विराटनगर/ मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै म्याद गुज्रिएको औषधि राख्ने फार्मेसी सञ्चालक पक्राउ परेका छन् ।

विराटनगर–९ न्यूरो हस्पिटल अगाडि रहेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ का सञ्चालक विराटनगर–५ सम्झना चौकका २७ वर्षीय विकास मण्डल सोमबार राति पक्राउ परेका हुन् । औषधि व्यवस्था विभाग विराटनगर शाखाले आइतबार आकस्मिक गरेको अनुगमनको क्रममा फ्रेन्डसिप फार्मेसीबाट ठूलो परिमाणमा म्याद सकिएको औषधि बरामद गरेको थियो । विभागले मण्डलको फार्मेसीबाट म्याद गुज्रिएको औषधि बरमद गरे पनि उनी पक्राउ परेका थिएनन् ।

बरामद गरिएको म्याद सकिएको औषधि बिक्री गर्ने उद्देश्यले राखिएको र लेवल पनि मेटाएको पाइएकोले फार्मेसी सिल गरी सञ्चालकलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए । सञ्चालक यादवले म्याद सकिएको औषधिमा लेवल प्रयोग गरी नयाँ मिति लगाएर औषधि बिक्री गर्न राखिएकोले विभागले विस्तृत अनुसन्धान शुरू गरेको उनले बताए ।

पक्राउ परेका मण्डललाई मङ्गलबार जिल्ला अदालत मोरङमा ‘औषधि अनुचित प्रयोग र दुरूपयोग’ मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरिएको फार्मेसी निरीक्षक खड्काले बताए । पक्राउ परेका मण्डललाई विभागले पहिलो पटक सात दिनको म्याद थपको माग गरेको थियो । मोरङ अदालतका मुख्य न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले पाँच दिन अनुसन्धान गर्न म्याद दिएको छ । विभागले २५ दिन हिरासतमा राखेर अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गर्नु पर्दछ ।

म्याद गुज्रिएको औषधि राख्ने हाम्रो फ्रेण्डसिप फार्मेसीका प्राविधिक बोधराजकुमार चौधरी फरार छन् । फरार रहेका चौधरीलाई पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले जानकारी दिएको छ । उनको खोजी कार्य तीव्र बनाएको बताइन्छ । मण्डलको पसलबाट औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत चतुर्भुजप्रसाद यादव नेतृत्वको टोलीले अनुगमनको क्रममा १५ प्रकारका १ सय ३९ थान म्याद गुज्रिएका औषधि बरामद गरेको थियो । विभागमा विराटनगरका केही औषधि फार्मेसीले म्याद सकिएको औषधि बिक्री गरेको जानकारी पाएलगत्तै अनुगमन गरेको थियो । बरामद गरेको औषधिको परीक्षण गर्न राष्ट्रिय औषधि प्रयोगशाला काठमाडौंमा पठाएको फार्मेसी निरीक्षक खड्काले बताए ।

यसअघि पनि मण्डल भारतबाट अवैध रूपमा औषधि ल्याउने क्रममा पक्राउ परेका थिए । एक वर्षअगाडि भारतबाट अवैध रूपमा औषधि ल्याउने क्रममा इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनलाई पक्राउ गरेको थियो । अरूको फार्मेसीमा काम गर्दै आएका मण्डलले तीन महिना पहिले न्यूरो हस्पिटलअगाडिको उक्त फार्मेसी खरिद गरी सञ्चालनमा ल्याएका हुन् ।

प्राविधिक नराख्ने सञ्चालक तारेखमा
प्राविधिक नराखी औषधि पसल सञ्चालन गर्ने विराटनगर– ९ स्थित आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई औषधि व्यवस्था विभाग विराटनगरले हाजिर जमानतमा छोडेको छ । २१ दिनभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरेको कागज–पत्र औषधि व्यवस्था विभाग विराटनगरमा बुझाउने प्रतिबद्धता गरेपछि विभागले तारेखमा राखेर सोमबार छोडेको हो ।

विभागबाट आएको टोलीले आइतबार गरेको अनुगमनको क्रममा प्राविधिक बिना फार्मेसी सञ्चालन गरेको पाइएपछि मगरलाई पक्राउ गरेको थियो । ‘उनले २१ दिनभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका छन्’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले मगरलाई तारखेमा राखेर छोडिएको हो । उनी नियमित विभागमा हाजिर हुनुपर्दछ ।’

फार्मेसी सञ्चालनमा ल्याउँदा अनिवार्य औषधि सल्लाहकार समितिबाट ३ महिनाको ‘ओरियन्टेसन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्ष डिप्लोमा गरेको प्राविधिक हुनुपर्ने व्यवस्था रहेको छ । फार्मेसीले प्राविधिक नराखी औषधि पसल सञ्चालन गरेको पाइए सञ्चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने व्यवस्था छ ।