विराटनगर/ मन दिइन्, माया दिइन् । माया दिएको प्रेमीबाट विभत्स तरिकाले हत्या होला भनेर सपनामा पनि सोचेकी थिइनन् तर त्यही भयो । प्रेमीबाट उनले त्यस्तै दर्दनाक नियतको समना गर्नुप¥यो ।

गत शुक्रबार विराटनगर– १२ मङलवाको उखुबारीमा शव भेटिएको सुनसरीको दुहबी नगरपालिका–६ की ३२ वर्षीया सम्झना खत्री परियारको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई हाल मोरङको बूढीगङ्गा गापा–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

मृतक सम्झना दुई छोरीका आमा हुन् भने हत्या आरोपी साह अविवाहित हुन् । सम्झनाका श्रीमान् विशाल इलामको एक टेलर्समा काम गर्दछन् ।

सुरेन्द्रले गरेको फोन नउठाएको झोंकमा एक–आपसमा विवाद भई झगडा हुँदा रिसको आवेगमा सम्झनाको हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । साहले गत मङ्गलबार साँझ सम्झनाको हत्या गरेको भए पनि शुक्रबार बिहान मात्र शव भेटिएको थियो । हत्या आरोपमा पक्राउ परेका साहलाई आइतबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका साह क्वालिटी नुडल्स फ्याक्ट्रीका स्टोर इञ्चार्ज हुन् । साह र सम्झनाको चिनजान उक्त फ्याक्ट्रीमा काम गर्ने क्रममा भएको थियो । ‘उनीहरूको सम्बन्ध तीन वर्षदेखि रहेको खुलेको छ’ एसपी अधिकारीले भने, ‘मङ्गलबार बिहान सुरेन्द्रले सम्झनालाई पटक–पटक फोन सम्पर्क गरेका थिए । फोन नउठाएको झोंकमा झगडा हुँदा हत्या भएको खुलेको छ ।’ साहले सम्झानाको हत्या गरेको पनि प्रहरीसँग स्वीकार गरेको एसपी अधिकारीले बताए । साहले सम्झनाको हत्या गरेपछि बाँसको धारिलो चोया केसलिया खोलामा फालेका थिए । घटनामा उनी मात्र संलग्न रहेको प्रहरीले जनाएको छ ।

विभत्स तरिकाले हत्या गरिएकोले यो घटनामा मोरङ प्रहरी, १ नम्बर प्रदेश प्रहरीको विशेष ब्युरो टोलीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो । साहले सम्झनाले लगाएको सलले घाँटी बाँधेर बाँसको चोयाले हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई मोरङ अदालतमा आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

यसरी गरे हत्या
सम्झना र सुरेन्द्र्रको चिनजान विगत तीन वर्षदेखिको हो । सम्झना विवाहित भए पनि सुरेन्द्रको लामो समयदेखि हिमचिम थियो । उनीहरूबीच दैनिक फोन सम्पर्क हुने गरेको थियो । गत मङ्गलबार बिहान १० बजे सुरेन्द्रले सम्झनालाई फोन गरेका थिए । बारम्बार फोन गरे । तर, सम्पर्क हुन सकेन ।

दैनिक सम्झनासँग बोल्ने नशा थियो सुरेन्द्रलाई । फोन नलागेपछि उनी सम्झनाको दुहबीस्थित घरमा पुगेका थिए । घरमा ताल्चा झुण्डिएको थियो । छिमेकीलाई उनले सोधे । सम्झना कहाँ गइन् ? बिहान १० बजे घरबाट हिँडेको जानकारी दिए । उनले आशङ्का गरे, प्रेमिका अर्कैसँग लागिन् । उनी रिसले चुर भए । हात्तीमुढास्थित फ्याक्ट्रीमा काम गर्न पुनः गए । केहीबेर काम गरेपछि मोटरसाइकल लिएर हिँडे । सम्झनालाई खोज्न हिँडेका उनले अपरान्ह ४ बजे बाँसबारी चोकमा सम्झनालाई भेट्टाए ।

उनले सम्झनालाई मोटरसाइकलको पछाडि राखेर बाँसबारी चौकको पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ दौडाए । ‘मोटरसाइकलमा राखेर विराटनगर –१२ मङलवास्थित उखुबारीमा पु¥याए । फोन सम्पर्क नभएको विषयमा उनीहरूबीच भनाभन भयो’ एसपी अधिकारीले भने, ‘झगडा भई रिसको आवेगमा हत्या भएको देखिएको छ ।’

सुरेन्द्रले सम्झनाको हत्यामा शुरूमा सलको प्रयोग गरेका छन् । ‘सम्झनाले लगाएको सल सुरेन्द्रले घाँटीमा बेरी घिसार्दै उखुबारीमा पु¥याए’ उनले भने, ‘घटनास्थलनजिक बाँसको झ्याङ पनि छ । त्यहाँ सुरेन्द्रले बाँसको धारिलो चोयाले सम्झनाको घाँटी रेटेर हत्या गरेको खुलेको छ ।’

यसरी पक्राउ परे सुरेन्द्र
सम्झनाको हत्या गरेपछि पनि उनी नियमित काममा गएका थिए । गत मङ्गलबार साँझ हत्या गरेपछि केसलिया खोलामा हातमुख धोएर उनी डेरामा पुगेका थिए । भोलिपल्ट उनी नियमित काममा गएका थिए । सम्झना हराएपछि उनका श्रीमान् वसन्त इलामबाट बुधबार आएपछि खोजी शुरू गरेका थिए । सम्झना कतै फेला नपरेपछि बिहीबार इलाका प्रहरी कार्यालय निमुवामा वसन्तले श्रीमती हराएको जाहेरी दिए ।

वसन्तले निवेदनमा सुरेन्द्रको नाम उल्लेख गरेका थिए । उनले श्रीमतीको सुरेन्द्रसँग प्रेमसम्बन्ध रहेको जानकारी पाएका थिए । शुक्रबार बिहान शव भेटियो । शवको पहिचान भएपछि वसन्तले श्रीमती भएको सनाखत गरे । प्रहरीले सुरेन्द्रलाई बूढीगङ्गा गापाबाट शुक्रबार पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानको क्रममा सुरेन्द्रले हत्या गरेको स्वीकारेका छन् ।