मोतीपुर, मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा मापदण्डविपरीत अवैध उत्खनन्ले सिङ्गो बस्ती जोखिममा परेको छ ।

जथाभावी गरिएको अवैध उत्खनन्ले ग्रामथान गापा–४ को सिङ्गो बस्ती नै जोखिममा परेको हो । बिहानदेखि साँझसम्म लोहन्द्रा खोलामा मापदण्डविपरीत बालुवा र गिट्टीको उत्खनन् हुने गरेको स्थानीयले बताएका छन् । ग्रामथान–४ मोतीपुर र बेलबारी नगरपालिकाको सिमाना भएर बग्ने लोहन्द्रा खोलामा मापदण्डविपरीत दैनिक सयौं ट्याक्टर तथा टिपरमा बालुवा र ढुङ्गा उत्खनन् भइरहेको छ ।

खोलाको सतहभन्दा ८ देखि १२ फिटभन्दा बढी गहिरो खाडल बनाएर मापदण्ड विपरीत उत्खनन् गरिएको स्थानीय प्रकाश सरदार थारूले बताए । खोलामा मापदण्डविपरीत अवैध उत्खनन् गरी खाडल हुँदा गतवर्ष एक बालकको मृत्यु पनि भएको स्थानीय बताउँछन् । सो घटनामा मृतकका अभिभावकलाई उत्खनन् गर्ने समूहले क्षतिपूर्ति दिएर घटना सामसुम पारेको उनीहरूको भनाइ छ ।

मापदण्ड विपरीत उत्खनन् गरी सतहभन्दा गहिरो खाडल भएको कारणले खोलाले नजिकको कृषियोग्य जमिन कटान भई बस्तीमा खोला पस्ने जोखिम बढेको उनले बताए । ‘अहिले यहाँ खोलाको बालुवा उत्खनन् गरिँदा ठूला–ठूला खाडल भएका छन्’ उनले भने, ‘मापदण्ड विपरीत गरिएको उत्खनन्ले खोलाको विभिन्न ठाउँमा दुई मान्छे डुब्ने खाडल बनेको छ ।’

वर्षायाममा खोला बस्तीमा पस्ने जोखिम बढेर गएको उनले बताए । खोलाले कटान गर्न थालेका कारण ५ बिघा जति जङ्गलसमेत बगाउन लागेको उनले बताए । ‘मापदण्ड विपरीत उत्खनन् रोक्न गाउँपालिकादेखि वडा कार्यालयसम्म पुग्यौं’ उनले भने, ‘कतैबाट यहाँका स्थानीयवासीको मागको सुनुवाइ हुन सकेको छैन ।’ मापदण्ड विपरीत उत्खनन् नगर्न आग्रह गर्दा उत्खनन्मा संलग्न व्यक्तिहरूले ज्यान मार्ने धम्की दिने गरेको उनको भनाइ छ ।

अवैध उत्खनन्मा संलग्न गिरोहले अहिले दैनिक स्काभेटर प्रयोग गरी खोलाको सतहभन्दा १५ फिटसम्म गहिरो खाडल बनाएर बालुवा र गिट्टी निकालेर थुपार्ने काम गर्दै आएको स्थानीय बताउँछन् । खोलाछेउमा थुपारेको बालुवा र गिट्टी टिपर र ट्याक्टरमा भरेर लैजाने गरेका छन् । मापदण्ड विपरीत खोलाको बालुवा र गिट्टी झिकेर लैजाँदा पनि जनप्रतिनिधि र स्थानीय प्रशासन मौन छ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा मापदण्ड विपरीत खोलामा उत्खनन् भइरहेको स्थानीयले आरोप लगाएका छन् ।

उत्खनन्का कारण ग्रामथान गापाको भोला चोक, शुक्रबारे छेउसम्मै आइपुगेको पैनी, सार्वजनिक बाटो र ११ लाख बढी रकममा निर्माण गरिएको आर्यघाटको संरचना कटानमा परेकोले जोखिम बढेको ग्रामथान –४ मोतीपुरका भगवती चौधरीले जानकारी दिए । खोलाको सतह गहिरो भएका कारण चौपायालाई चरनमा लान र खोला वारपार गर्दा डुब्ने खतरा पनि बढेको उनले बताए ।

उत्खनन्मा खटिएका सञ्जोग माझीले आफूहरूले नियमसङ्गत रूपमा बालुवा र गिट्टी निकालेको दाबी गरे । वडा कार्यालयको सिफारिसकै आधारमा ४ फिटमात्रै उत्खनन् गरिएको उनको भनाइ छ । ग्रामथान–४ का वडाध्यक्ष बैजनाथ विश्वासले बेलबारी, सुन्दरहरंैचा र ग्रामथान गाउँँपालिकाले संयुक्तरूपमा लोहन्द्रा खोला ठेक्का लगाएको बताए । बस्तीलाई असर नपर्ने गरी खन्ने अनुमति दिइएको उनले बताए । मापदण्डविपरीत भएको गुनासो आएपछि तत्काल उत्खनन् रोकिएको उनको भनाइ छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले मापदण्ड विपरीत उत्खनन् भएको जानकारी पाएपछि उत्खनन् रोक्न गाउँपालिकालाई पत्राचार गरेको बताए । ‘अवैध उत्खनन् भएको जानकारी पाउने बित्तिकै रोक्न ग्रामथान गाउँपालिकालाई पत्राचार गरेका छौं’ उनले भने, ‘मापदण्डअनुसार उत्खनन् भएको छ या छैन चाँडै अनुगमन पनि गर्नेछौं ।’ मापदण्ड विपरीत उत्खनन् गरिएको पाए कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।