इटहरी/  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले देश सङ्कटमा परेको बताएका छन् ।

दुईतिहाइको कम्युनिष्ट सरकार अहिले आफै सङ्कटमा परेको बताएका हुन् । नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले ओली सरकार अहिले धर्मसङ्कटमा परेको खुलासा गरे । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बोलाएर सरकार सङ्कटमा परेको गुनासो गरेको खुलासा गरेका हुन् ।

दुईतिहाइको सरकारले देशमा विकासको सिन्को नभाँचेको आरोपसमेत लगाए । देशको विकास खर्चसमेत न्यून रहेको भन्दै देशलाई बर्बाद बनाएको आरोप लगाए । ‘अहिले केपी ओली आफै सङ्कटमा रहेछन्’ –नेता कोइरालाले भने । आफूलाई सरकारभित्रको सङ्कटको बारेमा करिब डेढ घण्टा गुनासो गरेको सुनाए ।

अहिलेको सरकारले अख्तियार प्रयोग गरेर व्यक्ति विशेषमा लागेको आरोपसमेत लगाए । नेपाली काङ्ग्रेसका नेता विजय गच्छदारलाई फसाउन खोजेको समेत उनको भनाइ थियो । ‘अहिलेको सरकार देशको हितमा नभएको भन्दै जनताहरूमा निराशा छाएको छ’ –नेता कोइरालाले भने ।

नेता कोइरालाले एक अर्को प्रसङ्गमा भने अहिले सभापति शेरबहादुर देउवाले एकलौटी सङ्गठन विभाग बनाएको आरोप लगाए । कार्यकाल समाप्त भइसकेपछि पार्टीमा विधान विपरीत विभागहरू गठन गरेको उनको आरोप थियो । ४ वर्षसम्म गठन नगरेको विभागहरू अहिले गठन गर्नु आफैमा लज्जा भएको कोइरालाको आरोप थियो ।

१० जना आमन्त्रित केन्द्रीय सदस्य बनाउनु पर्ने भए पनि विधान विपरीत सभापति देउवाले १३ जना केन्द्रीय सदस्य बनाएको भन्दै आपत्ति व्यक्त गरे । ‘विभागहरूमा आएका नेताहरू सक्षम छन् तर अहिले किन विभाग गठन गर्नुप¥यो’–उनले प्रश्न गरे । पार्टीको महाधिवेशन घोषणा भइसकेपछि विभागहरू गठन गर्नुको औचित्य नभएको उनको भनाइ थियो ।

अहिले काङ्ग्रेस सरकारमा जाने विषय हल्ला आएको भन्दै नेता कोइरालाले भने लोकतन्त्रमा प्रतिपक्ष विनाको सरकार हुनसक्ने कल्पना पनि गरिन्न । नेपाली काङ्ग्रेसले अहिले प्रतिपक्षको भूमिकासमेत राम्ररी निर्वाह गर्न नसकेको उनको भनाइ छ ।