धरान / धरान फुटवल क्लवको आयोजनामा हुने अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटवल प्रतियोगिताको २२ औं संस्करणको तयारी पुरा भएको छ । आयोजक क्लवद्धारा विहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फागुन १० गतेदेखि १७ गते सम्म धरान रंगशालामा संचालन हुने छ । रंगशलामा करिव ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ ।
आयोजक क्लबका अध्यक्ष किशोर राईका अनुसार रंगशाला सजाउने काम समेत सकिएको छ । उनले भने, ‘सवै तयारी पुरा भइसक्यो । अव खेल सुरु गर्न मात्र बांकी छ ।’ प्रतियोगितामा स्वदेश र विदेशका गरी ८ टिमको सहभागी हुनेछ । प्रतियोगितामा नेपालका लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब रहेका छन् । विदेशी टिममा भारतको युके एफसि र पश्चिम बंगला कलकत्ताको सन डे क्लब रहेका छन् । आयोजक क्लवले एकसाता अघि सम्म जापानको लिग टिम समेत सहभागी हुने भनेर टाइसिट समेत प्रकाशित गरिसकेको थियो तर कोरोना भाइरसको कारण उक्त टिम आउन नसक्ने भएपछि रातारात सहभागी टिम परिवर्तन गर्नु परेको अध्यक्ष राईले बताए ।
आयोजक क्लवले यसपटक उपाधी विजेताले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । उपाधी विजेताको राशीमा दुइ लाख रुपैया र उपविजेताको राशीमा एकलाख रुपैया वृद्धि गरिएको छ । प्रतियोगिताको उपाधी विजेताले यसपटक नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । समापन समारोहमा उत्कृष्ट खेलाडी घोषित हुनेले डियो स्कुटी एक थान प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार रुपैया र सर्वा्धिक गोलकर्ताले नगद ३५ हजार रुपैया पाउनेछन् ।
गोर्खा ब्रअरीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा आयोजक क्लवले यसपटक ७० बर्षका वृद्ध पुरुष र ६५ बर्षका वृद्धा महिलालाई निशुल्क प्रवेशको व्यबस्था गरिएको जनाएको छ । प्रतियोगिताको सवै तयारी पुरा भएपनि आयोजक क्लवले आफ्नो टिम भने अझै तयारी गर्न नसकेको क्लवका अध्यक्ष राईले बताए । उनकाअनुसार यसपाली एकै समयमा थुप्रै प्रतियोगिताहरु आयोजना भइरहेकोले आयोजक क्लबले खेलाडीहरु पाउन नसक्दा टिम तयारी गर्न मुस्किल भएको हो । उनले भने, ‘शुक्रबारसम्ममा खेलाडीहरुको टुंगो लाग्ने छ ।’