विराटनगर/ मोरङको उत्तरी क्षेत्रमा शृङ्खलाबद्ध विष्फोटका घटना हुन थालेपछि प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्तालाई खोज्न ‘सर्च’ अभियानलाई निरन्तरता दिएको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएलगत्तै प्रदेश १ प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।

पछिल्लो समय प्रहरीको कम उपस्थिति भएको स्थानमा विध्वंसकारी गतिविधि हुन थालेपछि मोरङको उत्तरी क्षेत्रमा विप्लवको गतिविधि र उनीहरूलाई पक्राउ गर्न २४ घण्टा सर्च अभियान पुनः शुरु गरेको हो । मोरङ प्रहरीका डिएसपी मानबहादुर राईको नेतृत्वमा मोरङको उत्तरी क्षेत्रको मिक्लाजुङ र केराबारीमा गाउँपालिकाको विकट पहाडी क्षेत्रमा टोली परिचालन गरेको छ ।

डिएसपी राई नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता खोज्न र उनीहरूको गतिविधि बुझ्न सर्च अभियान शुरु गरेको हो । प्रहरीले गरेको सर्च अभियानको क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका–२ लावाखोला किनारको जङ्गलमा बेवारिसे अवस्थामा ‘बारूद’ र विभिन्न सामग्री फेला पारेको छ । उक्त समान विप्लवका कार्यकर्ताले छोडेर फरार भएको प्रहरीको अनुमान छ । प्रहरीले झोला, खाद्यसामग्री, लत्ताकपडा र धागो बरामद गरेको छ ।

भूमिगत भएर विध्वंसकारी गतिविधि गर्ने विप्लवका कार्यकर्ताको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । मिक्लाजुङको मधुमल्लामा दुईवटा स्काभेटर र एनसेलको टावरमा आगजनी भएको थियो । उक्त आगजनी विप्लवका कार्यकर्ताले गरेको निष्कर्ष निकालेर घटनामा संलग्नलाई खोज्न प्रहरी लागिपरेको छ । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले विप्लव कार्यकर्ता पक्रन सर्च अभियान शुरु गरेको बताए । नेपाली सेनालेसमेत दैनिक गस्ती बढाएको छ ।

विप्लव समूहको ठूलो र सङ्गठित सैन्य समूह भने कतै नरहेको सुरक्षा निकायको भनाइ छ । प्रदेशका १४ वटै जिल्लाका इञ्चार्जहरू पक्राउ परिसकेकाले प्रदेशमा उनीहरूले शक्ति सञ्चय गर्न र सङ्गठन विस्तार गर्न सक्ने अवस्था हाल नरहेको प्रहरीको भनाइ छ ।

सङ्गठन विस्तार गर्न इञ्चार्जहरूले जिल्लाबाट चन्दा सङ्कलन गरेर उनीहरूका सेनालाई पठाउने गरेकामा जिल्ला इञ्चार्ज र सदस्यहरू नै धमाधम पक्राउ परेपछि यहाँ उनीहरूले सङ्गठन विस्तार र शक्ति सञ्चय गर्न नसकेको प्रहरीको दाबी छ । प्रदेश १ का १४ वटै जिल्लाका विप्लव समूहका इञ्चार्ज पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । पछिल्लो केही महिनायता विप्लव समूहका नेता कार्यकर्ताले आत्मसमर्पण गर्ने र पक्राउ पर्ने क्रम बढेको छ ।

प्रदेश १ बाट चालू आर्थिक वर्षको पुस १३ गतेसम्ममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । पक्राउ पर्नेमा विप्लव समूहका पोलिटब्यूरो सदस्यदेखि जिल्ला इञ्चार्ज, सचिव र सदस्यसम्म रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ गरेको विप्लव समूहका कार्यकर्तालाई चन्दा ऐन, राज्यविरुद्ध कसूर, बम, विष्फोटक पदार्थ, साङ्गठनिक अपराध, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी कसूर, हातहतियार तथा खरखजानालगायतका विभिन्न मुद्दा चलाउने गरेको छ ।