भण्टाबारी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ३ मा पिच गरिएको सडक २४ घण्टा नबित्दै उप्किन थालेको छ । आरके निर्माण सेवा इनरुवाले भोक्राहा नरसिंह गाउँपालिकाको टेण्डरबाट वडानम्बर ३ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्दै निर्माणकार्य गरेका कारण २४ घण्टा नबित्दै पिच उप्किएको स्थानीयको भनाइ छ । २०७५ सालमै निर्माण हुनुपर्ने सडक त्यतिबेला पनि गुणस्तरीय काम नगरेपछि काम रोकेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनी आरके निर्माण सेवा इनरुवाले निर्माण गरेको पिच २४ घण्टाभित्रै उप्किन थालेपछि स्थानीय आक्रोशित भएका छन् ।

सडक पिच भएको एकदिन नपुग्दै उप्कन थालेपछि सञ्चारमाध्यममार्फत् स्थानीयले विरोध जनाउँदै छानबिन गर्न माग गरेका छन् । कमसल निर्माण सामग्री ठेकेदारले प्रयोग गरेकोले पिच उप्कन थालेको नाम उल्लेख नगरिदिन आग्रह गर्दै एक स्थानीयले बताए । आरके निर्माण सेवाका ठेकेदारले गुणस्तरीय काम नगरेकोले एकदिन पनि नबित्दै पिच उप्किएको उनीहरूको भनाइ छ । भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ३ पश्चिम टोलमा निर्माण गरिएको उक्त सडक गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवकै टोल हो ।

आर्थिक वर्ष २०७५/७६ को २ करोडको टेण्डर भए पनि आरके निर्माण सेवा इनरुवाले १ करोड ९ लाखमा टेण्डर पाएको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ३ का अध्यक्ष सुकदेव यादव बताउँछन् । सोही बजेटमा ठेकेदार कम्पनीले लगभग २ किलोमिटर सडक पिच गर्नुपर्ने सम्झौता भएको वडाध्यक्ष सुकदेवको भनाइ छ । भर्खरै काम सम्पन्न भएको हुनाले प्रतिवेदन नआएको हुँदा काम कस्तो भएको भन्नेबारेमा तत्काल भन्न सकिने अवस्था नरहेको उनले बताए ।

तर, आफ्नो वडामा गुणस्तरहीन काम गरेको पाइएमा ठेकेदार कम्पनीको भुक्तानी रोकिने सुकदेवले दाबी गरे । एक वर्षअगाडि सोही बाटो निर्माण गर्दा ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेकोले स्थानीयले विरोध जनाउँदै काम रोक्न भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका जनप्रतिनिधिलाई दबाव दिएका थिए । रोकिएको काम कारबाहीमा पर्ने डरले ठेकेदारले बिहीबार फेरि गरे पनि कमसल सामग्री प्रयोग गरेर काम गरेपछि पिच उप्किन थालेको हो ।

गुणस्तरहीन काम गर्ने ठेकेदारको काम रोक्दै आएको दाबी गर्दै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवले गुणस्तरीय काम नगरेको पाइएमा भुक्तानी नदिने चेतावनी दिएका छन् । विभिन्न ठेकेदारले आफूलाई कमिसन दिएर गुणस्तरहीन काम गर्न खोजे पनि आफूले त्यस्तो नगरेको यादवले दाबी गरे । जनताले विश्वास गरेर आफूलाई निर्वाचित गराएको हुँदा आफू कसैको प्रलोभनमा नपर्ने दाबी गर्दै उनले गुणस्तरीय काम गरेर मात्र भुक्तानी लिन आउन सुझाव दिए ।

आफ्नो गाउँ वडानम्बर ३ मा पर्ने सडकका साथै ठेकेदार कम्पनीले भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडामा कमसल सामग्री प्रयोग गरेर निर्माण कार्य गरेको पाइएकोले त्यस्ता काम पटक–पटक रोक्दै गुणस्तरीय काम गर्न निर्देशन दिँदै आएको गाउँपालिका अध्यक्ष यादवको कथन छ । यता यसबारे प्रतिक्रिया लिन आरके निर्माण सेवा इनरुवाका ठेकेदार शन्तकुमार मेहतालाई सम्पर्क गरे पनि मिटिङमा छु भन्दै उनले फोन काटे ।