भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्षमा वन फँडानी हुने क्रम रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षकै कर्मचारीको मिलेमतोमा वन फँडानी हुँदै आएको कोशी गाउँपालिका क्षेत्रका जनप्रतिनिधिले दाबी गरेका छन् । संरक्षण गर्न खटिएका वार्डेनसहितका उच्चपदस्थ कर्मचारीको मिलेमतोमा घाँसे मैदानको नाममा वन फँडानी हुने गरेको उनीहरूले आरोप लगाएका हुन् ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाका ७५ किलोमिटरमा फैलिएको कोशी गाउँपालिका–३ मा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा वन कटानी र फँडानी हुने गरेको स्थानीयले आरोप लगाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षको ९४५ स्परको उत्तरतर्फ लगाइएको सिसौ, सिमल, खयरलगायतका रुख धमाधम फँडानी भएको समाचार प्रकाशित भए पनि सम्बन्धित निकायले चासो देखाएको पाइँदैन ।

बासस्थानको अभावमा लोपोन्मुख अवस्थामा रहेका प्रजातिको संरक्षण गर्ने उद्देश्यले घाँसेमैदान बनाउन बोटबिरुवा काटिएको आरक्षका वार्डेनले दाबी गरे पनि स्वीकृति बिना वन फँडानी गरिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाका वार्डेन रामदेव चौधरीकै मिलेमतोमा वन फँडानी भएको उनको आरोप छ । वार्डेन रामदेव चौधरीसहितका कर्मचारीको मिलेमतोमा ठूलो सङ्ख्यामा खयर र सिसौका रुख काटिएको बताइएको छ ।

सयौंको सङ्ख्यामा रुख र बिरुवा काटिएको दाबी गर्दै अध्यक्ष अन्सारीले संरक्षणकर्मीकै मिलेमतोमा काठ काटिनु दुःखद् भएको बताए । पहिला–पहिला रुख काट्न वन कार्यालयबाट आदेश लिनुपर्ने हुन्थ्यो तर अहिले कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेनकै आदेशमा रुख काटिने गरिएको स्थानीय जनप्रतिनिधिको आरोप छ । कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले कुनै पनि निकायसँग समन्वय नगरी रुख काटेको स्रोतको दाबी छ ।

अध्यक्ष अन्सारी भन्छन्, ‘के कति रुख काटियो ? एकिन भएको छैन ।’ काठ तस्करी गराउने उद्देश्यले रुख काटिएको देखिएकोले यसतर्फ सबैको ध्यान पुग्नुपर्ने आवश्यकता रहेको उनले बताए । आरक्षका वार्डेनकै आदेशमा रुख र बिरुवा काट्ने, चिराउने र घरमा ल्याएर बेच्ने गरेको आरोप लगाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चौधरीले जनताको सम्पत्तिलाई आफ्नो व्यक्तिगत ठानेर फँडानी गरेकोले तत्काल कदम चाल्न अध्यक्ष अन्सारीले आग्रह गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षमा डेढ सयदेखि दुई सय बिघा जग्गामा लगाइएको रुख र बिरुवा फँडानी गरिएको भन्ने डेढ महिनाअगाडि स्थानीय योगेन्द्र उराँवसहितले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन–पत्रसमेत बुझाएको बताइएको थियो ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट फँडानी गरिएका खयर र सिसौको रुख विभिन्न समितिमार्फत् तस्करी हुने गरेको बताइएको छ । जसमा वार्डेनलगायतको संलग्नता रहेको स्रोतको दाबी छ । कोशीटप्पु वन्यजन्तु आरक्षको वन फँडानी भएको बारेमा निष्पक्ष छानबिन गरी सत्य–तथ्य बाहिर ल्याई दोषीलाई कानूनबमोजिम कारबाही गर्न स्थानीयले माग गरेका छन् । यता कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले भने आरोप निराधार भन्दै ठाडै अस्वीकार गरेका छन् ।

बासस्थानको अभावमा लोपोन्मुख अवस्थामा रहेका वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले बोटबिरुवा काटिएको वार्डेन चौधरीको भनाइ छ । बोटबिरुवा काटेर घाँसै मैदान बनाउने योजना रहेको चौधरी बताउँछन् । यसैबीच कोशीटप्पु वन्यजन्तु आरक्षमा आउने पर्यटकलाई आरक्षका कर्मचारीले राम्रो व्यवहार नगर्दा पर्यटकहरू निराश भएर फर्किने गरेको गुनासोसमेत आएको छ ।