धरान / धरान उपमहानगरपालिकाको छैटौं नगर सभाले धरानमा भएको खानेपानी समस्यालाई फागुन भित्र किनारा लगाउन निर्णय गरेको छ ।
धरानमा भएको खानेपानीको समस्या विकराल बन्दैं गए पनि पानीको एजेण्डा नआए पछि केही वडाअध्यक्षहरुले लफडासमेत गरेका थिए ।
नेकपाका वडा अध्यक्षहरुले पानीको विषयमा निर्णय नभए नगरसभा नै बहिस्कार गर्ने बताए पछि पानीको विषयमा छलफल भएको ९ नं. वडा अध्यक्ष रत्न कट्वालले जानकारी दिए ।
वडा नं ९ ले यसअघि नै खानेपानीको एजेण्डा नगरसभामा कार्यसुचीको प्राथमिकतामा नपरे सभा चल्न नदिने निर्णय नै गरेको थियो । वडाअध्यक्ष कबट्वालले धरानलाई खानेपानी संकटबाल घोषणा गरि स्थायी समाधान खोज्न काम गरेका थिए ।
नगरसभा नै अवरोध हुने भए पछि खानेपानीको विषयमा शुक्रबार छलफल भएको थियो । संस्थानलाई फागुन मसान्तभित्र धरान खानेपानी व्यवस्थापन बोर्डको मातहतमा ल्याउन सभाले वडा नं. १५ का वडा अध्यक्ष नरेश इवारामको संयोजकत्वमा ५ सदस्यीय खानेपानी समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा गीता पाख्रिन, कृष्ण प्रसाद भटराई, माधव गोविन्द श्रेष्ठ र सुर्यप्रसाद भटराई(मनोज) रहेका छन् ।
नगरसभाले विभिन्न वडाको विभिन्न शिर्षकको बजेट रकमान्तर गर्ने समे निर्णय गरेको छ । यस्तै कर्मचारी सेवा सम्बन्धी विधेयक २०७६ पनि पारित भएको छ । आज शनिबार दिउँसो १ बजे पुनसभा बसी घरनक्सा मापदण्ड परिमार्जनलगायतको विषयमा निर्णय हुने उपमहानगरका प्रवक्ता मणीराम राईले जानकारी दिए ।