विराटनगर । सुनसरीको दुहबी नगरपालिका–६ कालीमन्दिरस्थित घर भएकी ३२ वर्षीया सम्झना खत्री परियारको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेपछि फालिएको अवस्थामा शव फेला परेको छ ।
विराटनगर–१२ मलङ्वास्थित उखुबारीमा हत्यापछि घाँटीमा सल बेरिएको अवस्थामा शुक्रबार शव भेटिएको हो ।

घाँटीमा अढाई इञ्च लम्बाइ र डेढ इञ्च गहिरो चोट देखिएको मोरङ प्रहरीले जनाएको छ । युवतीको घाँटीमा गहिरो चोट लागेको देखिएकोले हत्या भएको आशङ्कामा घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । ‘लास जाँचको प्रक्रिया पूरा भएको छ’ उनले भने, ‘घटना हेर्दा क्राइम सिन देखिन्छ । घाँटी काटेको अवस्था छ । रगत रोक्न सलको प्रयोग पनि गरिएको देखियो ।’ घटनास्थलमा सङ्घीय प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर पनि ल्याएर अनुसन्धान गरिएको एसपी अधिकारीले बताए । विभत्स तरिकाले हत्या गरिएकोले यो घटनामा मोरङ प्रहरी, १ नम्बर प्रदेश प्रहरीको विशेष ब्यूरो टोलीले संयुक्तरूपमा अनुसन्धान शुरू गरेको छ ।

शुक्रबार ट्याक्टर चालक बाबुनन्द कामतले उखुबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विराटनगर–६ का सञ्जय कामतको जग्गामा श्यामकुमार कामतले उखुखेती गर्दै आएका थिए । विराटनगरको रिङरोडअन्तर्गत मलङ्वास्थित सडकदेखि ९५ फिट पश्चिम उखुखेतीमा सम्झनाको शव भेटिएको थियो । प्रहरीले शव नजिकै सम्झनाले लगाएको रातो सुरूवाल र चप्पल फेला परेको छ । सुरूवालमा चुइगम र नगद पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा सोधपुछको लागि दुई जनालाई नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरूको नाम गोप्य राखेको अनुसन्धान शुरू गरेकोे छ ।

गत मङ्गलबार दिउँसो १२ बजेदेखि दुहबीस्थित घरबाट सम्झना सम्पर्कविहीन भएकी थिइन् । सम्झनाका श्रीमान् इलाममा कपडा सिलाउने काम गर्छन् । श्रीमती सम्पर्कविहीन भएपछि उनी बुधबार घर आएका थिए । बुधबार दिनभरि खोजीकार्यमा लागेका विकासले श्रीमतीलाई नभेटेपछि बिहीबार इलाका प्रहरी कार्यालय निमुवामा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिएका थिए । उजुरी दिएको भोलिपल्ट श्रीमतीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सम्झनाका २ छोरी छन् । जेठी छोरी १७ वर्षीया अर्चना परियार र कान्छी छोरी वर्षा परियार छन् । अर्चना स्थानीय सरस्वती उच्चमाविमा कक्षा १० र कान्छी वर्षा कक्षा ७ मा अध्ययनरत छिन् ।

उनीहरू दुवै जना स्कुल गएको बेलामा सम्झना घरबाट हिँडेको श्रीमान् विकासले जानकारी दिए । ‘मङ्गलबार बिहानसम्म श्रीमतीसँग फोन सम्पर्कमा कुरा भएको थियो’ विकासले भने, ‘दिउँसो १२ बजे सम्पर्क गर्न खोज्दा फोन लाग्न सकेन । त्यसपछि घर आएको हुँ ।’ सम्झनाको टाउको दुख्ने बिराम रहेको विकासले बताए । ‘मङ्गलबार बिहान तिमीलाई कस्तो छ ? भनेर मैले फोनमा कुराकानी गरेको थिएँ’ विकासले भने, ‘अहिले ठीक छ । खाना खाएर बसेको छु मात्र भनेर फोन राखेकी थिइन् । अहिले यस्तो देख्नुप¥यो ।’

देवीप्रसाद र शान्ति खत्रीकी छोरी हुन् सम्झना । २०४४ सालमा उनको जन्म भएको हो । सम्झनाको माइतीघर इलाम हो । सम्झनाको माइती भोजपुरबाट बसाइ सरेर इलाम आएको बताइएको छ । विकाससँग सम्झनाको २०५९ सालमा प्रेमविवाह भएको थियो । उनीहरूका २ छोरी रहेका छन् ।