विराटनगर/ सरकारी छाप, दस्तखत कीर्ते गरेको मुद्दामा अदालतबाट दोषी ठहर भएकी प्रदेश १ की सांसद् गुलेफुन खातुनको विषयमा १ नम्बर प्रदेश सभामा खोजी भएको छ । प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक केदार कार्कीले लामो समयदेखि प्रदेशसभाका एकजना सांसद् हराइरहेकोले खोजी गर्नुपर्ने बताए ।

प्रदेशसभाको विशेष समय लिएर बिहीबार बोल्दै प्रमुख सचेतक कार्कीले सांसद् हराए पनि कतैबाट खोजी नभएको, पत्रिका र रेडियोबाट सूचना जारी नभएको भन्दै व्यङ्ग्य गरे । उनले प्रदेशसभा सदस्य खातुन फरार भएको तर प्रदेशसभा मौन बसेको विषयमा यस्तो व्यङ्ग्य गरेका हुन् ।

गत ६ पुसमा उच्च अदालत विराटनगरले उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई केही सदर गर्दै ४३ हजार सात सय ५० को दामासाही (बराबरी) ले हुने १४ हजार पाँच सय ८३ रुपैयाँ बिगो कायम हुने फैसला भएको थियो ।

उनले उच्च अदालतमा गरेको पुनरावेदनमा पनि दोषी ठहर भएपछि खातुन एक महिनाभन्दा धेरै समयदेखि प्रदेशसभामा अनुपस्थित छिन् । ‘यहाँ एकजना सांसद् हराइरहनुभएको जस्तो लाग्छ । धेरै दिनदेखि एकजना सांसद् देखिरहेका छैनौं । बाहिर सही गरेको पनि देखिँदैन । भित्र हेर्दा पनि हुनुहुन्न ।

हराएको सांसद् कहाँ हुनुहुन्छ ? पत्रिकामा खोजी हुन्छ कि हुँदैन ? यहाँ रेडियोमा बालक हराएको जस्तै सांसद् हराएको सूचना हामीले पाउने कि नपाउने ? हामीले सांसद् हराएको सूचना पाइरहेका छैनौं । सांसद् खोज्न कता जाने हो ? कसले खोज्ने हो ? हामीले सांसद् खोज्नुपर्ने बेला आएको छ’ –प्रमुख सचेतक कार्कीले भने ।