उदयपुर/ विश्वभर महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणलाई मध्ये नगर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न रोक लगाएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनको लागि होली खेल्न रोक लगाएको हो ।

विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमयुक्त देशको सूचीमा सूचीकृत गरेको छ । सार्वजनिक रूपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने सूचनामा उल्लेख छ । पूर्वस्वीकृति लिइएका कार्यक्रमहरूलाई पनि रद्द गर्न सूचनामार्फत् अनुरोध गरिएको छ ।

भाइरसको सङ्क्रमणबाट बच्नु र बचाउनु सबै सचेत नागरिकको जिम्मेवारी हुने भएकाले पानी, धुलो, धुवाँ, अबिर, रङलगायतका वस्तुको प्रयोग नगर्न अपिल गरिएको जिल्ला प्रशासन उदयपुरले जनाएको छ । भाइरसको सङ्क्रमणबाट बच्नका लागि भेला, सभा, सम्मेलन, तालिम, गोष्ठीलगायतका कार्यक्रमहरू नगर्न सूचनामा उल्लेख छ ।

विभिन्न जिल्ला र स्थानीय तहहरूले होली नखेल्न र भीडभाडमा नजान आग्रह गरेको छ । यदि भीडभाडमा जानु परे पनि सुरक्षा अपनाउनुपर्ने जनाएको छ । यस अघि नै नेपाल सरकारले कोरोनाको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न अनुरोध गरिसकेको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिन र सङ्क्रमण भइहालेमा उपचार र रोकथामका लागि जिल्ला अस्पताल उदयपुरमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको जनाइएको छ ।