भद्रपुर/ झापाका तीनवटा स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।
महाभारतकालीन किंवदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका, कचनकवल र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी बिदा दिएको हो । सो दिन स्थानीय तह अन्तर्गतका सम्पूर्ण सरकारी कामकाज बन्द रहने जनाइएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रत समाप्तिका दिन धार्मिक परम्पराअनुसार भद्रपुर २ र ३ नम्बर वडामा रहेको किचकबधमा मेला लाग्ने गरेको छ । यस वर्ष माघ २५ गते आइतबार मेला लाग्ने भएको छ ।
किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघ शुक्ल पूर्णिमाका दिन पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा ब्रतालु भक्तजनहरूको इच्छाएको मनोकामना पूरा हुने गरेको धार्मिक विश्वास छ ।
महाभारतकालीन किंवदन्तीअनुसार विराट राजाका सालो किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुक्का हानेर मारेको किंवदन्ती छ ।