भद्रपुर/ कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सबै निकायलाई हाई अलर्टमा रहन निर्देशन जारी गरेको छ ।

छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत कोरोना भाइरसका सङ्क्रमित बिरामी देखापरेपछि प्रशासन कार्यालय झापाले जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई हाई अलर्टमा रहन निर्देशन जारी गरेको हो । कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई अलर्टमा रहन निर्देशन जारी गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

अहिले कोरोना भाइरसले विश्वलाई आतङ्कित बनाएकाले झापावासीलाई यस भाइरसबाट जोगाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन शुरु गरिएको उनले बताए । प्रशासन कार्यालयले एक साताअघि नै सबै सरोकारवाला पक्षसँग छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेको बताए । विभिन्न सामाजिक सञ्जाल, जनचेतनामूलक कार्यक्रम, वेबसाइटको माध्यमबाट पनि प्रचार–प्रसारलाई तीव्र बनाइएको उनले बताए ।

भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालय परिसरमा बिहीबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ । विमानस्थलबाट काठमाडौँ जाने र काठमाडौँबाट फर्किने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चूडालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको व्यवस्थापन तथा प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको परीक्षक कक्षको एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रजिअ राना मगरको नेतृत्वमा पुगेको टोलीले काठमाडौँबाट भद्रपुर आएका बुद्ध एयरका यात्रुलाई चेकजाँच गर्दै परीक्षण कक्षको उद्घाटन गरेका हुन् । विमानस्थलकै प्रवेशद्वारमा स्थापना गरिएको सो कक्षमा स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीलाई चाहिले आवश्यक स्वास्थ्य सामग्रीसहित ‘थर्मल गन’ पनि दिइएको छ ।

विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने बताइएको छ । विशेषगरी विमानस्थलमा भारत, भुटान, बङ्गालादेशलगायत देशबाट यात्रुहरू आउने गरेकोले उनीहरूबाट कोरोना भाइरस नेपाल भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाएको राना मगरले बताए । साथै विमानस्थलमा बुद्ध एयरलाइन्सले पनि काठमाडौँ जाने यात्रुलाई थर्मल गनको प्रयोग गरी छुट्टै स्वास्थ्य परीक्षण गर्दै आइरहेको जनाइएको छ ।

भारतसँग जोडिएको झापा जिल्ला १ सय ४४ किलोमिटर खुल्ला सीमा रहेकोले भारतबाट कोरोना भाइरस भित्रिने उच्च जोखिम छ । सोही जोखिमलाई केन्द्रित गर्दै खुल्ला सीमाको मुख्य प्रवेशद्वार काँकडभिट्टा, भद्रपुर र गौरीगञ्जमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार काँकडभिट्टामा मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालय समन्वयमा परीक्षण कक्ष स्थापना भइसकेको छ ।

त्यहाँ पनि थर्मल गन प्रयोग गरेर भारतबाट नेपाल आउने व्यक्तिको परीक्षण गर्नुका साथै शङ्का लागेका व्यक्तिको स्वास्थ्य परीक्षण पनि गरिन्छ । यता भद्रपुर नाकामा भद्रपुर नगरपालिकाको समन्वयमा बिहीबार परीक्षण कक्ष स्थापना गरिएको छ । थर्मल गन प्रयोग गरेर भद्रपुरमा पनि भारतबाट आउने व्यक्तिको परीक्षण गरिनेछ । गौरीगञ्जमा पनि परीक्षण कक्ष स्थापनाका लागि स्थानीय तह र स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेको छ । केही दिनमा नै त्यहाँ पनि परीक्षण कक्ष स्थापना हुने जनाइएको छ ।

प्रशासन कार्यालय झापाले मेची अस्पतालमा कोरोना सङ्क्रमित बिरामीका लागि छुट्टै आइसोलेसन वार्ड स्थापना गर्न निर्णय गरे पनि हालसम्म स्थापना गरिएको छैन । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले आइसोलेसन वार्ड स्थापना भइसकेको सञ्चारकर्मीलाई जानकारी दिँदै आए पनि अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले अहिलेसम्म आइसोलेसन वार्ड स्थापना नभएको बताए ।

झापामा अहिलेसम्म कोरोना सङ्क्रमित बिरामी फेला नपरेको बताउँदै अस्पतालका मेसु ठाकुरले बिरामीमाथि शङ्का लागे तत्काल धरान रेफर गर्दै आइरहेको बताए । अस्पतालमा छुट्टै आइसोलेसन वार्ड स्थापनाका लागि सरकारले छुट्टै स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउनु पर्ने हो भन्दै अहिलेसम्म त्यस्तो सामग्री तथा उपकरण उपलब्ध नभएको उनले बताए । यता प्रदेश १ का सामाजिक विकास मन्त्रालयले बुधबार नै झापाको मेची र बी एण्ड सीमा आइसोलेसन वार्ड स्थापनाका लागि निर्णय गरिसकेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सरकारी कार्यालयबाट सेवा प्रदान गर्ने कर्मचारीले अनिवार्य मुखमा मास्क लगाएर सेवा प्रदान गर्न निर्देशन दिएका छन् । प्रजिअ राना मगरले यसको शुरुवात आफ्नै कार्यालयबाट गरिसकेको बताए ।