मिकाइल आलम

भण्टाबारी । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन गरेका छन् । कोशी गाउँपालीकाको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्षमा आइतबारबाट सुरु महोत्सवको मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन ।

कोशी पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष चलिरहँदा यस्ता कार्यक्रमले एक नम्बर प्रदेश सरकारको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । ‘कोशी गाउँपालीकाले गरेको प्रयास सराहनीय छ ।’– उनले भने –‘यसमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहनेछ ।
नेपाल बिश्वमा प्राकृतिक सम्पदाले धनी भएपनि कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता कैयौं पर्यटकीय स्थलहरु स्रोत साधन तथा प्रचारप्रसार अभावमा अपेक्षा गरिएअनुसार लाभ लिन नसकेको मुख्यमन्त्री राईको भनाइ थियो ।
नेपाल भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारले पर्यटकीय स्थलहरुको पहिचान गर्दै श्रोत साधन,पूर्वाधार निर्माण गर्न तथा प्रचारप्रसार गर्न लागिपरेको उनले बताए । प्रदेश सरकारले राखेको लक्ष्य पुरा गर्न कोशी गाउँपालीकाले गरेको कोशी पर्यटन महोत्सव कार्यक्रमले सहयोग पुग्ने भएकोले अन्य पर्यटकीय स्थलमा यस्ता कार्यक्रम आयोजना गरिने मुख्यमन्त्री राईले बताए । सोही कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका उद्योग,वन,पर्यटन तथा वातावरण मन्त्री जगदीश कुशियैतले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सफल पार्न सबै साथ र सहकार्य आवश्यक रहेको बताए । महोत्सव उद्घाटन कार्यक्रममा एक प्रदेश प्रमुख प्रतिपक्षी दल नेता राजीव कोइराला,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,उपमेयर जमुना गौतम पोखरेल,कोशी गाउँपालीका ीउपाध्यक्ष अनिता यादवसहितको उपस्थिति रहेकोे थियो । साथै उक्त कार्यक्रममा भारत बिहारका विभिन्न स्थानबाट पर्यटकहरु आएका थिए ।
कोशी गाउँपालीकाको कार्यालयले ५० हजारदेखि १ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सव आयोजना गरेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य पुर्‍याउन कोशी गाउँपालीकाको कार्यालयले कोशी पर्यटन महोत्सव गरिएको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

मुख्यमन्त्री हात्तीमा सरर

कोशी पर्यटन महोत्सवको उद्घाटन गर्न आइतबार आएका  एक नम्बर प्रदेशका मुख्यमन्त्री राईलाई नहर चौकदेखि महोत्सव स्थलसम्म हात्ती सफारी गराइएको छ ।
कोशी टप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्री सहितका लाई हात्ती सफारी गराएको गाउँपालीका अध्यक्ष अन्सारी बताए । मुख्यमन्त्रीलाई हात्तीको सफारी गराउनुका साथै चराको स्वर्णभूमि तथा अर्नाको राजधानी भनेर परिचित कोशी टप्पुका अन्य विशेषताहरुका बारेमा समेत जानकारी गराएर चराको मुर्ति माया स्वरूप प्रदान गरिएको थियो ।
सोही उद्घाटन कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले लेखेको सिमसार नामक पुस्तकको मुख्यमन्त्री राईले लोकार्पण गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बर्द्धन कोशी पर्यटन महोत्सव आयोजना गरिएको गाउँपालीका अध्यक्ष अन्सारीले बताए ।