इटहरी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डाक्टर रामसरण महतले ललिता निवास प्रकरणमा अख्तियार पक्षपाती भएको आरोप लगाएका छन् ।
तत्कालीन समयमा प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा क्याबिनेटले गरेको निर्णयमा काङ्ग्रेस नेता विजयकुमार गच्छदारलाई पक्षपाती ढङ्गले मुद्दा चलाइएको टिप्पणी गरे ।

शुक्रबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ‘भ्रष्टाचारमा अख्तियारले मुद्दा चलाउनु स्वभाविक भए पनि विजयकुमार गच्छदारको हकमा भने पक्षपाती ढङ्गले मुद्दा चलाइएको छ ।’

केन्द्रीय सदस्य महतले भने, ‘अख्तियारले मुद्दा चलाउने अनि त्यसको डिफेन्स सरकारका प्रवक्ताले गरेपछि नियत प्रष्ट हुन्छ ।’ उनले क्याबिनेटले गरेको निर्णयमा त्यसको जिम्मेवार एक जना मात्र नहुने बताए ।

‘अख्तियारको नियोजित व्यवहार छ’ उनले भने, ‘नियोजित व्यवहारले गर्दा संवैधानिक निकाय अख्तियार अहिले विवादित बन्न पुगेको छ ।’ उनले अमेरिकी सहयोग एमसिसीको बारेमा सरकार क्लियर भए पनि नेकपा पार्टीभित्र धेरैमा भ्रम रहेको बताए । उच्चशिक्षा विधेयकमा प्रधानमन्त्रीको हातमा अधिकार दिइने तर बैङ्किङ तथा वित्तीय क्षेत्रमा सरकार तथा अर्थ मन्त्रालयले हस्तक्षेप गर्नु देशको राष्ट्रिय हितमा नभएको बताए ।