पथरी / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरू राष्ट्र निर्माणको परीक्षामा रहेकाले पास हुने कि नहुने जनप्रतिनिधिकै हातमा रहेको बताएका छन् ।
शुक्रबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको छैठांै नगरसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले परीक्षाको घडी ३ वर्ष सकिएको र अब २ वर्ष बाँकी रहेको बताउँदै परीक्षामा पास हुन आग्रह गरे ।

मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूले यो कुरामा ध्यान नदिए वा काम गर्न नसके यो परीक्षाको शृङ्खलाबाट सदाका लागि बिदा हुनुपर्ने बताए । मन्त्री घिमिरेले आफू सानो देखि नै राजनीतिमा लागेको र पार्टीमा इमान्दार भएका कारण जनप्रतिनिघि बन्ने अवसर पाएको बताए । ‘पहिले जनप्रतिनिधि थिइनँ, म इमान्दार थिएँ तर अहिले राज्यकोष सञ्चालन गर्ने अधिकार छ, अब मैले इमान्दार बन्ने कि बेइमानी बन्ने भन्ने मेरो हातमा रहेको छ’ उनले भने, ‘रातो कलम पाएको छु, कलमले करोडौंको कारोबार गर्छ ।

यो रातो कलमलाई सही ढङ्गबाट सदुपयोग गरेको छु कि छैन, यही हो हाम्रो परीक्षा ।’
हिजो सडकमा भ्रष्टाचारीलाई कारबाही गर भन्दै हिँड्ने मान्छे अहिले जनप्रतिनिधि भएको बताउँदै उनले भने, ‘अहिले अरूले जनप्रतिनिधि विरुद्ध नारा लगाउन नपरोस् ।’ टेण्डर पारिदिनुस् भनेर लाखौंको अफर आउने गरेको तर त्यतातिर लागे जनप्रतिनिधिको गल्ती हुने बताउँदै उनले भने, ‘त्यो गल्ती लुकाउँदा पनि कहिले लुक्दैन ।’

उनले पूर्वसभामुख कृष्णबहादुर महरा र हालै राजीनामा दिएका सञ्चार मन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै आफूले गरेको गल्ती केही समय लुकाए पनि दशा लागेको दिन बाहिर आउने बताए । इतिहासमा नभएको विकासको गति अहिले देशमा देखिएको बताउँर्दै पथरीशनिश्चरे नगरको ६४ करोड र प्रदेश तथा सङ्घीयको गर्दा अहिले एक अर्बभन्दा बढी बजेट आउने गरेको उनले बताए । तराई, पहाड सबैतिर तीव्र गतिमा सडक सञ्जाल बन्दै गरेको उनले बताए ।

छैठौं नगरसभामा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले पनि सम्बोधन गरेका थिए । त्यसैगरी पूर्व गाविस अध्यक्ष तिलक बान्तवा, मोहन तुम्बापो, संविधानसभाका सदस्य चण्डीप्रसाद राई र लालबहादु सुस्लिङ मगर र पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए । सभामा नगरमा उपमेयर यमुना विष्ट बास्तोलाले न्यायिक समितिमा दर्ता भएका र फैसला भएका मुद्दाहरू प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमलाले आर्थिक वर्ष २०७६/०७७ को कार्यान्वयनमा रहेका मुख्य योजनाहरूको विवरण तथा समष्टीगत पुँजीगत आम्दानी खर्च प्रस्तुत गरेका थिए ।
त्यसैगरी आर्थिक विकास समितिका संयोजक यामप्रसाद गुरागाईंले योजनाहरू प्रस्तुत गरेका थिए । चालू आर्थिक वर्षमा ५.७ किलोमिटर कालोपत्रे, १२ किलोमिटर सडक ग्राभेल, बक्स कल्र्भट ५ वटा, वडाकार्यालय भवन ५ वटा, शहरी स्वास्थ्य केन्द्र ७ वटा निर्माण हुने जनाइएको छ ।

यसै आर्थिक वर्षमा कुल योजना ४ सय ६०, दर्ता भई सम्झौता भएका योजना २ सय रहेको विवरण प्रस्तुत गरेका थिए । अहिलेसम्म नगरपालिकाले १२ किलोमिटर, बुद्धमार्ग ३२ सय मिटर, रजतजयन्ती मार्ग ३६ सय मिटर, दोहोलु शुक्रबारे सडक १२ सय, बोक्रे सडक १३ सय १५ मिटर, शनिश्चरे सडक २ हजार मिटर, अन्य ठाउँमा ६ सय ८५ मिटर कालो पत्रे, कम्प्याक्टेड ग्राभेल २२ किलोमिटर, बक्स कल्र्भट २७ वटा ६ वटा भवन, ३ वटा खोपकेन्द्र, १ वटा सामुदायिक भवन र ३ वटा स्कुल निर्माण गरेको छ ।