रङ्गेली । स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा सञ्चालित पानीजहाज व्यवसायीले बन्द गरेका छन् ।

व्यवसायीका अनुसार कमिसन, रोजगारी, बुकिङ र स्थानीय दादागिरीलगायतका कारणले सञ्चालन गर्न नसकेका हुन् ।केही दिनयता जहाज बाँधेर रोकिदिने, धाकधम्की दिने गरेपछि असुरक्षा महसुस भएकोले उचित समाधान र सुरक्षाको प्रत्याभूति नभएसम्म आफूहरू सेवा बन्द गर्न बाध्य भएको महासङ्घले जनाएको छ ।

वैधानिक भाडादर, सुरक्षालगायतको माग गर्दै सेवा बन्द गरेको व्यवसायीहरूले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । बुधबारदेखि पूर्णरूपमा सेवा बन्द गरेको नेपाल जलयातायात व्यवसायी महासङ्घका केन्द्रीय सदस्य राजन कार्कीले बताए ।
भारत विहारबाट आएका ६ जना पर्यटकसहित गएको जहाजलाई धनकुटाको शहीदभूमि गाउँपालिकामा माघ २९ गते ६ घण्टाभन्दा बढी समय रोकेपछि आफूहरू सेवा बन्द गर्न बाध्य भएको कार्कीले बताए ।
सप्तकोशीमा जलयातायात शुरु भएको २ वर्ष भए पनि स्थानीयको अवरोधले लगानी डुब्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । स्थानीय यात्रुमध्ये झण्डै १० प्रतिशतलाई निःशुल्क चढाउनु पर्ने अवस्था रहेको सप्तोकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेसन प्रालिका सञ्चालकसमेत रहेका राजेन्द्र कार्कीले बताए ।

सुनसरीको चतरादेखि भोजपुरको हतुवागढी गाउँपालिका हसनपुरसम्मको लागि ४ वटा कम्पनीले जलयातायात सञ्चालन गरिरहेका छन् । २१ किलो मिटर यात्राको ७ वटा जहाज सञ्चालनमा रहेका छन् । एकतर्फी भाडा प्रतिव्यक्ति ५ सय रहेको छ । दैनिक ५ देखि ७ सयले यात्रा गरिरहेका छन् । बङ्गलादेश, भारत र भुटानका पर्यटकको पनि उल्लेख्य उपस्थिति रहने गरेको सञ्चालक कार्कीले बताए ।
यात्रुको सुरक्षाको लागि लाइफ ज्याकेट, पौडीवाज र बिमा गरिएको कार्कीले बताए ।