारमा आर्थिक लाभ लिनुभन्दा सामाजिक उत्थान र चिकित्सकीय कार्यमा आफ्नो सम्पूर्ण समय खर्च गर्ने मेरो ड्रिम प्रोजेक्ट छ ।’

दर्जनभन्दा बढी विभिन्न देशहरूमा बालरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालामा सहभागी भएर चिकित्सा क्षेत्रमा हुने नयाँ अनुसन्धानको ज्ञान आदान–प्रदान गर्दै आएकी डा.ज्योतिले फेरि अवसर र अनुुकूलता पाएमा आगामी दिनहरूमा बालरोगसँग सम्बन्धित नेफ्रोलोजीमा फेलोसिप गर्ने निधो गरेकी छन् ।

प्रोफेसर डा. ज्योत्सना रिमाल- भारतको मणिपाल कलेजबाट स्नातक डेण्टल सर्जरीमा एमएएचई, एमसिओडिएस र स्नातकोत्तर काठमाडौं युनिभर्सिटी र भारतको लुधियानाबाट गरेकी प्रोफेसर डा. ज्योत्सना रिमाल प्रतिष्ठानकी दन्तचिकित्सा महाविद्यालयकी ओरल मेडिसिन तथा रेडियोलोजी विभाग प्रमुख हुन् ।

दन्तचिकित्सा र मेडिकल चिकित्सा क्षेत्रको पाठ्यक्रम निर्माण संयोजकसमेत रहेकी डा. रिमालले दर्जनौं वैज्ञानिक अनुसन्धान–पत्र तयार गरेर विभिन्न मुलुकमा आयोजित सेमिनारमा पुगेकी छन् । दक्षिण एसियामा सबैभन्दा पहिले आफूहरूले तयार गरेको पाठ्यक्रम अहिले अरूले पनि अनुकरण गरिरहेकोमा उनी गर्व गर्छिन् । भारत र भूटानका विश्व विद्यालयमा हेल्थ प्रोफेसन्स एजुकेसन लागू गर्न उनको बृहत् योगदान रहेको छ ।

उनले भनिन्, ‘हामीले सुरुवात ग¥यौं, अरूले लागू गरे । तर हाम्रोमा भने विभिन्न कारणले पछि प¥यौं । यद्यपि अहिले पनि पाठ्यक्रम लागू गर्नेहरूले यो बीपी प्रतिष्ठान र हामीलाई सम्झन्छन् ।’ दन्त चिकित्साक्षेत्रमा उनको खोज अनुसन्धान र उत्कृष्ट योगदानलाई आधार बनाएर स्वदेश र विदेशका धेरै सम्मेलनमा सम्मानित र पुरस्कृतसमेत भइसकेकी डा.ज्योत्सना दन्तचिकित्सा क्षेत्रमा नेपालले अझै धेरै गर्न बाँकी रहेको बताइन् ।

डा. मासुम पौडेल- प्रतिष्ठानको जनरल प्राक्टिस तथा इमर्जेन्सी विभागकी एडिसनल प्रोफेसर डा.मासुम पौडेलले रसियाको कास्तोदार युनिभर्सिटीबाट एमबिबिएस गरिन् । प्रतिष्ठानबाट स्कलरसिप पाएपछि एमडिजिपी गरिन् । प्रतिष्ठानमा १५ वर्षदेखि कार्यरत डा. मासुम चिकित्सा क्षेत्रमा इमर्जेन्सी विषय आफैमा चुनौतीपूर्ण रहेको बताउँछिन् ।

उनले भनिन्, ‘अरू क्षेत्रको तुलनामा इमर्जेन्सीमा अलि बढी नै चुनौतीको सामना गर्नुपर्छ । नेपालका अस्पतालका इमर्जेन्सी कक्षमा अधिकांश बिरामी अन्तिम अवस्थामा ल्याइन्छन् । तिनै अन्तिम अवस्थामा पुगेका कुनै पनि बिरामीलाई बचाउने प्रयास गर्नु हाम्रो मुख्य उद्देश्य हुन्छ ।’ उनका अनुसार सर्वसाधारण, विद्यार्थी, शिक्षकलगायतलाई ‘बेसिक लाइफ सपोर्ट’ को तालिम दिने हो भने आकस्मिक अवस्थामा परेका बिरामीको ज्यान बचाउन मद्दत पुग्छ ।

डा. विजया अर्याल- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फेमिली मेडिसिन विभागकी एसोसिएट प्रोफेसर डा. विजय अर्याल काठमाडौंमा जन्मिइन्, त्यहीँ हुर्किइन् । महाराजगञ्ज शिक्षण अस्पतालबाट फार्मेसी डिप्लोमा गरिन् । पछि एमबिबिएस पनि त्यहीँबाट गरिन् । खुल्ला प्रतिस्पर्धाबाटै उनले उत्कृष्ट मेरिट अङ्क ल्याएपछि खासै खर्च नगरी एमडी पनि सकिन् । उनले प्रतिष्ठानबाट १२ वर्षअघि एमडी गरेकी हुन् । चार वर्ष यतादेखि बीपी प्रतिष्ठानमा कार्यरत डा. विजया अरू चिकित्सकभन्दा अलि फरक छिन् ।

धनुषा ढल्केबर स्थायी घर भए पनि उनी धरानमा बसोबास गर्ने भनेर जग्गा पनि किनेकी छन् । उनी हत्तपत्त सारी–चोलो, कुर्ता–सुरुवाल लगाउँदिनन् । न त स्कुटी नै चलाउँछिन् । कुनै पुरुष झैं उनी एफजेड मोटरसाइकल हाँकेर जिओपिडीमा आइपुग्छिन् । उनी आफै भन्छिन्, ‘म व्यावहारिक बोल्ड छु । त्यसैले शुरुमा मसँग सङ्गत गर्नेले मलाई सहजै स्वीकार्दैनन् । हो भने हो भन्छु र होइन भने होइन । आफ्नो विवेक प्रयोग गर्छु ।’

एमडी गरेपछि बीचमा एक प्राइभेट अस्पतालमा पनि उनी जागिरे बन्न पुगेकी थिइन् । अधिकांश चिकित्सकहरू प्राइभेट अस्पतालमा बढी पैसा पाइने भएकाले जान मन पराउँछन् । तर उनीले ठीक विपरीत छाडेर प्रतिष्ठानमा आबद्ध भइन् । उनले भनिन्, ‘पैसा कमाउन चाहने चिकित्सकका लागि प्राइभेट अस्पताल ठीकै हो । तर एउटा चिकित्सकका लागि पैसामात्र ठूलो हुन्न रहेछ । बिरामी उपचारमा संलग्न रहेर उसको मुहारमा खुशी ल्याउन प्रमुख चुनौती हो । म त्यो चुनौतीको सामना गर्न थोरै तलब नै किन नहोस् यही प्रतिष्ठानलाई रोजेर आएँ ।’

हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको शिष्यसमेत रहेकी डा.विजया प्रतिष्ठानले दिएको पैसाले पुगेको बताउँछिन् । एक छोरा र एक छोरीकी आमासमेत रहेकी विजया आफ्ना सन्ततीलाई नेपालमै पढाएर नेपालमै गरिखाने वातावारण मिलाउने तरखरमा छिन् । बिहान छोराछोरीलाई खाजा बनाइदिएर प्रतिष्ठानमा पढाउन कलेज ब्लकतिर लाग्छिन् । बिरामी हेर्न जिओपिडीमा आउँछिन् । त्यसपछि साँझमा क्वार्टर पुगेर फेरि खाना बनाउँदै बित्छ उनको समय । उनी भन्छिन्, ‘घरमा एउटी आमा सचेत भइन् भने परिवार नै सचेत हुन्छ, त्यस्तै एउटी महिला चिकित्सक बनिन् भने धेरै महिलाले प्रेरणा पाउन सक्छन् । म पनि त्यस्तै प्रेरणा पाएर यो पेशामा आएको हुँ ।’

प्रो. डा. पुनम लाभाजु- बीपी प्रतिष्ठानको आँखा विभागकी प्रमुख डा.पुनम लाभाजु सन् २००६ देखि हालसम्म प्रतिष्ठानमै कार्यरत आँखासम्बन्धी दक्ष विशेषज्ञ चिकित्सक हुन् । मणिपाल कलेजबाट एमबिबिएस र प्रतिष्ठानबाट एमडी गरेकी डा.पुनम धरानकै स्थानीय बासिन्दा पनि हुन् । उनले आँखामा हुने समस्या र रोगबारे दर्जनौं अनुसन्धान गरेकी छन् ।

धेरैलाई थाहा छैन, प्रतिष्ठानमा आँखाको कर्निया प्रत्यारोपण हुन्छ भनेर । तिलगङ्गा अस्पतालसँग समन्वय गरेर ल्याएको कर्निया प्रतिष्ठानमा अरू आँखारोगीमा प्रत्यारोपण गरी कयौंको ज्योति फर्कादिएकी छिन् उनले । डा. रविन मास्केले सहकार्य गरेर आँखासम्बन्धी अरू काम पनि गर्दै आएका छन् । उनले मधुमेह हुँदा आँखामा हुने समस्या, थाइराइड हुँदा हुने समस्या, बालबालिकामा हुने आँखाको समस्याजस्ता शारीरिक रोगसँग जोडेर आँखाको समस्या पहिचान गरेर निदान गर्न उनी लागिपरेकी छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय सेमिनारहरूमा आँखासम्बन्धी रोगको उपचारमा दिएको योगदानको कदर गर्दै डा.पुनम सम्मानित र पुरस्कृत भइसकेकी छन् ।

उनले भनिन्, ‘आँखाको रेटिना र कर्नियासम्बन्धी थप अनुसन्धान गर्ने इच्छा छ ।’ आँखासम्बन्धी विशेषज्ञ चिकित्सक भए पनि पैसा कमाउनका लागि प्राइभेट अस्पतालमा जाने मन नगरेकी डा.पुनम प्रतिष्ठानजस्तो उच्च प्राज्ञिकस्थलबाट बहुउद्देश्य पूरा गर्न सकिने बताउँछिन् । उनले भनिन्, ‘प्राइभेट अस्पतालमा पैसा कमाइएला तर यहाँ बिरामीको उपचार गर्दा पैसा कमाएको भन्दा धेरै खुशी र आत्मसन्तुष्टि प्राप्त हुन्छ ।

प्रतिष्ठानमा चिकित्सा क्षेत्रमा अरू पनि स्थापित र मेहनती एवम् सिर्जनशील महिलाहरू छन् । बालरोग विशेषज्ञ प्रोफेसर डा. निशा भट्ट केशरी, स्त्री तथा प्रसूति क्षेत्रमा विशेषज्ञ धरानकी डा. शैलजा क्षेत्री, डर्मा विशेषज्ञ प्रोफेसर डा. सुधा अग्रवाल, प्रो.डा. अर्पण रिजाल, स्त्री तथा प्रसूतिका डा. पृथा बस्नेत, प्याथोलोजीका प्रो.डा. निर्मला लिम्बू, आँखामा एसोसिएट प्रोफेसर डा. सङ्गीता साहलगायत धेरै महिलाहरू रोग पहिचान गर्न, बिरामीको समस्या निदान गर्न अहोरात्र खटिरहेका छन् ।