भण्टाबारी/ नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाले चालु आर्थिक वर्षमा ग्राहकबाट ११ करोड भन्दाबढी बक्यौता रकम उठाउन धमाधम लाइन काट्न थालेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म ग्राहकबाट नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाले ११ करोड २ लाख १६ हजार ३५६ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ । नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका सहायक प्रबन्धक राम उदगार साहका अनुसार विद्युत् प्राधिकरण इनरुवा शाखाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म गार्हस्थतर्फ ५ करोड ७ लाख ३५ हजार १२१ रुपैयाँ, व्यापारिकतर्फ ३४ लाख ६२ हजार ४४१ रुपैयाँ, गैर व्यापारिकतर्फ १९ लाख २३ हजार ६६४ रुपैयाँ, औद्योगिकतर्फ १ करोड ५४ लाख ६३ हजार ५३३ रुपैयाँ, सडक बत्तीतर्फ १ करोड ४७ लाख ९४ हजार ९४८ रुपैयाँ, सामुदायिकतर्फ ५३ लाख २२ हजार ६२० रुपैयाँ लगायतबाट ११ करोड भन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी छ । ६० दिनसम्म बक्यौता रकम नबुझाउने ग्राहकको लाइन काट्ने प्रावधान भए पनि ग्राहकहरूले महिनौंसम्म समेत बक्यौता रकम बुझाउने गरेका छैनन् ।
नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाले महसुल नबुझाउनेहरूको लाइन काट्ने क्रमलाई तीव्रता दिएको छ । साउनदेखि पुसमसान्तसम्म ग्राहकहरूले विद्युत् महसुलबापत रहेको बक्यौता रकम बुझाउन ढिलाइ गरेपछि ३२२ जनाको लाइन काटिएको साहले जानकारी दिए ।
त्यसबाट ५७ लाख २५ हजार ७७३ रुपैयाँ असुली गरिएको उनले बताए । ग्राहकहरूको लाइन काटेर बक्यौता असुल गर्दै आए पनि विद्युत जोड्ने तर रकम नतिर्ने प्रवृत्ति यथावत् रहेकोे साहको भनाइ छ । त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाहीका साथ साथै सचेतना समेत गराउँदै आएको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका सहायक प्रबन्धक साह बताउँछन् ।
ग्राहकको मानसिकता परिवर्तन गराउन जरुरी रहेकोेले कारबाही र सचेतनासँगै निरन्तरता दिने उनले बताए । नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाले ग्रामीण भेगमा विद्युत् नपुगेको क्षेत्रहरूमा विद्युत लैजाने काम गर्दै आएको छ । अति विपन्न नागरिकलाई निशुल्क मिटर जडान गरिदिने नीति पनि विद्युत् प्राधिकरण इनरुवा शाखाले लिएको छ । विद्युत् चुहावटलाई कम गराउने विषयमा समेत काम गर्दै आएको प्रबन्धक साहको भनाइ छ ।