विराटनगर/ काँचो सुन नेपालबाट भारततिर तस्करी हुने गरेको पाइएको छ । मोरङ प्रहरीबाट खटिएको सादा पोसाकको टोलीले सुन तस्करीमा संलग्न एक भारतीय नागरिकसहित ९२ दशमलव ५ सय २० ग्राम सुन पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

प्रहरीले बरामद गरेको सुन ७ तोला १५ आना हुन आउँछ । मङ्गलबारको बजार भाउअनुसार प्रहरीले बरामद गरेको सुनको मूल्य ६ लाख ६ हजार ८ सय ५ रुपैयाँ हुन्छ । दुवै हातमा सुनको ‘चुरा’ बनाएर अवैध रूपमा भारत लैजाने क्रममा भारत विहार राज्य कटिहार ग्रामपञ्चायत–२० का ६२ वर्षीय चन्दन भौमिकलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चन्दनलाई विराटनगर महानगरपालिका–१७ रानी भन्सार गेटबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिक चन्दन भरिया रहेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

बरामद गरेको सुन तस्करीका गिरोहले भनेको ठाउँमा पु¥याउँदा चन्दनले २ प्रतिशत अर्थात् १२ हजार रुपैयाँ पाउने गरेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । ‘तस्करीका गिरोहले विराटनगरदेखि भारत पु¥याउँदा निश्चित रकम दिने गिरोह र भरियाबीच आपसमा सहमति हुने गरेको रहेछ’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बरामद गरेको सुन विराटनगरको ठाकुरमाडी रोडदेखि लगेको देखिन्छ ।’

पक्राउ परेका भारतीय नागरिक चन्दनले सुन कसको हो र दिने व्यक्ति र पसलको कुन हो भन्ने पनि नखुलाएको प्रहरीले बताए । ‘अहिले हामी अनुसन्धानको क्रममा छौं’ मोरङ प्रहरीका डिएसपी राईले भने, ‘थप विषय पछि खुल्नेछ ।’ तस्करीमा संलग्न भरियाले सुरक्षा निकायलाई छल्न निक्कै चलाखी गरेको पनि देखिएको छ । चन्दनले अवैध सुन चुरा बनाएर दुवै हातमा लगाई भारततिर जाने क्रममा पक्राउ परेका थिए ।

जानकारहरूका अनुसार भारतमा भन्दा नेपालमा गुणस्तरीय सुन पाइने भएकोले तस्करी हुने गरेको बताएका छन् । भारतमा २१ क्यारेटको मात्र सुन पाइन्छ । त्यसमा ९२ प्रतिशत मात्र सुन हुन्छ । तर, नेपालमा २४ क्यारेटको सुन पाइन्छ । यसमा ९९ प्रतिशत सुन हुने गरेको सुन व्यवसायीहरूको भनाइ छ । गुणस्तरीय सुन हुने भएकोले काँचो सुन नेपालबाट भारततिर तस्करी हुने गरेको जानकारहरू बताउँछन् ।

प्रहरीले पक्राउ गरेको भारतीय नागरिक चन्दनलाई मङ्गलबार विराटनगर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाएको मोरङ प्रहरीका डिएसपी राईले जानकारी दिए । यसअघि काँचो चाँदी नेपालबाट तस्करी भई भारत जाने गरेको थियो । भारतबाट तयारी भई चाँदी पुनः अवैध रूपमा नेपाल आउने गरेको थियो ।