धरान / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटिमा २१ जना सदस्य थप गरिएको छ । २१ जना थपेर २ सय २८ सदस्यीय कमिटी बनाइएको छ ।

प्रदेश कमिटिको पदाधिकारी बैठकले पठाएको नाम केन्द्रले अनुमोदन गरेको हो । आज विर्तामोडमा हुने पूर्ण बैठकबाट सो निर्णयलाई कार्यन्वयन गरिदैं छ ।
प्रदेश कमिटीमा धरानबाट मुरारी सुवेदी, संघीय सांसद जयकुमार राई, प्रदेश सांसद सावित्री श्रेष्ठ र जसकुमार राई थपिएका छन् । सुवेदी यस अघि प्रदेश कमिटीमा चुनिने चर्चा चले पनि नचुनिए पछि जिल्ला कमिटीमा थिए । सावित्री श्रेष्ठ र जयकुमार राई जिल्ला कमिटीमा रहेका थिए । जसकुमार माओवादी पार्टी विभाजनपछि विप्लव समुहमा रहेका उनी पछिल्लो समय विप्लव समुहलाई परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए ।
आज विर्तामोडमा हुने बैठकले जिम्मेवारी बाँडफाट, कार्यालय, सचिवालय गठन, विभाग प्रमुख तोक्ने, सल्लाहकार परिषद, निर्वाचन क्षेत्र इञ्चार्ज तोक्ने, राष्ट्रव्यापी अभियानको तयारीलगायत एजेण्डाहरुमा छलफल हुने प्रदेशका एक नेताले जानकारी दिए ।