विराटनगर/ दहेज (दाइजो) लाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा यसले विकराल रूप लिँदै आएको छ ।

कुनै सयममा बिना लेनदेन आपसी सल्लाह र समझदारीमा हुने विवाहमा अहिले दहेजप्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय चिन्तामा डुबेका छन् । दहेज दिन बाध्य हुने समूह चिन्तामा डुबेका छन् भने लिने समूह खुशीले गद्गद हुने गरेका छन् ।

खुशीले बेहुली पक्षले दिने दाइजोमा कुनै समस्या नभए पनि करकापमा पारेर लिने दहेज कानूनी रूपमा अपराध मानेको अधिवक्ता केदार भण्डारीले जानकारी दिए । दहेजलाई नेपालमा अवैध मानेको छ भने लिने र दिने दुवैलाई कानूनले कैद सजाय हुने व्यवस्था गरेको छ । अधिवक्ता भण्डारीले २० वर्ष उमेर नपुगी विवाह गर्नु गराउनु पनि कानूनी हिसाबले दण्डनीय भएकाले यसबाट छुटकारा पाउन आम नागरिक जागृत र सचेत हुनुपर्ने कुरामा जोड दिए ।

विवाहमा कानूनले तोकेको भन्दा बढी जन्ती गएमा बेहुली पक्षलाई व्यवस्थापनमा निकै कठिनाइ हुने र खर्च पनि बढ्न जाने भएकाले यसमा बेहुला पक्ष गम्भीर हुनुपर्ने अधिवक्ता भण्डारीको भनाइ छ । दहेज लिनु र दिनु दुवै हराम मानेका मुसलमान समुदायमा पछिल्लो समय बढ्दै गएको दहेज व्यवहारप्रति आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल फलाही भन्छन्, ‘धार्मिक ग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।’

दहेजप्रथा आफैमा अस्वीकार्य कुरा हो तर पनि दहेज दिन मुसलमान समुदायका केटी पक्षका मानिस बाध्य छन् । दहेजमा अहिले नगद तथा मोटरसाइकल, फर्निचरका र जिन्सी सामान माग्ने क्रम बढ्दै गएको छ । जवान छोरीलाई घरमा राख्नुभन्दा दहेज दिएर विवाह गर्नु नै उत्तम मान्यता राख्ने क्रमले विस्तारै यसले सामाजिक मान्यता पाउन थालेको छ ।

दहेजले उग्ररूप लिएपछि प्रदेश नं. २ को वीरगञ्जबाट शुरु भएको दहेजविरुद्धको अभियानले पनि खासै गति लिन सकेको छैन । दहेज बन्द गर्नेभन्दा लिने मानिसको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । सुनसरीको गढी गाउँपालिकाका अगुवा मुस्लिम समुदायका गफारले छोरीलाई राम्रो शिक्षादीक्षा दिन सक्यो भने मात्र दहेजलाई नियन्त्रण गर्न सकिने बताए । मानिसले लुकिलुकी लिने दहेजका समर्थकलाई सामाजिक बहिष्कार गर्न सक्यो भने यो समस्यालाई नियन्त्रणमा लिन सकिने उनको भनाइ छ ।

इस्लामी सङ्घ मोरङ र सुनसरीले पनि यस विषयमा गम्भीर चिन्ता र चासो देखाएको छ । दहेज शिक्षित परिवारभन्दा अशिक्षित परिवारमा बढी चल्ने गरेको छ । दिनरात अल्लाहको एवादत (प्रार्थना) गर्ने मानिसहरूले अल्लाहको सन्देश नमान्नु भनेको निश्चित रूपमा त्यो मानिस मुसलमान हुन नसक्ने गफारले बताए । छोरी हुनेहरू यस प्रथाको विपक्षमा र छोरा हुनेहरू पक्षमा भई समाज विभाजित बनेकाले यो समस्यालाई हटाउन निकै समस्या हुने सुनसरी सोनापुरका अगुवा मेहदी हुसेनले बताए ।

छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिउँ भन्ने नाराका साथ मोरङका मुस्लिम समुदाय दहेजविरुद्ध अभियानमा जुटेका छन् । केही दिन पहिले मोरङको कर्सियामा सामूहिक रूपमा स्थानीय मुसलमान समुदायले अबदेखि छोराछोरीको विवाहमा दहेज नलिने र दहेज पनि नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहम्मद हुसेनले दहेजप्रथाको अन्त्यका लागि अभियान घर–घरसम्म पु¥याउनेमा जोड दिए । दहेज विरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने उनको भनाइ छ । केहीवर्ष पहिले मुस्लिम बाहुल्यता रहेको सुनसरीको सोनापुरबाट शुरु भएको दहेजविरुद्धको अभियानकै बीचमा मानिसहरूले आफ्ना छोराको विवाहमा हाकाहाकी दहेज लिन थालेपछि यो अभियान तुहिएको थियो ।

दहेज दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्र रूपमा देखिएकाले यहाँका मुस्लिम अभिभावकहरू दहेजकै लागि आफ्ना छोराहरूको विवाह कोशी पश्चिमतर्फ गर्न चाहन्छन् । सुनसरीको चाँदबेला, सोनापुर, दुहबी, भमरी, गैसार, खनार, मजराजस्ता अन्य गाउँमा दहेज विकराल रूपमा बढ्दै गएको छ भने मानिसहरूले छोरीको विवाहमा लाखौँलाख खर्च गर्न बाध्य छन् । हिजो पापको रूपमा धर्मग्रन्थमा परिभाषित दहेज अहिले कसरी पुण्य हुन गयो बुद्धिजीवी मुस्लिम चिन्तामा परेका छन् ।