पछिल्लो समय भूकम्प प्रतिरोधी घर निर्माण गर्ने क्रम बढेको छ । जसको आधार रूप मानिएको फलामे घरहरूको निर्माण तीव्र रूपमा भइरहेका छन् । छोटो समयमा, कम खर्च लाग्ने र सुरक्षित तथा आकर्षक पनि देखिने भएकाले घरको लगभग पूरै संरचनामा फलामको प्रयोग गरेर घर बनिरहेका यत्रतत्र देखिन थालेको छ । यस्ताखाले घर निर्माण, ट्रस हाल्ने, मल्टी पर्पोज हल, फुटसललगायतका विभिन्नखाले फलामका संरचनाहरू बन्ने क्रम बढ्दै गर्दा धरानमा यस्तै व्यवसाय गरेर जमेका छन् व्यवसायी झमकबहादुर बस्नेत ।

धरान–८ औद्योगिक क्षेत्रमा जेबी स्टिल एण्ड आइरन इण्डष्ट्रिज नामको उद्योग सञ्चालन गर्दै आएका बस्नेत धरानमा जनक भनेर पनि परिचित छन् । ग्रील व्यवसाय सञ्चालन गर्दै आएका उनी पछिल्लो समय ट्रस निर्माण र फलामबाट बन्ने हल तथा भूकम्प प्रतिरोधात्मक घर बनाउन कहलिएका छन् । उनको उद्योगले घरमा प्रयोग हुने सामान्य फलामका सामग्रीहरूदेखि रेलिङ, ट्रसलगायत भूकम्प प्रतिरोधी घर, कवर्डहल बनाउने काम गर्दै आएको छ । सामाजिक कार्यमा समेत सक्रिय बस्नेतमा खेलकुदप्रतिको मोह पनि उत्तिकै छ ।

भारतमा रहेको अल इण्डिया टेक्निकल इन्स्टिच्युटमा टेक्निकल अध्ययन गरेका उनले ग्रील व्यवसायमा जम्दै धरानमा उद्योग स्थापना गरेर नाम र दाम दुवै कमाएका छन् । उनले नेपालका विभिन्न ठाउँमा विभिन्न प्रकारका भवन, हल तथा संरचनाहरू बनाएका छन् । उनको कम्पनीले बिर्तामोड, दमक, विराटनगर, धरान, उदयपुर, धनगढीलगायत देशका कुना–कुनामा पुगेर कवर्ड हल निर्माण गरेका छन् ।

महेन्द्र क्याम्पसमा अध्ययन गर्दा तत्कालीन समयमा हुने गरेको विद्यार्थी आन्दोलन र सत्ताले गरेको दमनमा पर्ने पिरले नेपालै छाडेर भारतको सिक्किम हानिए । उनले त्यहाँबाट सिकेको सीपबाट आज एकसय २५ जनालाई रोजगारी दिन सफल भएका छन् । बस्नेतको उक्त उद्योगले वार्षिक ३–४ करोडभन्दा बढीको कारोबार गर्ने गरेको उनी बताउँछन् ।

पञ्चायती आन्दोलनले मोडेको बाटो

आजको यो सफलताको पहिलो पाइलाका रूपमा बस्नेत पञ्चायतकालको विद्यार्थी जीवनमा विद्यार्थी आन्दोलनका कारण घटेको दुःखद् दुर्घटनामा विद्यार्र्थी फडिन्द्र तिम्सिनाको मृत्यु भएसँगै प्रहरीको बढ्दो दमनका कारण पढाइ छोडेर सिक्किम पलायन हुनुपरेको क्षण सम्झन्छन् । साथीको मृत्युले विक्षिप्त बनिरहेका बेला प्रहरीद्वारा विद्यार्र्थीमाथिको दमनले पढ्ने वातावरण हराउँदै गएको अनुभूति भएपछि सिक्किम हानिएका उनी भन्छन्, ‘क्याम्पसमा पढ्ने वातावरण गुम्दै गयो, प्रहरीले पनि पक्रने, थुन्ने गर्न थाल्यो, त्यसले गर्दा म सिक्किम गएँ । त्यहाँ एउटा झेलुङ्गे पुल निर्माण भइरहेको रहेछ, त्यहाँ लगभग २ वर्ष काम गरेँ ।’

सिक्किमको विकट कावा खोलामा बन्दै गरेको झोलुङ्गे पुलले उनलाई आजको उद्योगी बन्न पहिलो पाइलाको रूपमा काम गरेको बताउने बस्नेत भन्छन्, ‘त्यहाँ काम गर्नुभन्दा अगाडि मेरो मेकानिकल क्षेत्रमा कुनै लगाव थिएन तर त्यहाँ काम गरेपछि यो कामप्रति मोह जाग्यो ।’ मेकानिकल र फेब्रिकेसन क्षेत्रमा मोह बढ्दै गएपछि उनी पुल निर्माण गरिरहेको कम्पनीमै सुपरभाइजर भएर काम गरिरहेका बेला दिल्ली पुगे ।

दिल्लीमा उनले कामका साथै मेकानिकलसम्बन्धी अध्ययन गर्ने अवसर पाएको बस्नेत बताउँछन् । उनी भन्छन्, ‘अल इण्डिया टेक्निकल इन्स्टिच्युटमा मैले टेक्निकलसम्बन्धी अध्ययन गरेँ ।’ दिल्लीमै रहेर काम गर्दा उक्त संस्थामा मेकानिकल र फेब्रिकेसनमा डिप्लोमासम्मको अध्ययन गरेको बस्नेत बताउँछन् ।

करिब १३ वर्ष भारतका विभिन्न शहरहरूमा मेकानिकल र फेब्रिकेसनको काममा अनुभव बटुलेर भारतीय कम्पनीमार्फत् नेपालमा पहिलोपटक विराटनगर आएर काम गर्ने मौका पाए । उनी यतिबेला नेपालमा नै रहेर घर निर्माणको लागि अत्याधुनिक पद्दतिको ग्रील, स्टील र भूकम्प प्रतिरोधी घर निर्माणमा अब्बल छन् ।

नेपालमा सुरूवात

करिब १३ वर्षसम्मको भारत बसाइपछि नेपाल फर्किएका उनी त्यस समय नेपालमा टेक्निकल क्षेत्रमा कमै मात्र मानिसहरू भएका कारण र लामो अनुभवका साथै हातमा भारतीय शैक्षिक संस्थाको प्रमाण–पत्र भएकाले सरकारी जागिर पाउने भए पनि जागिरमा नलागेको बताउने बस्नेत भन्छन्, ‘शुरुमा नेपाल फर्किएपछि धरै सरकारी कार्यालयमा आवेदन दिएँ ।
मेकानिकल क्षेत्रमा त्यतिबेला नेपालमा कमै मात्र मान्छे थिए, मैले आवेदन दिँदा सजिलै नाम पनि निस्कियोे तर, त्यतिबेला सरकारी जागिर खाँदा दिनको हजार पनि बस्दैनथ्यो । आफैले काम गर्दा त्योभन्दा बढी कमाइ हुन्थ्यो, त्यसैले सरकारी जागिरमा आँखा लागेन ।’

नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, गोरखकाली टायरजस्ता धेरै सरकारी कार्यालयको जागिर लत्याएर उनले निजी क्षेत्रमा नै काम गरे । अनुभवी र दक्ष जनशक्ति बाहिरबाटै ल्याउनु पर्ने भएकाले त्यतिबेला निजी क्षेत्रमा राम्रो सुविधा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सरकारी जागिर खाँदा महिनामा तलब मात्र आउने त्यो पनि बाहिर काम गरेको भन्दा थोरै हुन्थ्यो तर निजी क्षेत्रमा काम गर्दा खाने, बस्ने, यातायातजस्ता सुविधा पनि पाइने भएकाले कहिले तलब बढ्ला, कति आउला भन्दै बस्नुभन्दा निजी क्षेत्र नै ठीक लाग्यो ।’

नेपाल केबलमा लगभग ४ वर्ष काम गरिसकेपछि आफ्नै लगानीमा केही गर्ने सोच गरेर अहिले १ सय २५ जनालाई रोजगारी दिएका छन् । उनको कम्पनीले अहिले पनि धनगढीमा कवर्ड हल निर्माण गरिरहेको छ भने कृषि बजार धरानमा पनि भर्खरै हल निर्माण गरिसकेको छ । अहिले बिर्तामोड र विराटनगरमा उनको साइट छ । आफ्नो कम्पनीले काम राम्रो गरेको कारण उनलाई अहिले चारैतर्फबाट कामको अफर आउने गरेको छ । लागत कम, काम गुणस्तरीय र छिटो निर्माण सम्पन्न गर्ने खुबी भएकै कारण उनलाई अहिले सबैले रुचाएका छन् ।

धरानमा उनले गरेका काम

उनले धरानमा मात्रै लगभग दर्जन सार्वजनिक महŒवका भवन तथा हल निर्माण गरेका छन् । उनले धरानको कृषि बजार, खसी बजारमा हल, सुख्खा सामग्री राख्ने गोदामदेखि गेट तथा ट्रस लगाएका हुन् ।
खानेपानीको स्याण्ड फिल्टर प्लाण्टको छाना लगाउने कामदेखि लिएर पूर्व क्षेत्रीय प्रहरी स्कुलको ब्याडमिण्टन हल, अमर सेवा समाजको ब्याडमिण्टन हल, धरान रङ्गशालामा भएको बहुउद्देश्यीय कवर्डहलजस्ता धेरै कामहरू गरिसकेका छन् । उनको काम प्रभावकारी एवम् गुणस्तरीय हुने धरानका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । त्यस्तै अमर सेवा समाजले बनाएको कवर्ड हल निर्माण समितिका उपाध्यक्ष भूवन राईले समेत झमक बस्नेतले गरेको कामको प्रशंसा गरे । उनले किफायती एवम् गुणस्तरीय काम गरिदिएको बताए । कवर्डहलमा ट्रस लगाउने काम जोखिमपूर्ण भए तापनि कुशलतापूर्वक निर्माण गरेको बताए । त्यस्तै निर्माणमा प्रयोग गरिएको सामान गुणस्तरीय भएको बताउँदै उनले कामको प्रशंसा गरे ।

भूकम्प प्रतिरोधात्मक घर

पछिल्लो समय मानिसहरूमा फलामे घर निर्माणमा रुचि बढेको देखिन्छ । लगानीका हिसाबले थोरै लागतमा पनि आकर्षक देखिने अनि छिटो बन्ने र मजबुत हुने भएकाले यतिबेला मानिसमा यसप्रति रुचि बढ्दै गएको देखिन्छ ।

२०७२ सालको भूकम्पपछि नेपालीहरूमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्छ भन्ने चेतना जागेसँंगै यस्ता घरहरूको निर्माण बढ्दै गएको बस्नेत बताउँछन् । धरानमा मात्र नभएर देशै भरि मेकानिकल फेब्रिकेशनको काम गरिरहेका उनले पनि धरै यस्ता घरहरू निर्माण गरिरहेका छन् । तर उनलाई पछिल्लो समय यत्र–तत्र बन्दै गरेका यस्ता घरहरूको निर्माण प्रक्रिया भने मन परेको छैन ।

उनी भन्छन्, ‘अहिले भूकम्प प्रतिरोधात्मक घरहरू त बन्दै छन् तर बनिरहेका घरहरू हेर्दा अझ बढी जोखिम पो होला जस्तो देखिन्छ ।’
मापदण्ड र निर्माण प्रक्रियाको ख्यालै नगरी बन्दै गरेका यस्ताखाले घरहरू सुरक्षित हुनुभन्दा पनि अझ बढी जोखिमपूर्ण हुने उनको भनाइ छ । उनी भन्छन्, ‘घर निर्माण कार्य शुरु गरेको छ, नक्सा पास भएको वा नगरपालिकाको मापदण्ड पूरा गरेको देखिँदैन । २–३ तलामाथि पनि इँटा लगाएर पर्खाल लगाएका छन् । त्यो त झनै जोखिमयुक्त हो । भूकम्प जाँदा सबैभन्दा पहिला तिनै पर्खालहरू भत्कन थाल्छन् ।’
उनी भन्छन्, ‘नेपालमा यसरी बनेका घरहरू ३० प्रतिशतको हाराहारीमा मात्र भूकम्प प्रतिरोधी रहेका छन् ।’

समान्य फलामका सामानदेखि कभर्ड हलसम्म
कामको अनुभव र दक्षतासहित सम्बन्धित कामको अध्ययनसमेत गरेका बस्नेतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन बनाउँदा उनले त्यहाँ भएका ग्रील र फलामका सबै कामको जिम्मा पाए । शुरुमा उनलाई त्यहाँ रहेको भारतीय कम्पनीले विश्वास गरेन । तर उनले भारतमा काम गरेको अनुभवको प्रमाण–पत्र पेश गरेपछि बीपीमा भएका फलामको काम सबै उनले गरेका हुन् ।
हाल उनको उद्योगमा फलामका ग्रील गेट, सटर, ट्रस, आल्मोनियमका कामहरूका साथै हल, बहुउद्देश्यीय भवन, भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण हुने गरेको छ । बीपीमा काम गर्दागर्दैै धरानमा वर्कसप स्थापना गरेका बस्नेतको उद्योगमार्फत् कवर्डहल मात्रै लगभग २५ वटा बनिसकेको उनी बताउँछन् । धरानमै रहेर मेकानिकल र फेब्रिकेसन क्षेत्रमा दिन दुई गुना रात चौगुना सफलता कमाएका बस्नेतको उद्योगले यतिबेला साना व्यक्तिको घरमा प्रयोग हुने फलाम तथा आल्मोनियमका सामग्री बनाउने मात्र होइन, सरकारी, संस्थागत ठूला योजनाहरूको पनि काम गरिरहेको छ ।

मुलुकभर निर्माण
बस्नेतको कम्पनी सुनसरीमा मात्रै सीमित छैन, देशका विभिन्न भागमा उनको कम्पनीले काम गरिसकेको छ । झापादेखि महाकालीसम्मको कामसमेत गरिसकेको उनको कम्पनी देशभर नै परिचित बन्दै गइरहेको छ । झापा धुलाबारीको निर्माणाधीन मेची डिलक्स होटल मात्रै होइन । पश्चिम धनगढीको गेटा मेडिकल कलेजको ट्रसको काम पनि उनैको कम्पनीले गरिरहेको छ । यसअघि उदयपुर, झापा र धरानको बहुउद्देश्यीय कभर्ड हलसमेत निर्माण गरेका थिए । काठमाडौं छाउनीको आर्मीको म्युजियम निर्माण, छाउनी हस्पिटल, भकुण्डेबेँसीको आर्मी ब्यारेक निर्माण उनैको कम्पनीले गरेको हो ।
मन्दिरको पनि काम
एउटा निश्चित क्षेत्र मात्रै नभई विविध क्षेत्रमा उनको कम्पनीले काम अगाडि बढाइरहेको छ । त्यस अन्तर्गत मन्दिरको छाना लगाउने काम पनि गर्दै आइरहेको छ । यसको प्रमाणको रूपमा विजयपुरस्थित दन्तकाली मन्दिरको पित्तलको छाना पनि उनैको कम्पनीले लगाएको हो । गुम्बजशैली होस् या प्यागोडाशैली उनको कम्पनीले काम गर्दै आइरहेको छ । हाल धरान–१६ को वैष्णवदेवी माताको मन्दिरको काम पनि गरिरहेको छ । उनका अनुसार त्यहाँ पनि पित्तलको छाना लगाउने काम कम्पनीले गरिरहेको छ । उनको दाबीअनुसार उपत्यका बाहिर मन्दिरहरूमा पित्तलको छाना लगाउने काम उनको कम्पनीले मात्रै गर्दै आइरहेको छ । मन्दिरहरूमा पछिल्लो समय पित्तलको छाना लगाउने काम तीव्र भइरहेको छ । यसअनुपातमा कम्पनीले सबै क्षेत्रको काम गर्दै आइरहेको उनको भनाइ छ ।
सामाजिक अभियन्ता पनि
धेरैले बस्नेतलाई व्यवसायका कारण मात्रै चिन्दैनन् । समाजमा उनको योगदान पनि छुट्टै छ । जसका कारण पनि उनी चर्चामा रहन्छन् । उनी आफ्नो कमाइको केही अंश सामाजिक कार्यमा खर्चिदै आइरहेका छन् । केही समयअघि उनले धरानको सङ्घीय प्रहरी एकाइ कार्यालयको विश्रामालय निर्माण गरिदिए । त्यतिमात्रै होइन, एक नम्बर प्रदेश प्रहरीको भान्साघर, अमर सेवा समाजको कभर्ड हलमा पनि सहयोग गरे । सशस्त्र प्रहरी बल धरानको ब्यारेकमा जवानको आवास गृहमा पनि सहयोग गरेका छन् । यसका अलावा निम्न आय भएका विद्यार्थीहरूका लागि पाठ्य सामग्री होस् वा अन्य कुराहरू नै उनी आफूलाई परिचित नगराई नै पनि सहयोग सामग्री दिने गरेका छन् । उनी आफू समाजसेवीको रूपमा बाहिर आउनभन्दा पनि काम गरेर देखाउन मन पर्ने बताउँछन् ।

पुस्तान्तरण गर्दै व्यवसाय
बस्नेत आफ्नो कम्पनी आफै सञ्चालन गर्नेभन्दा पनि अब पुस्तान्तरण गर्ने चरणमा छन् । त्यसमा उनलाई जेठो छोरा सन्दीप बस्नेतले सहयोग पनि गरिरहेका छन् । उनको कम्पनीको आधा हिस्सा अहिले छोराले नै सम्हाल्दै आइरहेका छन् । अबको केही वर्षभित्र शतप्रतिशत हिस्सा छोराहरूलाई नै सुम्पिने तयारीमा छन् । उनी भने अवकाश जीवन व्यतित गर्दै समाजसेवामा आफूलाई होम्ने तयारीमा छन् । जेठो छोरोले कम्पनीको व्यवसायलाई धानिरहेका बेला कान्छा छोरा भने इटहरीमा इलेक्ट्रिक पसल सञ्चालन गरेर बसिरहेका छन् । तर, कान्छा छोरालाई पनि कम्पनीकै काममा अगाडि बढाउने योजना उनको छ । पुस्तान्तरण गर्ने योजनामा रहेका उनी भन्छन्, ‘आफूले विस्तार गरेको व्यवसायलाई पुस्तान्तरण गर्ने योजना छ । त्यही योजनाअनुसार काम गरिरहेको छु ।’

ट्रसदेखि भूकम्पप्रतिरोधी घरसम्म
कुनै समय ग्रिल उद्योग मात्रै रहेको कम्पनीले अहिले ट्रस निर्माण गर्दै आइरहेको छ । ग्रिलका काम त यथावत् नै छन् । स्टिल, आल्मुनियम र फलामका कामहरू पनि गरिरहेको छ । त्योसँगै घर निर्माणमा उनी भूकम्पप्रतिरोधी घर निर्माणसम्म काम गर्दै आइरहेका छन् । धरानमा २०६४ सालदेखि भूकम्पप्रतिरोधी घर निर्माणलाई चुस्तताका साथ लागू गर्न थालेपछि उनको कम्पनीले पनि त्यसलाई अङ्गीकार गर्दै अगाडि बढेको छ । उनको कम्पनीद्वारा निर्मित गोर्खा स्मृति पार्कको भूकम्पप्रतिरोधी घरको प्रशंसाले उनको कम्पनीको उचाइ थप बढाइदियो । जसका कारण अहिले उनी फलामकै भूकम्पप्रतिरोधी घर निर्माणमा तल्लीन छन् । जताततैबाट भूकम्पप्रतिरोधी घर निर्माण गरिदिनका लागि माग बढेको छ ।

सबैबाट रुचाइएका बस्नेत
ग्रिलसम्बन्धीको काम होस् या स्टिलसम्बन्धी अहिले सबैभन्दा पहिले उनकै खोजी हुने गरेको छ । बस्नेतको सीप र मेहनतले उनलाई पनि परिचित बनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विभिन्न कामहरू उनले नै गरेका हुन् । त्यसको डिजाइनदेखि लिएर घर निर्माणसम्मको काम गरेको उनी बताउँछन् । उनले बीपी प्रतिष्ठानको आकस्मिक कक्ष, शैक्षिक भवन मात्रै हैन । अमर सेवा समाजको कभर्ड हल, रङ्गशालाको कभर्ड हल, दिल्ली पब्लिक स्कुल, विष्णु मेमोरियल स्कुको कभर्ड हल, पूर्व क्षेत्रीय प्रहरी स्कुलको कभर्ड हलमा उनको मेहनत र सीप परेको छ । उनले उदयपरको बेल्टारस्थित समावेशी कभर्ड हल, धनकुटा छिन्ताङमा निर्मित कभर्ड हल, तेह्रथुमको हाइड्रो पावरको कामसमेत उनले गरिसकेका छन् । उनको कला विभिन्न होटलमा पनि रहेका छन् । जस्तैः झापाको होटल, विराटनगरको रत्ना होटलदेखि पश्चिम जुम्लासम्मको होटलमा उनको कम्पनीले कौशलता प्रदर्शन गरिसकेको छ ।

कामप्रति गर्व
स्नातकसम्म मेकानिकल विषय अध्ययन गरेका बस्नेत आफ्नो कामप्रति नतमस्तक छन् । ग्रिल उद्योगले उनलाई यो स्थानसम्म पु¥याएको छ । देशभरि परिचय बनाएका छन् । तर, काम गरेअनुसारको प्रतिफल नपाउँदा भने उनी दिक्क छन् । सेवाग्राहीको इच्छाअनुसारको डिजाइनमा काम गरे पनि समयमा पैसा नपाउँदा व्यवसाय सङ्कटमा पर्ने सम्भावना बढेको छ । काम सम्पन्न भएको वर्षौं बितिसक्दा पनि लगानी र मेहनतको रकम नपाउँदा व्यवसाय चौपट हुने सम्भावना बढेको उनी बताउँछन् । कतिपय स्थानमा काम गरे पनि रकम नआउँदा लाखौं रुपैयाँ त्यसै छाडेको तीतो अनुभव उनीसँग छ । नगदी तिरेर कच्चा पदार्थ ल्याउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर काम गरिसके पनि रकम नपाउने समस्याले उनी आजित छन् । कम्पनी सहजरूपमा सञ्चालन गर्नका लागि पनि सबैले बुझिदिनुपर्ने उनको आग्रह छ ।