धरान । घरेलु कामदारको रूपमा गएर केही समयअघि दुबईमा स्मरणशक्ति गुमाएकी एक नेपाली महिलाको घर तथा परिवार पत्ता लागेको छ ।

दुबईको एक अस्पतालमा चार महिनाअघिदेखि उपचाररत रहेर केही समय अघि मात्रै डिस्चार्ज गरिएकी यामकुमारी थापाको घर तथा परिवार पत्ता लागेको हो । नेपाली दूतावासमार्फत् थापाको घर पत्ता लगाइएको हो । उनको घर गोर्खा रहेको बताइन्छ ।

टाउँकोको सल्यक्रिया गरिएकी कारण उनको स्मरणशक्ति गुमेको थियो । उनले आफ्नो नाम र आफ्नो एउटा छोरो रहेको बताउँदै आएकी थिइन् । तर, उनले काम गर्ने घरलगायतका बारेमा उनी अनभिज्ञ रहेकी थिइन् ।

उनलाई सामाजिक कार्यकर्ता लैला अबु बकरले आश्रय दिएकी थिइन् । उनको घर तथा परिवार पत्ता लगाउनका लागि सामाजिक सञ्जाल तथा दुबईका स्थानीय पत्रिकाहरूले समाचार तथा सूचना जाहेर गरेको थियो । समाजिक सञ्जालमा उनी भाइरल बनेकी थिइन् । अब उनलाई चाँडै नै नेपाल फर्काउने तयारी भइरहेको छ ।

दुबईस्थित नेपाली दूतावासीकी सूचना अधिकारी रीता धितालले उनको परिवारको खोजी कार्य गरी अब चाँडै नै नेपाल फर्काउने तयारी भइरहेको बताइन् । उनको परिवारलाईसमेत जानकारी गराइसकेको र नेपालीको एयरपोर्टसम्म लिनका लागि आउन आह्वान गरिएको पनि उनले बताइन् ।

याे पनि

https://www.blastkhabar.com/news/2020/02/17/111545.html