बिर्तामोड /  झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मंगलबार अज्ञात ब्यक्तिको हत्या गरेर आधा जलाएको अवस्थामा शव फेला परेको छ ।
चारपाने चोकदेखि ३ सय मिटर दक्षिण–पुर्व खेतमा अज्ञात ब्यक्तिको शव फेला परेको हो । जग्गाधनी ऐनकुमार राजबंशीले थ्रेसरलगाएर उठाउन बाँकी रहेको परालमा जलाएको अवस्थामा शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
राती १२ बजे परालमा आगो लागेको देखिएको स्थानीयवासीले बताएका छन् । निभाउन नसक्ने गरी आगो लागेको देखेपछि जग्गाधनी राजबंशी घर गएर सुतेका थिए । जग्गाधनी राजबंशी आएर हेर्दा आगो बलिरहेको देखेपछि पराल नजिकै रहेको ट्याक्टर अलि पर सारेर घर गएका थिए । बिहान हेर्दा मानिसको शव देखेपछि उनी समेत अरु स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
घटनाको प्रकृति हेर्दा कुटेर हत्या गरेपछि प्रमाण लुकाउन परालमा जलाएको जस्तो देखिने अवस्था रहेको झापा प्रहरीको भनाई छ । शव आधा जलेको छ भने शबदेखि एकसय मिटर पुर्व काटिएको अवस्थामा पुरुष यौन अङग जस्तो बस्तु भेटिएको छ । शव भएको स्थानदेखि पश्चिमपटी मानिसको मस्तिष्क छरपस्ट अवस्थामा भेटिनुले ढुङगा, इँटा र धारिलो हतियारको प्रयोग गरेर हत्या गरेपछि परालमा हालेर आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ । आगोमा जलाएर प्रमाण नष्ट गर्न खोजेको प्रहरीकोृ भनाई छ । भर्खरै मकै छरेको स्थानमा प्रशस्त इँटा र ढुङगा छरिएको छ । जताततै रगत लतपतिएको कारण हत्या गरेर जलाइएको घटना भएको अनुमान प्रहरीको छ ।
कुकुर ल्याएर हत्यारा खोज्दैं प्रहरी
प्रहरीले दिउँसो तीन बजेसम्म घटनास्थल शिल गरेको थियो । त्यसपछि संघीय प्रहरी इकाई कार्यालय ईकाई धरानबाट तालिमप्राप्त कुकुर ल्याएर घटनाको अनुसंधान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताए । कुकुरले घटनास्थलको केही पुर्व, उत्तर आएर संकेत गरेको भए पनि हत्यामा संलग्न अभियुक्त पहिचान गर्न भने नसकेको बताइएको छ ।
त्यही ठाउँमा डेरा बसेर मजदुरी गर्दै गरेका एकजना मुस्लिम मुलका भारतीय नागरिक पनि सोही समयदेखि हराइरहेका छन् । प्रहरीले मृतक उनै हुनसक्ने आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले हराइरहेका नागरिक नै मृतक भएको हुनसक्ने बताए । घटनास्थलमा सटरको चावी भेटिएपछि प्रहरीले उनकै मृत्यु भएको आशंका गरेको हो ।
सोही स्थानकी नेपाली युवती बिवाह गरेर उनी चारपानेमा बस्दै आएको बताइएको छ । श्रोतका अनुसार श्रीमतिसँग सम्बन्ध बिग्रिएका कारण उनी सटरमा एक्लै बस्दै आएका थिए । प्रहरीले उनका सासु, ससुरा र श्रीमतीलाई इलाका प्रहरी कार्यालय बोलाएर सोधपुछ गरेको बुझिएको छ । प्रहरीले मंगलबार दिउँसो शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि धरान पठाएको छ । आधा जलेको तथा अनुहारभरी चोट नै चोट भएका कारण शवको पहिचान हुन नसकेको हो ।