लक्ष्मीमार्ग । गत साल चैत्रमा निर्माण सम्पन्न भईसकेको मालपोत कार्यलय बेलबारीको भवन अझै कार्यलय सर्न सकेको छैन । करोडौ लागतमा निर्माण भएको नयाँ भवन ठेकेदार र संघिय आयोजना कार्यन्वयन ईकाई कार्यलय बिराटनगर बिचको आरोप प्रत्यारोपका कारण उक्त नयाँ भवन प्रयोगमा आउन सकेको छैन ।

मोरङ बेलवारी ३ मा रहेको उक्त भवन बाहिरबाट हेर्दा रंगरोगन सहित तयारी अबस्थामा रहेको जस्तो देखिने भवन बर्षौ देखि प्रयोग बिहिन भएको छ । सो भवन प्रयोग नहुँदा कार्यलय बाहिर लेउ लाग्नुका साथै पुरानो भुत बंगला जस्तै देखिने गरेको छ ।

आफ्नै भवन लगभग तयारी अवस्थामा रहँदा रहँदै पनि मालपोत कार्यलय बेलवारीले ३ वटा भवन भाडामा लिएर वार्षिक ५ लाख ९६ हजार भाडा तिरी रहेको छ । २०७० सालमा काठमाण्डौँ शान्तीनगर स्थीत रहेको ए.के.गन्वा कन्ट्रक्सन कम्पनिले ४ करोड ९८ लाख (भ्याट बाहेक) रकममा ठेक्का लिईएको मालपोत भवन दुई वर्ष भित्र पुरा गर्नुपर्ने सहमती भएको थियो । हाल पाँच वर्ष वितिसक्दा समेत उक्त भवन सुचारु भएको छैन । कन्ट्राक अनुसारको काम नभएको कारणले वित्तिय प्रगती पुग्दैन भन्दै संघिय आयोजना कार्यन्वयन ईकाई कार्यलय बिराटनगरले उक्त भवनको अन्तिम विल भरपाई पास नगराएको मालपोत कार्यलय बेलवारीका प्रमुख योगेन्द्र सुबेदिले बताए ।

उनका अनुसार सार्वजनिक खरिद ऐनको ९औं संसोधन पौष १४ गते भएको छ, त्यहि संसोधन अनुसार काम सक्न बाँकि रहेका ठेकेदारलाई एक पटक मौका दिने भन्ने भएको छ र सोहि अनुरुप असार मसान्त भित्रमा ठेकेदार कम्पनिले काम सक्ने बिस्वास रहेको बताए । संघिय आयोजना कार्यन्वयन ईकाई कार्यलय बिराटनगरले उक्त भवनको सम्पुर्ण नापजाँच मुल्याङ्कन गर्ने हो र उक्त कार्यलयले भवनको सम्पन्नताको प्रतिबेदन हामिलाई दिपछी मात्र उक्त भवनमा सर्न सकिने मालपोत कार्यलय बेलवारीका लेखा अधिकृत हरि कट्टेलले बताए । उक्त ठेकेदार कम्पनी ए.के.गन्वा कन्ट्रक्सनले उक्त ठेक्का वापत लिएको रकमले भवन मात्र सक्नुपर्ने सम्झौता भएको बताउदै आएको छ भने संघिय आयोजना कार्यन्वयन ईकाईले गार्ड हाउस र क्यान्टीन भवन पनि उक्त डिटेल प्रोजेक्ट रिपोर्टमा रहेको बताउदै आईरहेको छ ।

बेलवारीका मालपोत कार्यलय आउने भएपछि २०५४ सालमा रत्न सुवेदीले १० कठ्ठा जग्गा मालपोत कार्यलय बेलवारीको नाममा पास गरिदिएका थिए । २३ वर्ष सम्म भाडामै रहेको भवन आफ्ै भवन बनिसक्दा समेत आफुनो भवनमा सर्न नसक्दा स्थानीयहरु चिन्तीत रहेको र चाँडै आफ्नो भवनमा सर्नुपर्ने नेपाली कांग्रेसका नेता महेन्द्र सुबेदि बताउछन् । संगै ठेक्का लागेको मालपोत कार्यलय दमकले सबै निर्माण कार्य सम्पन्न गरेर आफ्नै भवनमा सरेकै तिन वर्ष बितिसकेको छ ।