बिर्तामोड / गत मंगलबार बिर्तामोड नगरपालिका–२ चारपानेमा भएको एकजनाको हत्या प्रकरणमा साथीभाई बसेर मादक पदार्थ सेवन गर्ने क्रममा भएको बादबिवादपछि हत्या गरेर परालमा जलाइएको पाइएको छ ।
प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरेपछि मादक पदार्थ सेवनको क्रममा बादबिवाद भएपछि हत्या गरिएको खुलेको हो । मंगलबार राती भारतको अररिया जिल्लाको हसन मोहल्ला घर भई चारपानेमा बसेर मजदुरी गर्दै आएका ४० बर्षिय सुभान शेखको बिभत्स हत्या भएको थियो । उनलाई ढुङगाले हानेर मारेपछि संवेदनशिल अङग काटेर परालमा जलाइएको अवस्थामा घटनाको भोलिपल्ट शव फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा बिर्तामोड नगरपालिका–२ का करन चौधरी र लक्ष्मण यादवलाई पक्राउ गरेपछि इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरुले बयानका क्रममा हत्या गरेको अभियोग स्विकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए । सामान्य मजदुरी गर्ने उनीहरुले हत्याअघि तीनजना सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

सोमबार साँझ चारपानेमा रहेको एक होटलमा बसेर मादक पदार्थ सेवन गर्दै गर्दा शेखले चौधरी र यादवलाई अस्लिल गाली गरेको हुनाले आवेशमा आएर ढुङगाले टाउकोमा हानेको बयान अभियुक्तहरुले दिएको कोइरालाले बताए । टाउकोमा ढुङगाले हानेपछि छटपटाइरहेका शेखलाई छिटो मार्नका लागि छुरा ल्याई संवेदनशिल अङग काटेको पक्राउ बयान परेका अभियुक्तहरुले दिएको प्रहरीको भनाई छ । मृतक शेखले बोक्ने दुईवटा मध्ये एउटा मोवाईल अभियुक्त चौधरीको कोठाबाट बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

घटनालाई लुकाउन परालको आगोमा हालेर जलाइएको प्रहरी अधिकारी बताउँछन् । ‘यादव र चौधरी नै घटनामा संलग्न देखिएका छन, एसपी कोइरालाले भने–‘ सँगै काम गर्दै आएका उनीहरुले झगडाका क्रममा मानिस मरणासन्न बनाएपछि हत्या गरेको देखिन्छ, त्यसपछि प्रमाण लुकाउन परालमा हालेर आगो लगाएका रहेछन् ।’ हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । प्रहरीले हत्याका क्रममा प्रयोग गरेको चक्कु, लाईटर, मोवाइल, तथा रगत लागेको कपडा बरामद गरेको जनाएको छ ।