विराटनगर/ लागूऔषध कारोबारीका गिरोहले तस्करीमा बालबालिकाको प्रयोग गराउने गरेको पाइएको छ ।

बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट लागूऔषध टेपले शरीरमा बाँधेर ल्याएको अवस्थामा एक बालकलाई सोमबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

धरानका १४ वर्षीय एक बालकको पेटमा टेपले बाँधेर ल्याएको अवस्थामा लागूऔषध प्रहरीले विराटनगर–१२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । ‘जोगवनीमा लागूऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागूऔषध बालकको शरीरमा टेपले बाँधेर पठाइदिएको पाइयो’ एसपी अधिकारीले भने, ‘ती बालकलाई तस्करीमा संलग्न गिरोहले गन्तव्य धरानसम्म पु¥याए १५ सय रूपैयाँ दिने सहमति गरेका रहेछन् ।’

तस्करीमा संलग्न गिरोहको घर धरान रहेको खुलेको छ । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले पक्राउ गरेको ती बालक लागूऔषध दुव्र्यसनी पनि रहेको खुलेको छ । तीन महिनादेखि लागूऔषधको लतमा लागेको उनले प्रहरीलाई बयानको क्रममा बताएका छन् । पैसामा लोभिएपछि लागूऔषध भारतबाट ल्याउने गरेको पाइएको छ । प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिन २५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको लागूऔषधको मूल्य भारतमा ३ हजार रुपैयाँ हो । यो लागूऔषध धरान पु¥याउँदा तस्करीमा संलग्न गिरोहले महँगो मूल्यमा बिक्री गर्छन् । पछिल्लो समय लागूऔषध दुव्र्यसनमा युवाहरूको सङ्ख्या पनि वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले २०७६ वैशाख २६ देखि साउन ३२ गतेसम्म १३ सय ७६ जना लागूऔषध प्रयोगकर्ताबीच गरेको सर्वेक्षणमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका युवापुस्ता लागूऔषध दुव्र्यसनमा फसेको पाइएको छ । सर्वेक्षणमा १३ सय ७६ मध्ये १६ देखि २५ वर्ष उमेर समूहका ८ सय ३३, २६ देखि ४० वर्ष उमेर समूहका ५ सय ४, ४१ देखि ५० वर्ष उमेरका २४, ५१ वर्ष भन्दामाथिका ३ जना र १८ वर्षभन्दा कम उमेरका १२ जना रहेको मोरङ प्रहरीले जनाएको छ ।

यसमध्ये ९८ प्रतिशतले भारतीय सीमावर्ती बजार जोगवनीबाटै लागूऔषध खरिद गर्ने गरेको पाइएको छ । ९५ प्रतिशतले दुव्र्यसनमा फसेका आफ्ना साथीभाइबाटै लागूऔषध प्रयोग गर्न सिकेकाले अभिभावकले युवा अवस्थाका आफ्ना छोराछोरीप्रति अलिक बढी ध्यान दिनुपर्ने एसपी अधिकारीले बताए । सर्वेक्षणका क्रममा धेरैले यसको असरका बारेमा जानेरपनि प्रयोग गरेको बताएको उनले बताए । सर्वेक्षण गरिएकामध्ये ६ सय ६६ जनाले लागूपदार्थ सेवनको असरका बारेमा राम्रो जानकारी हुँदाहुँदै पनि साथीभाइको सङ्गतका कारण फसेको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्कअनुसार लागूऔषध दुव्र्यसनी र योसँग सम्बन्धित अपराधको सङ्ख्या पछिल्लो तीन वर्षमा बढिरहेको छ । लागूऔषधसम्बन्धी मुद्दामा आर्थिक वर्ष २०७४÷७५ मा ४ वटा मुद्दा दर्ता भएको र २ सय ३८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अघिल्लो आ.व.मा यो सङ्ख्या वृद्धि भएर २ सय ७१ वटा मुद्दा दर्ता भएको र ३ सय ७७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चालू आ.व.को तीन महिनामा मात्रै १ सय ७६ वटा मुद्दा दर्ता भई २ सय ४१ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पुरुषको तुलनामा लागूऔषधको दुव्र्यसनमा महिला कमै फसेको भए पनि तीन वर्षे तथ्याङ्कलाई हेर्दा महिलाको सङ्ख्या पनि वृद्धि भइरहेको प्रहरीले जनाएको छ ।