विराटनगर / विराटनगर – १४ जतुवाका ५५ वर्षीय सेमानन्द यादव हत्या प्रकरणमा मुछिएका मोरङ जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द यादवलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
मोरङ अदालतको न्यायधीश तेजबहादुर खड्काको इजालशले वडाअध्यक्ष यादवलाई पुर्पक्षको लागि थुनामा राख्न शुक्रबार आदेश गरेको हो ।
अदालतको आदेशपछि यादव पुर्पक्षका लागि कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार छन् । फरार भएका मध्ये यादव शुक्रबार सुटुक्क अदालतमा हाजिर भएका थिए । सोही दिन थुनछेक बहस भएको थियो । बादी र प्रतिवादीको तर्फबाटका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले आदेश गरेको हो ।
विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।
यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष ६५ वर्षीय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षीय संजय साह भन्ने संजय कुमार साह, मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादव, वडा अध्यक्ष बलदेवका ३० वर्षिय छोरा रविन यादव, विराटनगरका ५५ वर्षीय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षीय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षीय दिपेश यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेशप्रसाद यादव विरूद पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।
हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएका थिए । उनीहरू विरूद्ध पीडित परिवारले किटानी जाहेरी दिएसँगै अभियुक्तहरूलाई खोज्न प्रहरी भारतसम्म पुगेको थियो । तर प्रहरीले उनीहरूलाई पक्रिन सकेको थिएन । यद्यपी सो हत्या प्रकरणका आरोपी विराटनगर १४ का २७ वर्षीय दिपेश यादव गत १८ भदौमा मोरङ प्रहरी कार्यालयमा कानुन व्यवसायीको साथ उपस्थिति भएका थिए । प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिन लगाएर अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले अदालतमा गत १० असोजमा अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि दिपेश कारागार चलान भएका थिए । अन्य फरार छन् । उनीहरू भारततर्फ रहेको बुझिएको छ ।
यता, विराटनगर महानगरपालिकाले फरार रहेका विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादव र १८ का सञ्जय शाहको सुविधा रोकेको छ । हत्या आरोप लागेपछि फरार भएका उनीहरूको सुविधा महानगरपालिकाले रोकेको हो । हत्या आरोप लागेका दुई वडा अध्यक्षहरूले गत असारमा वडा सदस्यलाई कार्यबाहक जिम्मेवारी दिएका छन् ।
 जहदा १ का वडा अध्यक्ष प्रदिपचन्द यादव