बिर्तामोड । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई नारी कल्याण समाज झापाले ‘माया घर इटहरी’ मा बुझाएको छ । बिर्तामोडको वीएण्डसी हस्पिटलमा उपचाररत् पूर्णिमा गौतम नाम बताउने महिलालाई समाजले बिहीवार माया घरमा बुझाएको हो ।
माघ २२ गते सुरुङ्गामा अस्वभाविक हाउभाउ देखाउँदै हिडिरहेको अवस्थामा स्थानीयले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । महिलाको साथमा २ लाख ८४ हजार १० नेपाली रुपैंयाँ र ८ हजार ५ सय भारतीय रुपैंयाँ बरामद गरेको जानकारी प्रहरीले दिएको थियो ।
बिर्तामोडको मानन्धरचोकको एक घरमा डेरा गरेर बस्दै आएको भन्ने बयान महिलाले दिएपछि सुरुङ्गा प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ । पक्राउ परेकी महिलाले अर्जुनधाराका गौतम थरका एक युवा उनको नातामा भाई पर्ने बताएपछि प्रहरीले ती महिलालाई उनको जिम्मा लगायो । युवकले सामान्य चिनजान मात्र भएको बताए । महिलाले त्यसबेला भारतको सिलिगुडीमा घर भएको भन्दै उतै पु¥याइदिन अनुरोध गरिन् ।
युवकले सिलिगुडी पु¥याउन जाँदै गर्दा काँकडभिट्टा प्रहरीले रोक्यो । पटक–पटक ठेगाना फेरिरहने हुँदा युवतीको मानसिक समस्या भएको अनुमान प्रहरीले लगायो । र उनलाई बिर्तामोडको वीएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरियो । वीएण्डसीको हस्पिटल ब्यवस्थापनले नारी कल्याण समाजलाई उनको अवस्थाबारे जानकारी गराएपछि उद्धार गरिएको हो ।
उनको उद्धार गरेर माया घर इटहरीमा राखिएको छ । माया घरमा राखेर उनको उपचार गरिने बताइएको छ । समाजका अध्यक्ष प्रेमा भट्टराईका अनुसार युवतीले कहिले बिर्तामोड, भारतको आसाम र कहिले सिलिगुडी घर भएको बताउने गरेकी छन् । उनले युवतीको नाम, थर र घर पहिचान नभएको हुँदा संरक्षणका लागि माया घर पु¥याइदिएको बताईन् ।
उनले आफुसँग भएको रकमसमेत आमाले दिएको, सुन बेचेर राखेको वा सडकमा चिया रोटी ब्यापार गरेर आर्जन गरेको भन्दै आएको अर्का उद्दारकर्ता दीपक दासले बताए । उनले संरक्षकविहीन महिलाको आश्रयस्थल माया घरमा यो समेत तीनजना महिलालाई उद्दार गरेर राखिएको जानकारी दिए । ‘मानसिक असन्तुलन होइन, सामान्य डिप्रेसन भएको हुनुपर्छ, अधिकारकर्मी दासले भने–‘केही समय उपचार गरेपछि पक्कैपनि उनले आफ्नो घर बताउन सक्नेछिन ।’