धनकुटा/ धनकुटाको हिले बजारमा निर्माणाधीन ढल तथा सडकको अनुगमन गर्नका लागि सोमबार अनुगमन समिति गठन गरिएको छ ।
विराटनगरको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ७ करोड, ६१ लाख, १० हजार रुपैयाँ लगानीमा ढल तथा सडक निर्माण गरिरहेको छ । भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा बुटबलले हिले वजारमा निर्माण गरिरहेको ढलको निर्माणलाई गुणस्तरीय बनाउनका लागि अनुगमन समिति गठन गरिएको हो । ढल निर्माण भइरहँदा गुणस्तरको विषयमा बजारवासीले गुनासो गरेपछि वडा सदस्य लालचन्द्र गोङवा तामाङको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति निर्माण गरिएको हो ।
अनुगमन समितिमा वडा नंं.१ को हिले बजारमा रहेका विभिन्न टोलबस्ती सङ्गठनहरूका अध्यक्ष र सचिवलाई सदस्यमा राखिएको छ । अनुगमन समितिको सदस्यहरूमा धिरेन थिङ, बुद्ध तितुङ, सन्तोष तामाङ (रुकमान), ज्ञानबहादुर राई, टेकबहादुर गोङ्गवा, भोगेन्द्र थापा, नीरबहादुर ठकुरी, योगेन्द्र शाही, प्रकाश कट्वाल र मदन कार्की रहेका छन् ।
उनीहरूले आयोजनाले निर्माण कम्पनीलाई ठेक्का दिएर काम गुराउनु पूर्व स्थानीय उपभोक्ताहरूबीच योजनाको बारेमा पूर्व जानकारी नै नगराइएको समेत गुनासो गरेका थिए । बिना जानकारी निर्माण कार्य थालेको भन्दै वडा कार्यालयमा यस अघि स्थानीय उपभोक्ताहरूले गुनासो पोखेपछि धनपा वडा नं.१ कार्यालयको संयोजनमा भएको छलफलमा ढल निर्माणका बारेमा निगरानी गर्न अनुगमन समिति निर्माण गर्ने भनी सहमति भएको थियो ।
अनुगमन समिति निर्माणसँगै ढल निर्माण तथा सडक विस्तारको विषयमा १० बुँदे माग समितिको तर्फबाट अघि सारिएको छ । समितिले निर्माण कार्य नियमित रूपमा सुचारु गर्न सहयोग गर्ने, दिनको २ पटक बजारमा धुलो उडेको बेला पानी हाल्ने, विहान ९.३० वजे विद्यालय समय र अपरान्ह ३.३० बजे विद्यालय समयमा डोजर चलाउन नदिने माग अघि सारेका छन् ।
त्यसैगरी बजारका घरहरू सडकको बिच भागदेखि दायाँबायाँ साढे सात मिटर कायम गर्ने निर्णय भए अनुसार गर्ने गराउने, बजार भित्र निर्माण सामाग्री २४ घण्टा भन्दा बढी राख्न नपाउने, ढलको लागि खनिएको खाल्डोमा ट्राफिक सिग्नल राख्न लगाउने र आयोजनाको डिटेल लागत स्टामेट समेत अनुगमन समितिलाई उपलब्ध गराउनु पर्ने लगायतका माग रहेको अनुगमन समितिका संयोजक लालचन्द्र गोङवाले ब्लाष्टलाई बताए ।