विराटनगर/ विराटनगर– १० देवकोटा चौकदेखि उत्तरमा निर्माण भइरहेको नाला निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । निर्माणाधीन नालाको भित्री पर्खालको प्लास्टर गुणस्तरहीन तरिकाले निर्माण भएकाले उप्किएको हो ।
देवकोटा चोकदेखि उत्तर मालपोततर्फ जाने सडकमा निर्माणधीन नाला अहिले धमाधम बन्दैछ । देवकोटाचैकदेखि उत्तर नापी कार्यालयसम्म करिब ९ सय मिटर सडकको नालामध्ये निर्माण पूरा भएको करिब तीन समय मिटर नालामा गुणस्तरहीन काम भएको स्थानीयको भनाइ छ । देवकोटाचौकदेखि नर्सिङ्ग कलेजसम्म निर्माण पूरा भएको नालाको प्लास्टर उक्किएपछि इट्टा देखिएको छ ।
नालाको प्लास्टर उप्किएपछि पुनः प्लास्टर गर्नुको साटो ठेक्दारले अहिले गुणस्तरहीन काम लुकाउन माथिबाट स्ल्याब (ढकन) ले छोपिएको छ । केही दिन अघि उक्त क्षेत्रको नाला निर्माण भएको विराटनगर ७ का विनोद ढकालले जानकारी दिए । ‘नालाको भित्री भाग प्लास्टर केही दिन अगाडि मात्र गरिएको थियो,’ उनले भने, ‘प्लास्टर गरेको भोलिपल्ट उकियो । निर्माण गर्ने पेटी ठेक्दारलाई प्लास्टर उक्किएको ठाउँमा पुनः निर्माण गरिदिनु भनेका थियौं ।
अहिले गल्ती लुकाउन माथिबाट ढकन लगाएर हिँडेका छन् ।’ प्लास्टर गर्नुपर्ने भए पनि प्लास्टर नगरी स्लाब हालेर छोपिएको उनले बताए । नालाको भित्री पर्खालमा प्लास्टर नगरिएका कारण नाला कमजोर हुने र छिट्टै भत्किने उनले बताए । स्थानीयले विरोध गर्दा समेत निर्माणमा खटिएका ठेकेदारले फेरि प्लस्टर गर्न चासो नदेखाएको उनको गुनासो छ ।
आशिष निर्माण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो क्षेत्रको नाला मोरङको कटहरी गाउँपालिका – ४ का पेटी ठेकेदार मोहम्मद सहाबुद्धिनले निर्माण गरिरहेका छन् । नालाको प्लस्टर उप्किए पनि स्ल्याब हालेर छोपिएको विषयमा साहाबुद्धिनले आफूले आशिष निर्माणसँग नापीमा नाला निर्माणको जिम्मा लिएकाले एकै ठाँउमा पटक पटक प्लास्टर गर्न नसक्ने बताए । ‘एक पटक मैले निर्माण गरिसकेको छु,’ उनले भने, ‘पुनः निर्माण गर्दा मलाई घाटा हुन्छ । दोहराएर हुँदैन ।’
नाला निर्माण गर्दा आफूले पाएको जिम्मा अनुसार नै नालाको भित्री पर्खाल प्लास्टर गरेको उनले बताए । साइटमा खटिएका ओभरसियरले नै सोही दिन नालाको निकास थुन्न नदिएकाले पानीले गर्दा प्लास्टर उप्किएको उनको भनाइ छ । निर्माण भइरहेको सडकको नाला १० इन्च चौडाइ र ८० सेन्टिमिटर उचाइको बनाउनुपर्ने हो । आशिष निर्माण प्रालिसँग पेटी ठेक्दार साहाबुद्धिनले प्रतिघन मिटर ९ हजार ५ सय रुपैयाँले लिएको उनले बताए ।
यता क्षेत्रीय शहरी विकास परियोजनाका व्यवस्थापक तथा इन्जिनियर भरत न्यौपानेले प्लाष्टर गरिएकै दिन पानी छोडिएकोले प्लास्टर उप्किएको हुनाले पुनः निर्माण गर्न निर्देशन दिएको बताए । ‘देवकोटाचौकदेखि उत्तरमा नाला निर्माणमा प्लस्टर उप्किएको पछि जानकारी पाएँ,’ उनले भने, ‘उप्किएको ठाउँमा पुनर्निर्माण गर्न परामर्शदाताका इन्जिनियर हरिकृृष्ण मण्डललाई निर्देशन दिएको छु ।’